काठमाडौं । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिबास कार्यालयबाट खटिएकाे टाेलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।
उनिहरुलाई मिथिला नगरपालिका-५ स्थित रन्जितकुमार महतोको पाेल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।