सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौँ । निजामती कर्मचारी अस्पताल काठमाडौँका कर्मचारीहरूले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन्। अस्पतालमा कार्यरत कर्मचारीहरूको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबार देखि आन्दोलन शुरु गरेको हो।

कर्मचारीहरूले विभिन्न माग लेखिएका ब्यानरहरूसहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन्। यस्तै माग पूरा नहुँदासम्म हातमा कालोपट्टी लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए।

उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए।

यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग समेत कर्मचारीहरुले राखेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार