जिल्लाकालाई डस्न थालेपछि कस्न थाले देउवाकालाई

जिल्लाकालाई डस्न थालेपछि कस्न थाले देउवाकालाई

केन्द्रको महाधिबेशन नजिकिदै गर्दा जिल्लाको अधिवेशनको चटारो छ, रुकुम पश्चिमको काँग्रेसलाई । नेकपाका कार्यकर्ता तान्ने, क्रियाशिल सदस्य बढाउने काम भईरहेको बेला देउवापक्षका नेतालाई कस्ने भन्दै कोईराला खेमाका जिल्ला नेताहरुले गुटबन्दि सुरु गरेका छन् ।

पद पाउँने लोभमा काठमाडौमा हुँदा देउवा खेमामा मिसिएका भनिएका जिल्लाका पार्टि सभापति, पूर्व सभापति लगायतका नेता फेरि कोईराला खेमामै उभिने भन्दै भदौ ५ गते गोप्य भेला गरेका छन् । पार्टि सभापति प्रेमप्रकाश ओलीको निवासमा भएको बैठकमा जिल्लाका केहि प्रमुख नेताहरुले देउवा खेमामा ढल्कदा हेपिएको, डस्न खोजको, चेपिएको, मिसिन गएको भन्दै बेवास्ता गरेको अनुभुति गरेर पुरानै लाईनमा फर्कने निर्णय गरेको श्रोतले बताएको छ ।

काठमाडौमा हुँदा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कारणले देउवा क्याप्पमा छिरेका थिए जिल्ला पार्टि सभापति प्रेमप्रकाश ओली, पूर्वसभापति मानबहादुर नेपाली लगायतका नेता । उनीहरु बिचमा एउटा गोप्य सहमति गरिएको थियो, राष्ट्रिय दलित आयोगको अध्यक्ष समेत भैसकेका पूर्व सभापति मानबहादुर नेपालीलाई दलित कोटाबाट केन्द्रिय सदस्यमा मनोनित गर्ने, सभापति प्रेमप्रकाश ओलीलाई प्रदेश समितिको मुख्य जिम्मेवारीमा दिने र कृष्णबहादुर रोकायलाई जिल्ला पार्टि सभापति बनाउँने । रोकाय पार्टि सभापति देउवाका विश्वास पात्र मानिन्छन् । उनले गत चुनावमा जिल्ला पार्टि सभापतिको लागि ओलीसँग चुनाव लडेका थिए । उनी शालिन र अनुशासित नेताको रुपमा चिनिन्छन् ।

तर, केन्द्रले विस्तार गरेको विभागमा कोईराला लाईनबाट गएकाहरुले टिपाएका एक जनाको पनि नाम परेन । पार्टिको प्रशिक्षण विभागको सदस्य समेत रहेका रोकायले गरेका सिफारिस अनुसार विभागमा जिल्लाका केहि नेताहरुले अवसर पाएको बुझाई उनीहरुको रहेको छ । जिल्ला नेताहरु नवराज गौतम, जनक बाँठा, सुरतजंग मल्ल, मोहबर खड्का, गोरख चन्द लगायतको नाम विभागको सदस्यहरुमा मनोनित गर्नका लागि भन्दै कोईराला खेमाका नेताहरुले सिफारिस गरेका थिए । तर, देउवा पक्षका मानिएका व्यक्तिहरु मात्रै विभागमा मनोनित भएपछि कोईराला पक्षका नेताहरु असन्तुष्ट भएका छन् । यातायात व्यवसायी समन्वय विभागमा उपेन्द्रबहादुर मल्ल, बित्तिय तथा सहकारी समन्वय विभागमा हर्कसिं खत्री, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा लालबहादुर महत, खेलकुद विभागमा शिव आचार्य मनोनित भएका थिए ।

जसको परिणाम स्वरुप उनीहरुले जिल्लामा एक बैठक गरेर देउवा पक्षलाई पेलेर भएपनि चुनावमा पहिले झै पछार्ने योजना बनाएका छन् । उक्त बैठकमा सहभागी एक युवा नेताले जनआस्थालाई बताए अनुसार, अवको चुनावमा पार्टि सभापति कसलाई बनाउँने, क्रियाशिल सदस्यता को कसलाई दिने, देउवा पक्षका जिल्ला र स्थानीय नेताहरुलाई कसरी आफ्नो पक्षमा ल्याउने लगायतका कसरत उनीहरुले गरेका छन् ।

श्रोतका अनुसार, नेता पूर्णबहादुर खड्काले मार्फत देउवा खेमामा छिरेका उनीहरुलाई अहिले केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री हृदयराम थानीले कोईराला पक्षमै टिकाउँन मेहेनत गरेका छन् । उनीहरु मध्य हालका पार्टि सभापति प्रेमप्रकाश ओलीलाई कर्णाली प्रदेश समितिको महामन्त्रीमा लैजाने आश्वासन दिलाईएको छ । मानबहादुर नेपालीलाई केन्द्रिय सदस्यमा उठाउने भएपछि जिल्लाको पार्टि सभापतिको लागि सम्भावित नेताहरुको बारेमा उक्त बैठकमा छलफल भएको छ । जिल्लामा राम्रो सम्बन्ध र छवि मानिएका युवा नेता खड्कबहादुर डाँगी, तिलक भण्डारी, सुरतजंग मल्ल लगायतको बारेमा सम्भावित सभापतिको लागि कुरा चलेको बताईएको छ । नेपाल बिद्यार्थी संघको निवर्तमान उपाध्यक्ष रहेका र स्थानीय चुनावमा प्रदेश संसदको उमेद्वार समेत भएका डाँगी नयाँ र पुराना काँग्रेस काँग्रेस कार्यकताले रुचाईएका नेताको रुपमा चिनिन्छन् । नेता तिलक भण्डारीलाई प्रदेश समितिको सह महामन्त्रीको रुपमा उभ्याउने कोशिस समेत गर्ने छलफल उक्त बैठकमा भएको थियो ।

सिटिईभिटिका पूर्व अध्यक्ष समेत रहेका युवा नेता शुसिल खड्काले पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको जरुरत भएको बताए । नेकपाको पकड भत्काउँन पुराना नेताहरुबाट सम्भव नभएकोले युवा शक्तिको आवश्यकता बैठकले गरेको उनले जनाए । कोईराला समर्थक कार्यकर्ताहरुको बाहुल्यता रहेको रुकुम पश्चिममा जसलाई पार्टि सभापति, पूर्वसभापति समेतको समर्थन रहन्छ, उसैको जित करिब पक्का हुने बुझाई खड्काको रहेको छ । बैठकमा अहिलेका पार्टि सभापतिकै पुनः निरन्तरताको बिषयमा समेत कुरा उठेको बताईएको छ । जनआस्था बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार