डेंगी : भ्रम र यथार्थ

डा. शेरबहादुर पुन
हुन त डेंगीको महामारी भइरहँदा एकहोरो उपचारमा मात्र ध्यान दिए पनि हुने हो, तर म चिकित्सकका साथसाथै एक अनुसन्धानकर्ता पनि भएका नाताले राजधानीवासीमा डेंगी भाइरसबारे ज्ञान कस्तो रहेछ भन्ने जिज्ञासासाथ बिरामीहरूको उपचारमा संलग्न भएँ। नतिजा आश्चर्यजनक पाएँ। काठमाडौंका धेरै कम मानिसलाई मात्र डेंगीबारे जानकारी रहेछ। डेंगी संक्रमण भएको थाहा हुनेबित्तिकै कतिपयको पहिलो प्रश्न हुन्थ्यो– अब यो रोग सँगै उठ्दा, बस्दा, खाँदा वा सुत्दा मेरो परिवारलाई सर्छ कि सर्दैन ?

केही दिनअगाडि एक दम्पति मकहाँ आएको थियो। जसमध्ये श्रीमान्लाई डेंगी संक्रमण भएपछि कोठा र खाना अलग–अलग गरेका रहेछन्। त्यस्तै एक युवकलाई त परिवारले(ससुरालीमा) डेंगी नभएको प्रमाणित रिपोर्ट ल्याए मात्र घरमा सँगै बस्न दिने भनेको रहेछ। त्यसैले जाँच गर्न अस्पताल आएको उनले सुनाए। अझ कतिपयले त डेंगी भन्ने नाम नै पहिलोपटक सुनेको बताए। यिनलाई प्रतिनिधि पात्र मान्न सकिन्छ।

नेपालमा सन् २००४ देखि डेंगी देखापरेको हो। अहिले १५ वर्ष पुगिसक्यो। तर पनि डेंगी भाइरसबारे यस्तो अनभिज्ञता !

यो कुराले मलाई चकित मात्र पारेन, निकै दुःखी पनि बनायो। किनभने यो मैले सोचेभन्दा ठीक उल्टो नतिजा थियो। नेपालमा सन् २००४ देखि डेंगी देखापरेको हो। अहिले १५ वर्ष पुगिसक्यो। तर पनि डेंगी भाइरसबारे यस्तो अनभिज्ञता ! डेंगीबारे हामीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रममा केही कमी पो थियो÷छ कि ? वा काठमाडौंवासीले कहिले पनि यति ठूलो डेंगी प्रकोप नदेखेकाले थाहा नपाएको हो वा यसबारे वास्तै नगरेकाले हो ?

वास्तवमा यो महामारी फैलिनु अघिसम्म डेंगीबारे सम्बन्धित विज्ञहरू छुट्टै बसेर कुनै राम्रो रणनीति तयार पारेको देखिएन भने सरकारले पनि यसका लागि भनेर छुट्टै बजेट विनियोजन गरेको पाइएन। सायद डेंगीले नेपालमा यस्तो महामारीको रूप लेला भन्ने कल्पनै नगरिएकाले पनि होला। तर मैले यसअघि नै एक दिन यस्तो भयो भने अनौठो हुने छैन भनेर धेरैपटक सञ्चारमाध्यममा भनेको पनि थिएँ। किनभने डेंगी फैलाउने लामखुट्टे जहाँ–जहाँ छन, त्यहाँ–त्यहाँ जहिले पनि डेंगी प्रकोपको जोखिम उच्च हुन्छ। यसबारे सोच्न हाम्रा सम्बन्धित निकायहरू चुके भन्दा अत्युक्ति नहोला। यो प्रकोप फैलिन नदिन हामीले मनसुन सुरु हुनुभन्दा अगाडि नै जनचेतनामूलक कार्यक्रम सुरु गर्नुपथ्र्याे। तर डेंगी भाइरस देशका लगभग सबै भूभागमा फैलिसक्दा पनि सम्बन्धित निकाय उदासीन देखियो। अझ पनि डेंगीको यो महामारी पक्कै अन्तिम हुने छैन, त्यसैले यससम्बन्धी चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ।

डेंगी, एडिस जातको लामखुट्टेले सार्छ र यसको आनीबानी हामीले यसअघि सुने÷देखे वा पढेका लामखुट्टेको भन्दा नितान्त फरक हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन। एडिस जातको लामखुट्टे राति होइन, दिनमा सक्रिय हुन्छ र फोहोर होइन, सफा पानीमा यसले फूल पार्छ र आफ्ना सन्तान बढाउँछ।

डेंगीको त्रास अत्यधिक मात्रामा फैलिएको थियो। यसै क्रममा केही दिनअगाडि एक युवक अस्पताल आएका थिए, आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट लिन। तर उनी आफू अस्पतालको प्रवेशद्वारमै बसे र आफ्ना भाइलाई अस्पतालभित्र पठाए। पछि डेंगी संक्रमण छैन भन्ने सूचना पाएपछि मात्र उनी अस्पतालभित्र हामीलाई भेट्न आएका थिए। कारण उनले डेंगी लाग्यो भने त्यसको उपचार छैन, यसको संक्रमण हुनेबित्तिकै मरिन्छ भन्ने सुनेका रहेछन्। त्यही डरले उनले पहिले भाइलाई बुझ्न पठाएका रहेछन्। यसले के प्रस्ट पार्छ भने हाम्रो समाजमा डेंगीबारे कतिसम्म त्रास र भ्रम छ ! डेंगी लागेर मानिसको मृत्यु भएको खबरले आफूलाई पनि डर लागेको ती युवकको भनाइ थियो। डेंगीका कारण मृत्यु भएको घटना मात्र जानकारी नगराएर यसबाट संक्रमितहरूको सफल उपचार भएको सन्देश पनि प्रवाह गरिएको भए मानिसमा सकारात्मक सोच र आत्मबल आउँथ्यो होला। उपचार सिलसिलामा सकारात्मक परामर्श दिँदै गर्दा बिरामीहरूमा एक प्रकारको ऊर्जा आएको महसुस गरें। साथै उनीहरूले शीघ्र स्वास्थ्य लाभ गरेको पनि देखियो।

डेंगी, एडिस जातको लामखुट्टेले सार्छ र यसको आनीबानी हामीले यसअघि सुने÷देखे वा पढेका लामखुट्टेको भन्दा नितान्त फरक हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन। एडिस जातको लामखुट्टे राति होइन, दिनमा सक्रिय हुन्छ र फोहोर होइन, सफा पानीमा यसले फूल पार्छ र सन्तान बढाउँछ। जुन लामखुट्टे घरबाहिर मात्र नभई, भित्र पनि हुन सक्छ। उपचार गर्ने क्रममा धेरै जना त लामखुट्टे प्रशस्त भएका ठाउँमा आफ्ना कार्यालय वा पसल भएका कारण डेंगी संक्रमण भएको पाइयो। त्यसैले होला, डेंगी संक्रमण भएकामा धेरैजसो २० देखि ४४ वर्षसम्म उमेरका थिए। यसैले आफ्नो कार्यक्षेत्रमा डेंगी फैलिएको छ÷छैन भनेर जानकारी लिनु र त्यसअनुसार आफूलाई सतर्क राख्नु पनि डेंगीबाट बच्ने एक प्रमुख उपायभित्र पर्छ।

धेरै जना यसको संक्रमण भएको रहेछ भने औषधि पाइन्छ भन्ने अनुमानले पनि अस्पताल आउने गरेको पाइयो। अर्थात् डेंगीको विशेष औषधि हुन्छ भन्ने उनीहरूलाई लागेको रहेछ। तर जब चिकित्सकले झोलिलो कुरा वा जीवनजल तथा धेरै शरीर दुखे वा ज्वरो आए, सिटामोल सेवन गर्नु भन्थे, तब उनीहरू निराश हुन्थे। र, उनीहरूले तुरुन्त डाक्टरलाई विश्वास गरेको पनि पाइएन। यसको अर्थ हो– डेंगीको उपचारबारे वास्तविक जानकारी नहुनु। धेरै जना आक्रोशित पनि देखिन्थे। किनकि ३÷४ घण्टा पालो पर्खेर बल्लबल्ल डाक्टरसमक्ष पुग्यो, डेंगीका लागि छुट्टै विशेष औषधिको गोली हुँदैन भन्ने जानकारी लिएर फर्किनुपथ्र्याे। यो भाइरसविरुद्धको लडाइँमा नितान्त संक्रमित व्यक्ति मात्र सामेल हुने गर्छ भन्ने पनि बुझ्नुपर्छ। भनाइको तात्पर्य– डाक्टर र आफन्तले त सुझाव र आत्मबल दिने मात्र हुन्, अनि आवश्यकताअनुसार दुखाइ कम गर्न सिटामोल प्रयोग गर्न सल्लाह दिने हुन्। यस विषयमा बिरामीलाई राम्ररी बुझाउने हो भने पनि उनीहरूमा व्याप्त त्रास र आक्रोश स्वतः कम हुन्थ्यो होला।
धेरैलाई डेंगी संक्रमण भएको वा फैलिएको अवस्थामा फ्लेक्सोन, ब्रुसेट, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधि जथाभावी खानु हँुदैन भन्ने ज्ञान पनि रहेनछ। कहिलेकाहीं स्वास्थ्यकर्मीले नै डेंगी निदान भइसकेको अवस्थामा पनि यस्ता औषधि प्रयोग गर्ने गरेको पनि देखियो। जसबाट बिरामीमा थप जटिलता उत्पन्न हुने प्रबल सम्भावना हुन्छ। यस्तै औषधि पसलमा जाँदा पनि दुखाइ कम गर्ने कडा औषधि दिने गरेको देखिन्छ। यसबाट औषधि पसलेहरूलाई पनि डेंगी फैलिसकेको अवस्थामा त्यस्ता औषधि दिनुहुन्न भन्ने ज्ञान नभएको प्रस्ट हुन्छ।

लामखुट्टेले कसरी र कुन अवस्थामा टोक्दा डेंगी सर्छ भन्ने थाहा नहुँदा ‘लामखुट्टे फोबिया’ भएको पनि पाइयो। एक महिला आफ्नो छोरोलाई लामखुट्टेले टोकेको देखेको र त्यसको २÷४ घण्टामै ज्वरो आएकाले डेंगी लाग्यो कि भनेर जँचाउन हतारहतार अस्पताल आएकी थिइन्। त्यस्तै कोही त लामखुट्टेले छिसिक्क गरेजस्तो लाग्यो भनेर पनि दगुर्दै आएका थिए। तर डेंगीका लक्षण देखापर्न सामान्यतया ४ देखि १० दिनसम्म लाग्छ। त्यो पनि संक्रमित लामखुट्टेले टोकेको हो भने मात्र। हुन त टोक्ने लामखुट्टे डेंगी संक्रमित थियोवा थिएन छुट्यााउन सजिलो छैन। तापनि लामखुट्टेले टोक्नेबित्तिकै लक्षण देखिँदैन र त्यो संक्रमित नै नहुन सक्छ भन्ने जानकारी पनि अभाव देखिन्छ।

हालको अवस्था प्रकोप कि महामारी भन्नेमा तर्कवितर्क भइरहेको देखिन्छ। उही समय र ठाउँमा सामान्य अवस्थामा भन्दा संक्रमितको संख्या अस्वाभाविक रूपमा बढे त्यसलाई प्रकोप(आउटब्रेक) भनिन्छ भने त्यही प्रकोप त्यही मात्रामा अन्य ठाउँमा फैलिँदै गयो भने त्यसलाई महामारी(ऐपिडेमिक) भन्ने गरिन्छ। अर्थात् नेपालका अधिकांश भूभागमा डेंगीको प्रकोप फैलिँदै गएकाले यसलाई महामारी भन्न सकिन्छ। जेहोस्, यो महामारीको पनि अब केही दिनभित्र अवश्य अन्त्य हुनेछ। तर अब सकियो भनेर हात बाँधेर बसियो भने फेरि अर्काेपटक हुन सक्ने महामारी रोक्न हामी असमर्थ हुनेछौं। तसर्थ यो महामारी सकिनेबित्तिकै डेंगीविरुद्धको जनचेतनामूलक कार्यक्रम रोकिनु हँुदैन, जारी नै राख्नुपर्छ। किनभने अहिलेको डेंगी महामारीलाई अन्तिम होइन, सुरुवातका रूपमा लिनुपर्छ। र, हामी सधैं तयारी अवस्थामा रहनुपर्छ। प्रकोप वा महामारी कहिल्यै बाजा बजाएर आउँदैन र त्यसको अनुमान गर्न पनि सजिलो छैन भन्ने पाठ यो महामारीले हामीलाई दिएको छ। यसलाई मनन गरौं र नेपाली जनतालाई डेंगीबारे प्रभावकारी रूपमा निरन्तर जानकारी दिँदै जाऔं। (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)