महत्वपूर्ण आज कि भोलि ?

आदित्यमान श्रेष्ठ

नेपालसामु केही यस्ता प्रश्नहरू छन्, जो हामीले आज या भोलि भोग्नैपर्नेछ। एकातिर नेपालमा विदेशीहरूको आप्रवासन बढ्दो छ र यसले गम्भीर स्थिति निम्त्याउँदैछ। अर्कोतिर नेपालीहरू यति ठूलो संख्यामा बाहिरिरहेका छन्, तिनले पनि अनेक समस्या ल्याउनेछन्। यो असंख्य आवतजावतलाई रोकेर रोकिन्न। त्यसरी नै यो निरन्तर आवागमनले अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक र मानवीय समस्या जन्माउँदै जानेछ।

नेपालभित्र र नेपालबाहिर चलिरहेको यो आवागमन कसैले रोकेर रोकिन सक्ने देखिन्न। तर नेपाल र नेपालीको जिम्मा लिएको, उनीहरूको सुरक्षामा चासो राखेको र उनीहरूको भलाइ गर्ने प्रतिज्ञा गरेको सरकार यसबारे पूर्ण सचेत हुनुपर्छ र आज नभए पनि भोलिको अवस्थाको कसरी सामना गर्ने हो त्यसका लागि तयार रहनुपर्छ।

यस सिलसिलामा नेपालले गर्नुपर्ने र गर्नसक्ने एउटा मुख्य विषय छ। त्यो हो– नेपालीले कसरी धेरै नगद कमाउन सक्छन् ? किनभने यसैमा नेपालको अस्तित्व र विकास निर्भर रहेको छ। यसका लागि दुइटा काम गर्नुपर्छ– एक, नेपालमा आउने आगन्तुकको राम्रो पहिचान होस् र उनीहरूबाट नेपालीलाई राम्रो आर्थिक लाभ होस्। अर्को, बाहिर बसेका या काम गर्न गएका नेपालीले बढीभन्दा बढी आम्दानी गर्न सकून्।

तर के यति गर्दैमा नेपाल सरकारको कर्तव्य पूरा हुन्छ ? दीर्घकालका लागि यतिले पुग्दैन। कुनै समयमा नेपालमा आफूभन्दा सानोलाई आशीर्वाद दिँदा सन्तानले डाँडाकाँडा ढाकून् भन्ने गरिन्थ्यो। तर आज दीर्घकालीन दृष्टिबाट नेपालीलाई आशीर्वाद दिँदा सन्तानले संसारै ढाकून् भन्ने अवस्था आएको छ।

मुखले नभने पनि नेपालीले त्यो दिशामा मनोकांक्षा राखेका छन् र काम पनि गरिरहेका छन्। जुन काम दैनिक व्यवहारमा गरिरहेका छन्, त्यसलाई सैद्धान्तिक र मानसिक रूपमा मान्न नैतिक बल चाहिँदो रहेछ। त्यसकारण नेपाल र नेपाल सरकारले बहादुरीका साथ यी धारणालाई स्वीकार गर्नुपर्‍यो। हुन त दैनिक व्यावहारिक गतिविधिमा यो काम भइरहेकै देखिन्छ।

देशको एउटा गति हो– बाहिरबाट भित्र आउनु। जहाँसम्म विदेशी पर्यटकको सवाल छ, भारतीयबाहेक अरूको परिचय खुल्छ। तर उनीहरूबाट जति नेपालले लाभ उठाउनुपर्ने हो, उति पाउन सक्दैन। भुटानले जस्तो हरेक पर्यटकले यति पैसा खर्च गर्नैपर्छ भनेर भनेको छैन र भन्न पनि सक्दैन। त्यो भन्ने दिन बितिसक्यो।

नेपालले बजेट पर्यटकलाई प्रोत्साहन दिएबापत सस्तो खाने र सस्तो बस्ने सुविधा प्रदान गरेको हो। यो प्रथा ४०/५० वर्षदेखि चलिआएको छ। अहिले आएर यसलाई एक्कासि परिवर्तन गर्न गाह्रो छ र गर्न पनि सक्दैन। तर जहाँसम्म भारतीय पर्यटकको सवाल छ, उनीहरूको परिचय नै खुल्दैन र खुलाउन पनि खोजिँदैन।

हामीले आजको मात्र विचार गरिरहेका छौं तर भोलि के हुनेछ भनेर ध्यान पुर्‍याएका छैनौं। यस विषयमा न सरकारले सोचेको छ न बोलेको छ। तर भोलि आइपर्ने संकटको आयाम देखिएको छ।

भन्नलाई त नेपाल-भारत सीमा खुला छ र राख्नुपर्छ भनिन्छ, तर त्यो न कुनै सन्धिसम्झौतामा लेखिएको छ न राख्नुपर्ने कारण नै छ। खुला सीमा चलिआएको चलन मात्र हो। कुनै दिन यसबाट कसैलाई हानि थिएन। तर आज नेपाल र भारत दुवैले यसको दुरुपयोग भयो र धेरै नोक्सान पनि भयो भनेर कराउँछन्। तर त्यसलाई नियमन गर्ने काम गर्दैनन्। दुवैतर्फ सरकार फटाहा छन्। यसले गर्दा पर्यटन र आप्रवासको समस्या अल्झिएको छ, तर यसलाई सुल्झाउने प्रयास कतैबाट भएको छैन। यसमा दुवै इमानदार देखिन्नन्। भोलि यसले भयावह रूप लिनेछ।

हाम्रो देशको अर्को गति हो बिदेसिनु। एकथरी पढेलेखेका र दक्ष मानिएका नेपाली विकसित देशमा गएका छन्। उनीहरू त्यहीं बसाइँ सरेका छन् र त्यहींको नागरिक भएका छन्। कर्मथलोमा बसोबास गरे पनि जन्मथलो नेपाललाई बिर्सेका छैनन्। करबल अथवा स्वेच्छाले नेपाल र नेपालीलाई मद्दत गर्दछन्। यस्ता हुनेखानेले संगठन गरेका छन् र नेपालमा लगानी गर्ने र नेपालको आर्थिक विकास गर्ने प्रयत्न पनि गरिरहेका छन्। उनीहरूमध्ये कतिपय मानिस अहिलेसम्म नेपाली नागरिकता कायम गरेरै बसेका छन् भने कतिपयले विदेशी नागरिकता ग्रहण गरेका छन्।

उनीहरूको यो पहिलो पुस्ता भएकाले समस्या जटिल देखिँदैन। तर जब उनीहरूको नयाँ पुस्ता हुर्किन्छ, समस्या जटिल बन्दै जानेछ। उदाहरणका लागि कसले आफ्नो पुख्र्यौली सम्पत्ति पाउन सक्ने, कसले पाउन नसक्ने, पाउन सक्नेले पनि कतिसम्म राख्न सक्ने, त्यसबाट प्राप्त आम्दानी बाहिर लैजान चाहे भने कति र कसरी लैजान सक्ने आदि अनेक सवाल उठ्नेछन्। आज पनि भोलि यस्ता प्रश्नको सामना अवश्य गर्नुपर्नेछ। त्यसकारण यसतर्फ विचार गर्नु उचित हुन्छ।

अर्काथरीका नेपाली छन्, जो तोकिएको समयका लागि विदेशमा रोजगारको लागि गएका छन्, उनीहरूबारे बल्लतल्ल सरकारले सरोकार राखेको छ। सरकारको हेलचेक्र्याइँबाट उनीहरू देशभित्र र बाहिर दुवै ठाउँमा ठगिएका छन्। दुःख पाएका छन्। उनीहरूका रोजगार, जीवन रक्षा, सुरक्षित आम्दानी आदिबारे अनेक कुराकानी उठेका छन्। तर सन्तोषप्रद किसिमले कुनै पनि समस्याको समाधान भएको छैन।

एकातिर ऊर्जावान् युवा शक्ति बाहिर गएकोमा रोदन सुनिन्छ भने यदि उनीहरू नगएको भए नेपालीहरूको के हाल हुने थियो या उनीहरू फर्केको दिन यहाँ के हुनेछ भन्ने डर र शंका पनि प्र्रकट गर्ने गरिन्छ। आखिर हामीले खोजेको के हो ? जाओस् भनेको हो कि बसोस् भनेको हो ?

लाखौं संख्याका नेपाली देशभित्र बेरोजगार बस्नुपर्ने भयो भने के नेपालमा शान्ति हुन्छ या भनौं यहाँको सरकारले शान्ति कायम गर्न सक्छ ? बाहिर गएका नेपालीको आम्दानीले देशको अर्थतन्त्र चलेको छ। नेपालको वैदेशिक मुद्राको सन्तुलन रहेको छ। उनीहरू सबै फर्के भने के त्यो सन्तुलन रहन सक्छ ? त्यसपछि के अन्तर्राष्ट्रिय मुद्राकोषको शरणमा नेपाल जानुपर्दैन ? हामीले आजको मात्र विचार गरिरहेका छौं तर भोलि के हुनेछ भनेर ध्यान पुर्‍याएका छैनौं। यस विषयमा न सरकारले सोचेको छ न बोलेको छ। तर भोलि आइपर्ने संकटको आयाम देखिएको छ।

यस्ता नेपाली पनि छन्, जो विदेशी सेनामा निर्भर छन्। सिद्धान्तमा विरोध गरे पनि व्यवहारमा सरकारले यसलाई स्वीकार गरेको छ। गोर्खा सेनाको साहस र वीरताको प्रशंसा सुनेर मख्ख परेर बसेको छ, तर त्यसबाट नेपालीलाई कति लाभ हुन सक्थ्यो, कति भइरहेछ र कति अन्यायमा परेका छन् भनेर खोजतलास भएको छैन। आज मौन बसे पनि भोलि यो कुरा चर्को रूपमा निस्कनेछ।

नेपालले भोग्नुपर्ने सबभन्दा ठूलो खतरा भारतमा बसेका नेपालीको हो। नेपालका नागरिक त ढिलोचाँडो नेपाल फर्कलान्। भारतीय नागरिक भइसकेका नेपाली भारतमै बसिराख्लान्। तर भारतमा वर्षौंदेखि बसिरहेका, भारतको नागरिक हुन पाउने तर हुन नसकेका नेपालीको हाल के हुने हो त्यसको चिन्ता कसैले लिएको देखिन्न। सन् १९५० को सन्धिअनुसार भारतमा बसोबास गर्न पाउने गरी बसिरहेका नेपाली जो रैथाने भारतीय भएरै बसेका छन्, उनीहरूको उठिबास भयो भने नेपालले कसरी यसको असरको सामना गर्छ ? आज नभए पनि भोलि त हामीले बेहोर्नु नै पर्नेछ। के भोलिको कुरा आजै विचार गर्नुपर्दैन