काठमडौं । कोरोनाभाइरस कोभिड—१९ संक्रमित बिरामीको उपचार गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कात्तिक र मंसिर महिनाको जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले असोजसम्मको सबै रकम निकासा गरे पनि कात्तिक र मंसिर महिनाको रकम अस्पतालहरुले नपाउँदा स्वास्थ्यकर्मीहरु भत्ता पाउनबाट बञ्चित भएका हुन् ।
मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ । तर, मन्त्रालयले बिरामीको केस अनुसार अस्पताललाई रकम दिने भएकाले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् ।
बिरामीको केसका आधारमा मन्त्रालयबाट रकम अस्पताललाई आउने भएकाले स्वास्थ्यकर्मीलाई नियमित तलब मात्रै दिने गरेको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । अस्पतालमा चैत यता नन्- कोभिड बिरामीको संख्या घटेकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेको उनले बताए ।
विगतको तुलनामा कोभिडसँगै नन्-कोभिड बिरामीको संख्या क्रमशः बढ्दै गएको उनले सुनाए । यता वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले मन्त्रालयले केसका आधारमा पठाएको रकमबाट संक्रमितको उपचारमा लाग्ने खर्चबाट बचेको रकमले स्वास्थ्यकर्मीलाई नियमित तलब दिने गरेको बताए ।