कारागारभित्रै आइसोलेसन

कारागारभित्रै आइसोलेसन

फाईल फोटो

झापा । कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए ।

महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले बताए । हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन् । कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेसन निर्माण गरिएको गौतमले बताउनुभयो ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको सङ्क्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए ।

जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेसनमा अलग्गै शौचालयको व्यवस्था समेत मिलाइएको छ । सामग्री अभावका कारण बिरामी बस्नका लागि खाटको सुविधा भने छैन ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कारागारको आइसोलेसनका लागि १५ थान पीपीई सेट, पाँच लिटर सेनिटाइजर, १० थान बाल्टिन, एक थान हाते माइक, दुई कार्टुन साबुन र ५०० थान मास्क उपलब्ध गराएको शाखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।

यसैबीच, नेपाल बार एसोसिएसन झापा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै कैदीबन्दीलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार