रुकुम पश्चिममा थप ४१ नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

रुकुम पश्चिममा थप ४१ नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

मुसिकोट । पछिल्लो सयम रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्न लहर चलेको छ । काँग्रेस १४ औं महाधिबेशनलाई लक्षित गरेर अहिले गाउँ गाउँमा क्रियाशिल सदस्यता बितरण, नविकरण, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमहरु गर्दै आएको छ । आइतबार ४१ जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाका तीन वटा स्थानीय तहबाट नेकपा परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

जिल्लाको चौरजहारी नगरपालिकामा २७ जना, बाँफिकोट गाउँपालिकामा ८ जना र आठविसकोट नगरपालिकामा ६ जना नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । चौरजहारी नगरपालिका–८ मा भएका कार्यक्रममा नेकपाका स्थानीय नेता ससिराम केसी, धर्मराज खत्री, समिक्षा केसी, पूर्णबहादुर खत्रीलगायत २७ जनालाई जिल्ला सभापति ओलीले कांग्रेसमा प्रवेश गराएका थिए ।

यस्तै बाँफिकोट गाउँपालिका–४ मा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव हर्कसिंह खत्री, महाधिवेशन प्रतिनिनिध जनकुमार बाँठाले नेकपाका ८ जना कार्यकर्तालाई कांग्रेसमा भित्र्याएका थिए । उता आठविसकोट नगरपालिका–४ गोतमकोटमा भएको कार्यक्रममा नेकपाका स्थानीय नेता रामबहादुर परियारको नेतृत्वमा ६ जना युवाहरुलाई जिल्ला उपसभापति धिरेन्द्र बटालाले कांग्रेसमा प्रवेश गराएको नगर सभापति कमल शाहले जानकारी दिए ।

तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूहरु नेकपा छाडेर लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ छ । सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टचारमा लिप्त भएर पैसा कमाउन लागेकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने नवप्रवेशीहरुको आरोप छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार