डोटी । शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।
घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिस गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सातजना सवार रहेको र अन्य दुईजना भने सकुशल रहेको प्रहरीले जनाएको छ । रासस