ऊ परतन्त्री छ
चारैतिर बडेमानको घरमा बलिया पर्खालले घेरिएर बस्छ
जनताहरुमाझ नाममात्रको दबाई फ्याँक्छ
सम्पन्नताका आसा र सपनाहरु बाँड्छ
रकम कुम्ल्याउँछ र आफ्नै दुनो सोझ्याउँछ
जनता के गर्दैछन् ?
कहाँ मर्दै छन्?
किन मर्दै छन् ?
के सकस छ ?
बुझ्ने उसको दिमाग हुँदोरहेनछ
सुन्ने उसको कान हुँदोरहेनछ
हेर्ने उसको आँखा हुँदोरहेनछ
भोग्ने उसको फुर्सद हुँदोरहेनछ
मात्र बोली बोल्छ, के बोल्छ?
बोलिसकेपछि उसलाई थाहा हुँदोरहेनछ
ऊ तालीको अभिलाषी भएर बोल्दोरहेछ
न बोलीको काम हुन्छ
न कामको बोली बोल्छ
सधैँ सधैँ सिद्धान्तमा मात्र ऊ
उज्यालो खाँदोरहेछ, उज्यालो पिउँदोरहेछ
फ्याक्नमात्र अँध्यारो फ्याँक्दोरहेछ
निरन्तर छक्का पन्जाको पासा खेल्ने
ऊ त राजनीति र सत्ता पो रहेछ।
अमुक व्यक्तिको सत्ता स्वार्थका खातिर
जीवनभर जनताहरु
गरिबी र भोक बिर्सिए
अनिकाल र महङ्गाई बिर्सिए
रगत, पसिना , शरीरका अङ्हरु र प्राण दिँदै
आधा पेटमा सङ्घर्ष गरिरहे
सदयौँदेखि
हरेक युद्ध र क्रान्तिहरुमा
मुक्ति र सम्पन्नताका सपनाहरु मात्र देखे
आतङ्कपूर्ण दिनहरु र त्रासदीपूर्ण रातहरु भोगे
धर्म ,जाति, परम्परा, दर्शन , राजनीति
सबैतिर पहिरो गइरहेको बेला
सतीदेवीको कुहिएको अङ्गपतित् लास बोकेर
संसार घुमिरहेका महादेवलेझैँ
बोकिरहे मतिभ्रमले ग्रस्त नेताहरुलाई
र पुर्याइरहे सत्ताको सिखरमा
अन्ततोगत्वा
अनाथ, गरिब, शोषित, पीडित
जनताका नाममा गरिएका युद्ध र क्रान्तिहरु
कसैको सुखसएल र महलहरुमा परिणत भए
कहाँ सकियो गरिबी ?
कसले दियो मुक्ति ?
कसले पायो न्याय ?
कुन व्यवस्थाफले दियो विकास ?
जनताहरु चाहान्थे,
रोजगारीको ग्यारेन्टी
श्रमको मूल्य
सुरक्षाको प्रत्याभूति
भ्रष्ट र अपराधीलाई दण्ड
पीडितलाई न्याय
भोको पेटभरि माम
र निद्रामा आरामदायी सपना
यहाँ
निम्त्याइएका सन्ततिका लागि
मुन्टो लुकाउने ठाउँ छैन
शरीर त्याग्ने छाप्रो छैन
मुस्किलले लाज छोपेको काय छ
घाँटीसम्म आएको निराशा छ
र डरैडरको साम्राज्य छ
मुक्ति र सम्पन्नताका आशा बाँड्नेहरु
राज्यसत्तासँग दलाली गर्दै
देशलाई देश हुन नदिनेहरु
देशलाई देश बनाउन नचाहनेहरु
गरिब र असहायहरुको रोटी खोसेर
घुइयाको भाउमा सर्बहाराहरुको तौल गरिरहेछन्
बेरोजगारी र गरिब बबुराहरुलाई
सत्ता स्वार्थको जाँतोमा फनफनि घुमाएर
गरिब जनताहरुको नाममा भजाउने
एकनम्बरी नोट पो भएछ राजनीति ।
नाेट- याे कविता एउटा व्यक्ति, कुनै एउटा दल र कुनै एउटा व्यवस्थाप्रति मात्र लक्षित नभएर ७० वर्षदेखिको नेपाली जनताको भोगाई हो।