पुल बनाएका मजदुरले डेढ वर्षसम्म पनि ज्याला पाएनन्

पुल बनाएका मजदुरले डेढ वर्षसम्म पनि ज्याला पाएनन्

मुसिकोट । झोलुङ्गे पुल निर्माणमा काम गरेका मजदुरले काम सम्पन्न भएपनि ज्याला पाएका छैनन । रुकुम पूर्वको एक झोलुङ्गे पुल निर्माणमा काम गरेका एक सय मजदुरले निर्माण सम्पन्न भएको डेढ वर्षसम्म पनि ज्याला पाएका छैनन् । जिल्लाको सिस्ने गाउँपालिका-२ र भूमे गाउँपालिका-५ जोड्ने वाबाङ्ग छिपतरा झोलुङ्गे पुल निर्माणमा काम गरेका मजुदरले अहिलेसम्म पनि ज्याला नपाएका हुन् ।

२०७६ सालको असारमा निर्माण सम्पन्न भएकोे पुलमा काम गरेका सिस्ने गाउँपालिका ६ का डिल्लीबहादुर केसीले ठेकेदारले अहिलेसम्म पनि ज्याला नदिएर सम्पर्कविहीन भएको गुनासो गर्नुभयो । उहाँले आफूलाई सिमेन्ट सप्लायर्सको जिम्मासमेत दिएको बताउँदै सिमेन्टको झण्डै ७० हजार र ज्यालाको रकम पनि नभएको दुखेसो गर्नुभयो । सबै जनाको गरेर नौ लाख १९ हजार रुपैयाँ ठेकेदार नदिएर भागेको उहाँले जनाउनुभयो ।

सिस्ने गाउँपालिका ३ की यमुना केसीले आफूले सकि–नसकि गिट्टी र बालुवाको काम गरेको तर अहिलेसम्म ज्याला नपाएको बताउनुभयो । ‘म जस्तै सय मजदुरले पैसा पाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘हामीले पेट छाक टार्नलाई काम गर्‍यौँ, काम सकेपछि ठेकेदार सम्पर्कमा छैन ।’

कामदारहरूले ठेकेदारको खोजी र ज्यालाको लागि विभिन्न निकायमा अनुरोध गर्दै आएका छन् । सबै विवरण र पाउन बाँकी ज्याला रकम खुलाएर प्रहरीमा निवेदन पेस गरेको पुल निर्माणमा काम गर्नुभएका सिस्ने गाउँपालिका ५ का विश्व केसीको भनाइ छ ।

त्यस पुल निर्माणको ठेक्का बाजिरो मस्त निर्माण सेवा प्राली त्रिपुराकोट डोल्पाले लिएको थियो । यस विषयमा ठेकेदार बोद्ध सिंह कठायतलाई कामदरहरूबाटै प्राप्त उनको मोबाइल नम्बरमा पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार