तिहारमा भारतबाट फूल नल्याइने

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं।  बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ। मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ। गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो। यस वर्षको तिहारमा भने १५ लाख मालाको मात्र माग हुने अनुमान गरिएको छ।

तिहारमा सयपत्री, मखमली र गोदावरीको माग बढी हुने भएपनि सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो। गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो।

फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ। व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए। ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ,’ उनले भने।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ।

अघिल्ला वर्षको तुलनामा कारोबारमा कमी 
यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ। कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो। अघिल्ला वर्षहरूमा एक वर्षभरमा करिब दुई अर्ब ४२ करोडको फूलको कारोबार हुने गरेको थियो। चालू आवमा रु तीन अर्ब फूलको कारोबार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ।

तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ। यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। यहाँ लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ। काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन्।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार