काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताउनुभयो ।
भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन विहिबार निर्देशन दिइएको हो ।
वरिष्ठ स्वास्थ्य प्रशासक डा. शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ ।
मन्त्रालयका उपसचिव मुक्ति खनालले अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको जानकारी दिनुभयो ।