शुक्रबार आठबीसकोटमा दिनभर तनावग्रस्त, झडप रोक्न प्रशासनले लगायो निषेधाज्ञा

शुक्रबार आठबीसकोटमा दिनभर तनावग्रस्त, झडप रोक्न प्रशासनले लगायो निषेधाज्ञा

मुसिकोट । शुक्रबार (आज) रुकुम पश्चिमको आठबीसकोट नगरपालिका दिनभर तनावग्रस्त भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पक्षबीच झडपको स्थिति सिर्जना भएपछि झडप रोक्न प्रशासनले केही वडामा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्मका लागि निषेधाज्ञा लगाएको जनाएको छ । शुक्रबार प्रशासन ले एक सूचना जारी गरेर आठबीसकोट नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र निषेधाज्ञा गरिएको जनाएको छ ।

कोरोना भाइरसको सङक्रमण बढ्दै गएको र त्यही क्षेत्रमा केही समूहबाट भेला हुने तथा अवाञ्छित गतिविधि गरी शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने, अशान्ति सिर्जना गर्न खोजेकाले निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले द्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन्, यही कारण दिनभर राडी बजारमा तनाव भएको थियो । दुवै पक्षका युवाहरु बन्चरो, खुकुरी, हँसिया, तरबारलगायतका घरेलु हतियारसहित क्याम्प खडा गरेर बसेको स्थानीयले बताएका छन् ।

त्यस्तै दुवै पक्षले झडपको कारण एक–अर्का भएको आरोप लगाउँदै आएका छन् । दुवै पक्षको राजनीतिक प्रतिशोधका कारण स्थानीयवासीहरुको शान्तिपूर्वक बस्न नपाएको गुनासो छ । झडपको स्थिति आएपछि प्रहरीले जिल्लाबाट थप प्रहरी पठाएको जनाएको छ । आठबीसकोट क्षेत्रमा बेलाबेला नेकपा र कांग्रेस निकट युवाहरु बीच झडप हुँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार