काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र पठाउन निर्देशन दिएका छन् ।
मन्त्री साहले आइतबार एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायबाट सम्पूर्ण आयोजनाको विस्तृत विवरण माग गरेका हुन् । खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्री साहको सचिवालयले जनाएको छ ।
निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाको स्थिति र शहरी विकास मन्त्रालय मातहतका निकायको क्षमता तथा काम कारवाहिको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । त्यसै बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्री साहको सचिवालयको बुझाइ छ ।
कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले काम सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । त्यसै बमोजिम तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरे प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म जरिवाना तिराउनुपर्ने कानुनी व्यवस्था छ ।