राष्ट्रसंघमा ट्रम्पको छाया

राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फोटोः news.com.au

चन्द्रशेखर अधिकारी 

राष्ट्रसंघीय भवनको मुख्य हल खचाखच थियो। सबै हतारमा देखिन्थे। बाहिर पानी परिरहेको थियो। रुझ्दै आउनेहरूको कमी थिएन। मिडिया सेन्टरबाट मुख्य सभाहल जान पनि पानीले रोकेको थियो। मुख्यालयको भव्य हलबाट यसपटक मिडिया सेन्टर बाहिर चउरमा सारिएको रहेछ। त्रिहत्तरौं महासभाको उच्चस्तरीय छलफलको पहिलो दिन सबैमा उत्साह देखिन्थ्यो। दोस्रो दिनदेखि त्यो उत्साह विस्तारै घट्दै गयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के भन्छन् भन्ने विषयले सबैमा कुतूहल थियो। महासचिव एन्टेनियो गुटेरस र राष्ट्रपति ट्रम्पको धारणा कत्तिको मिल्छ भन्ने विश्लेषण पनि त्यहाँ भइरहेको थियो।

उनीहरूको सम्बन्ध र सहकार्यले विश्व राजनीतिले फरक मोड लिने भएकाले चासो हुनु स्वाभाविक थियो। महासचिव गुटेरस र सभाध्यक्ष मारिया फर्नान्डा स्पिनोजा ग्रेसले सम्बोधन गरेपछि औपचारिक बहस आरम्भ भयो। पहिलो भाषण ब्राजिलका राष्ट्रपतिले गर्ने परम्पराअनुसार माइकल टेमरले बोले। त्यसपछि अमेरिकाको पालो भए पनि इक्वेडरका राष्ट्रपति लेनिन मेरेनो ग्रेसलाई सम्बोधन गर्न अमेरिकाले दियो। कारण थियो उनको शारीरिक अवस्था। ट्रम्पको त्यो उदारता साँच्चिकै कदरयोग्य थियो। त्यसपछि ट्रम्प भाषण गर्न गए। उनी बोल्न थालेपछि हल शान्त बन्यो। उनको भाषण सन्तुलित, सभ्य र व्यंग्यात्मक थियो।

‘सबैका लागि सापेक्ष राष्ट्रसंघ : समान, शान्त, दिगो विकासका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नारासहित सुरु सम्मेलन राष्ट्रपति ट्रम्पकै वरिपरि घुमेको थियो। हुन त, उनी अघिल्लो पटकभन्दा निकै नरम र गम्भीर देखिए। यद्यपि उनले विश्वव्यापीकरणको विचारधारालाई अर्थात ‘वासिङ्टन कन्सेन्सस’ प्रति आफ्नो अस्वीकारलाई निरन्तरता दिए। उनले यसपटक आक्रोश भने व्यक्त गरेनन्। ‘सबैले आफ्नो मुलुक बनाउनतिर लाग्नुपर्छ। अनि बसाइसराइ रोकिन्छ। सबै त्यसमा केन्द्रित हुन आवश्यक छ,’ उनले देशभक्तिमा जोड दिँदै भने।

हरेकले आफ्नो मुलुकलाई नै पहिलो बनाउन आवश्यक रहेकाले त्यसमा ध्यान दिएर अघि बढ्न आग्रह गर्दै ट्रम्पले भने, ‘म अमेरिकन हुँ। त्यसैले अमेरिका मेरो पहिलो प्राथमिकता हो। यस्तो सोच सबैमा आउन सकोस् म त्यही प्रार्थना गर्छु।’ यही विषयलाई उनले अघिल्लोपटक निकै आक्रामक ढंगले भनेका थिए। यसपटक उनी बढी जिम्मेवार वा अनुभवीमा खरो उत्रिए। उनको बोलीमा सधैं झैं हाउडे र अल्लारेपनभन्दा गाम्भीर्यता बढी देखिन्थ्यो।

अमेरिकी सामर्थ्यको वरिपरि रहेर गरेको ट्रम्पको सम्बोधनपछि पक्ष र विपक्षमा बहससमेत आरम्भ भयो। उनले उत्तर कोरियाको विषयमा निकै आशावादी धारणा व्यक्त गरे। तर, उत्तर कोरियालाई अहिले नै नाकाबन्दीको छुटकारा नदिने स्पष्ट पारे। सिंगापुर वार्तामा भएको सम्झौताअनुसार कोरिया अघि बढेमा त्यो घट्दै जाने बताए। सहमतिको पालना पूर्ण भएपछि भने नाकाबन्दी रहँदैन। अहिले पनि पहिलेको जस्तो कडा प्रकारको नाकाबन्दी नभएको पनि उनले स्पष्ट पारे। आणविक निःशस्त्रीकरणका बारेमा वार्ता अघि बढेको जानकारी दिँदै ट्रम्पले अर्को शिखर वार्ताको तयारी भइरहेको पनि खुलाए। सबै प्रक्रिया सामान्यीकरण भएमा आर्थिक प्रतिबन्धहरू फुकुवा हुने उनले स्पष्ट पारे। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको खुलेर प्रशंसा गरेका ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई धन्यवाद दिन पनि चुकेनन्।

हामीले जसलाई सहयोग गर्छौं उसले हामीलाई सम्मान र माया गर्नैपर्छ। विदेश विभागमा छुट्टै सेल बनाएर यसबारे अध्ययन गर्ने बताउँदै ट्रम्पले भने, ‘सो अध्ययनपछि सहयोग उपलब्ध गराउँछौं। सहयोगमै रिभ्यु गर्ने हाम्रो तयारी हो। हाम्रो सहयोग लिने तर गाली हामीलाई नै गर्ने परम्परा राम्रो भएन।’ उनले भने, ‘हामीलाई सम्मान गर्नेप्रति सहयोग नियमित हुनसक्छ। अन्यथा यसमा हामीलाई केही भन्न जरुरी हुँदैन।’ अमेरिकाको यस्तो धारणा राष्ट्रसंघकै मञ्चबाट औपचारिक रूपमा आउनु अस्वाभाविक थिएन।

राष्ट्रसंघको आकर्षण भनेकै अमेरिकी राष्ट्रपतिको भाषण नै हो। यसबाट स्पष्ट हुन्छ, अमेरिकाकै छायामा राष्ट्रसंघ अघि बढेको छ। विश्वका नेताको पनि यसमा विमति छैन।

इरानप्रति कडारूपमा प्रस्तुत भए ट्रम्प। इराकी जनतालाई ‘दि ग्रेट पिपुल’ समेत भन्न भ्याए। इराकको शासकलाई भ्रष्ट र अतिवादमा आशक्त भन्दै ग्रेट पिपुलका पक्षमा विश्वले वकालत गर्ने भन्दै उनले अमेरिका राम्राहरूको पक्षमा रहने बताए। इराकी जनताले राष्ट्रसंघ भवनअगाडि अमेरिकी थिचोमिचो र धारणाको विरोध गर्दै राष्ट्रसंघ अमेरिकी आईएनजीओ भएको आरोप लगाइरहेका थिए। इरानको आणविक कार्यक्रम असफल बनाउन विश्व एक भएर लाग्नुपर्ने ट्रम्पले बताए। आणविक कार्यक्रमलाई असर पुग्ने गरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन पनि सबैसँग आग्रह गरे। सिरिया र यमनमा इरानले रक्तपातपूर्ण युद्ध फैलाउन लगानी गरेको आरोप लगाउँदै उनले भने, ‘इरानका शासकलाई आर्थिक दबाब सिर्जना गरेर घुँडा टेकाउनुपर्छ।’ इरानमा पनि त्यसको विरोध भइरहेको थियो।

समृद्ध मुलुक गलत राजनीतिज्ञको नेतृत्वमा जाँदा टाट पल्टेका उदाहरण दिँदै ट्रम्पले यसको पछिल्लो उदाहरण भेनेजुयला भएको बताए। ‘कुनै समय दक्षिण अमेरिकाकै सम्पन्न मुलुकमा दरिएको भेनेजुएला यतिबेला आर्थिक संकटमा छ। २० लाख बढी मानिस अन्य मुलुकमा बसाइ सरेको बताउँदै ट्रम्पले भने, ‘यसरी मुलुकको नेतृत्वले जनतालाई दुःख दिएको टुलुटुलु हेरेर अमेरिका बस्न सक्दैन।’ भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि अमेरिकाले थप प्रतिबन्ध लगाएर निर्दोष जनताको पक्षमा अमेरिका उभिने बताए। उनले रसिया र पोल्यान्डलाई पनि छोडेनन्। रसिया र जर्मनीको तेलको विषयमा संकेत गर्दै जर्मनीलाई चनाखो बन्न आग्रहसमेत गरे।

ट्रम्पले कम्युनिस्ट र समाजावादले विश्व अघि नबढ्ने धारणा व्यक्त गरे। कम्युनिस्ट र समाजवादबाट विकासको परिकल्पनै गर्न नसकिने उनले बताए। अमेरिकी जनतालाई शान्तिप्रेमीको संज्ञा दिँदै ट्रम्पले भने, ‘हामी धेरै हदसम्म धैर्य गर्छौं। अन्यको विश्वास गर्छौं, जब टुट्छ त्यसको मूल्य चुकाउनुपर्छ। यही आधारमा अमेरिका अघि बढेको छ।’ उनले अमेरिकामा चार लाख नयाँ रोजगारी सिर्जना भएको र पाँच लाखलाई उत्पादन क्षेत्रमा व्यस्त पारेर अर्थतन्त्र बलियो बनाउँदै लगेको बताए।

अमेरिकाको व्यापार घाटा चुलिएको विषयमा अघिल्लो नेतृत्वलाई दोषारोपण गर्दै ट्रम्पले त्यसमा अहिले सुधार भइरहेको पनि बताए। उनले आफ्नो कार्यकालको बचाउ गर्दै भने, ‘धेरै सुधारका काम अघि बढेका छन्, म आफ्नो तवरले सुधारका कार्यक्रम ल्याएर अमेरिकालाई पहिलोमा राखिरहने प्रयासमा छु।’ हुन पनि अहिले अमेरिकी डलर बलियो बन्द गएको छ। उनले चीन अमेरिका व्यापारको तनावलाई प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन्। अमेरिकाको व्यापार घाटा अघिल्लो वर्षसम्म करिब आठ सय अर्ब डलर पुगेमामा अमेरिकी जनता चिन्तित रहेको बताउँदै यसमा सुधारको प्रक्रिया अघि बढाइएको ट्रम्पले बताए। व्यापारीहरू पनि यसको पक्षमा रहेको उनको तर्क थियो। कतिपय खुकुला नीतिका कारण चीनले अमेरिकी अर्थतन्त्रबाट फाइदा लिएको धारणा व्यक्त गर्दैगर्दा चिनियाँ विदेशमन्त्री वाङ यी असहज अनुभव गर्दै थिए। असमान व्यापारसम्झौता सच्याएर अमेरिकी सरकार अघि बढ्ने ट्रम्पले बताए। उनले राष्ट्रसंघको कार्यशैलीप्रति अमेरिका खुसी नरहेको धारणा व्यक्त गर्दै महासचिव गुटेरसको सुधारको पाटोमा कटाक्ष गरे।

राष्ट्रसंघका कतिपय कार्य अमेरिकी हितविपरीत रहँदा यसबाट अमेरिका बाहिर निस्केको समेत उनले प्रष्ट्याए। राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको जानकारी दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। ट्रम्प र महासचिव गुटेरसको धारणामा निकै अन्तरसमेत देखिएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्प अझै पनि राष्ट्रसंघप्रति सकारात्मक हुन सकेका छैनन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र राष्ट्रसंघीय मानवअधिकार आयोगले अमेरिका र इजरायलका विरुद्ध काम गर्न थालेकोमा पनि ट्रम्पको आक्रोश थियो। अमेरिकाले इजरायलको पक्षमा काम गर्दै आफ्नो दूतावास जेरुसेलमा सारेको छ। हुन त सम्मेलनमा विश्वका हस्ती नेताहरूले पनि बोले तर संसारभर ट्रम्पकै भाषणको चर्चा भयो। बाहिर बस्ने मिडियाले पनि ट्रम्पको भाषणकै कमेन्ट गरे। त्यसैले अझै पनि राष्ट्रसंघको आकर्षण भनेकै अमेरिकी राष्ट्रपतिको भाषण नै हो। यसबाट स्पष्ट छ, अमेरिकाकै छायामा राष्ट्रसंघ अघि बढेको छ। विश्वका नेता पनि दोधारमा छैनन्। — न्यूयोर्कबाट