कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा लिन भन्दै गत मङ्गलवारदेखि नेपालमा पनि देशव्यापी बन्दाबन्दी (लकडाउन) गरिएको छ।
यस्तोमा खानेकुरा औषधी लगायतका अत्यावश्यक बस्तु किन्न पसल जाँदा सङक्रमणको खतरा कति हुन्छ र कसरी जोगिन सकिन्छ?
पसलहरूमा के खतरा छ?
सङ्क्रमित व्यक्तिहरूले खोक्दा र हाछ्युँ गर्दा बाहिर निस्कने भाइरसहरू हावामा फैलिन्छन्। यदि यस्तो किटाणुयुक्त हावामा श्वास फेरियो भने सङ्क्रमण हुन सक्छ अथवा त्यस्ता भाइरसहरू परेका कुनै सतह छोयो भने पनि सङ्क्रमण हुन सक्छ।
त्यसैले सामान किनमेल गर्न जानु वा मानिसहरूसँग भेटघाट गर्नुमा खतरा छ। त्यसैले सामाजिक दूरी राख्नुपरेको हो- कम्तीमा दुई मिटर अथवा ६ फिटको फरकमा रहनु महत्त्वपूर्ण छ।
“सुपरमार्केटहरू भाइरस फैलावटका लागि ‘उपयुक्त माध्यम’ बन्न सक्छन्,” लण्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनकी प्राध्यापक स्याली ब्लुमफिल्ड भन्छिन्।
यी जोखिमहरूलाई न्यूनीकरण गर्ने केही उपाय छन्:
- साबुन पानीले बीस सेकेन्ड लगाएर हात धुनुहोस् अथवा किनमेल अघि र पछि स्यानिटाइजरले हात सफा गर्नुहोस्।
- सामान किन्ने बास्केट, ट्रली वा प्याकेज वा सामान भएका सतहहरू प्रदूषित भएका हुन सक्छन् त्यसैले किनमेल गरिरहेका बेला वा किनमेल सकिएपछि हात नधोइ अनुहारतिर हात नलग्नुहोस्।
- सम्पर्क नहुने गरी पैसा तिर्ने उपाय प्रयोग गर्नुहोस्।
किनमेलका बेला के हुन्छ?
कोभिड-१९ खाना मार्फत सर्छ भन्ने कुराको प्रमाण छैन र राम्रोसँग पकाएमा भाइरस मर्छ। प्रोफेशर ब्लुमफील्ड भन्छिन्- तर केही पनि ‘शून्य जोखिमयुक्त’ भन्ने छैन, किनभने सामानहरूको प्याकेजिङ अरू मानिसहरूले गरेका हुन्छन्- त्यो मुख्य चासोको विषय हो।
खाद्यान्न व्यवसायका लागि अनलाइन सुझावमा भनिएको हुन्छ: “खाद्य प्याकेजिङले जोखिम पुर्याउने भन्ने थाहा भएको छैन।” तर केही स्वतन्त्र विज्ञहरूसँग थप सुझाव छ।
खानेकुरा या त ७२ घण्टाका राखेर बल्ल प्रयोग गर्नु ठीक हुन्छ अथवा प्लास्टिक या शिसाका भाँडाहरू एक प्रकारको रसायन (ब्लीच)ले पुछ्नुपर्छ। तर ब्लीच प्रयोग गर्नुभन्दा अघि त्यसलाई नियम बमोजिम पातलो बनाउन आवश्यक रहेको प्राध्यापक ब्लुमफील्ड भन्छिन्।
उनी भन्छिन्, “खुल्ला र ताजा सामान- जुन जो सुकैले समातेका हुन सक्छन्- पानीमा धोएर सुख्खा हुन दिनुपर्छ।”
घरमा पुर्याएका सामान कति सुरक्षित?
सुपरमार्केटमा किन्न जानु भन्दा घरमा सामान पुर्याइदिने सेवा कम जोखिमयुक्त छ किनभने यसो गर्दा अरू धेरै मानिससँगबाट टाढा रहन सकिन्छ। खानाको प्याकेज वा सतह भाइरस जन्य हुने वा सामान पुर्याउन ल्याउने चालकबाट भाइरस सर्ने खतरा भने रहन्छ।
खाद्य सुरक्षा विज्ञ तथा ब्लगर डा. लिसा अकर्लीको सुझाव छ- मुख्य ढोकामा एउटा नोट लेखेर घण्टी बजाएर सामान छोडेर जान भन्न सकिन्छ। पछि तपाईँले सुरक्षित तरिकाले एक्लै सामान भित्र ल्याउन सक्नुहुन्छ।
स्थानीय जोखिममा रहेका वृद्धवृद्धाहरूलाई सहयोग गर्न भनेर खुलेका स्वयम्सेवी सञ्जालबारे नि?
कुनै सतहमा रहेका हुन सक्ने भाइरस हटाउनेबारे वारविक मेडिकल स्कूलका डा जेम्स गीलको सुझाव छ, “घरमा प्रयोग हुने साधारण ब्लिचले भाइरसलाई एक मिनेटमै निस्क्रिय बनाइदिन्छ त्यसैले त्यस्ता ब्लिचले सतहको सफा गर्नु उचित हुन्छ।”
युनिभर्सिटि अफ ससेक्सका भाइरसविज्ञान विज्ञ प्रोफेशर एलिसन सिनक्लेयर भन्छन्, “साथी या स्वयम्सेवकबाट सेवा लिनु या अनलाइन सेवा लिनुका जोखिम उस्तै उस्तै हुन्।”
केही विज्ञहरूले महामारीका बेला एकपटक प्रयोग गरेको प्लाष्टिकको झोला अर्कोपटक प्रयोग नगर्न सुझाव दिन्छ्न।
बाहिरबाट ल्याइने पकाएका खानेकुरा नि?
कैयौँ रेष्टुरेन्टहरूले आफ्नो व्यवसायको तरिका परिवर्तन गरेर घर लग्न मिल्ने प्याकेज बनाउन थालेका छन्। प्रख्यात रेस्टुरेन्टहरूले व्यवसायिक रूपमा स्वस्थ्यकर रूपमा खाना प्याकेट बनाइरहेका हुन सक्छन्। त्यस्ता खाना ल्याउनुमा न्यून जोखिम हुन सक्छ।
खानाको खोलमा हुने सङ्क्रमणबाट जोगिन खाना सफा भाँडोमा खन्याएर खोल तत्काल फ्याँक्न सकिने प्रोफेशर ब्लुमफिल्डको सुझाव छ।
“खाना हातले होइन कि काँटा चम्चाले खानु उचित हुन्छ,” उनी भन्छिन्।
अहिलेको अवस्थामा काँचो र चिसो खानेकुरा भन्दा तात्तातो भर्खर पकाएको खाना अर्डर गर्नु झन् राम्रो हुने उनको सुझाव छ।