काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म धर्मपत्नी राधिका शाक्यसहित एक घण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।
सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए। पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन्।
सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए।
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए।


 
					
							
 
                             
                             
                             
                             
                            