दशैँ सुरक्षा योजना : प्रहरी कर्मचारी घर जान नपाउने, ड्रोनको समेत प्रयोग गर्ने तयारी

दशैँ सुरक्षा योजना : प्रहरी कर्मचारी घर जान नपाउने, ड्रोनको समेत प्रयोग गर्ने तयारी

काठमाण्डाै ।  प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाउन उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिनुभयो ।

यसपालि ७७ वटै जिल्लामा कोरोनाबाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको प्रहरीले जनाएको छ । सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने, मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाण्डाै उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डाैले भने सुरक्षा योजना पेश गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

उहाँले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ ।

आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ । आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार