हाम्रो राजा हाम्रो भेष
बालदिवस¸ राजाहरुका जन्म जयन्ती¸ प्रजातन्त्र दिवस । जिल्लाभरीका विद्यालयहरुको खलंगा बराहटाकुरामा जमघट । नाँचगान । पन्चेवाजा । जताकतै गेटैगेट । खलंगा बजार परिक्रमा । न कुनै चेतना न कुनै ज्ञान । घाँटीका नसा सुक्ने गरी चिच्याउने । हाम्रो राजा हाम्रो भेष प्राण भन्दा प्यारो छ । श्री ५ महाराजाधिराज सरकारको जय होस । श्री ५ बडामहारानी सरकारको जय होस । यिनै हुन्थे नाराहरु । उतिखेर गुहुनै गुहुको खानी भिरबारी¸ जिप्रका रोड¸ बजार हुँदै पुन: बराहटाकुरामा । चकलेटका पोका खोलेर कसैले विद्यार्थीहरुको माझमा सुइया फाल्थ्यो । सबैको तछाडमछाड । मुश्किलले १।२ वटा छोप्न सक्यो भने मुख रसायो । नत्र सुकेका घाँटी जस्ताको तस्तै घर फिर्ती । वाल्यकाल पन्चायतले फालेको १ वटा चकलेट टिप्नमै केन्द्रित ।
कालो झन्डा र राजनीतिक जिज्ञासा
सोलाबाङ्बाट भर्खर खलंगा उक्लिएको । कक्षा ८ को विद्यार्थी । आफ्नै ताल आफ्नै सँसार । फितावाला हवाइ चप्पल पट्याक पट्याक । काँधमा फुर्के झोला । २।४ थान किताब । ३।४ जना साथी बुकुर्सी मार्दै खलंगा । बुकुर्सी मार्दै सोलाबाङ्ग । न कुनै थकान । न कुनै आलस्य । मात्र रमाइलो नै रमाइलो । अकस्मात एक दिन चांफादेखि सेरीगाउ जताकतैका पिपलको रुखमा काला टाला फरफराइरहेको । जीवनमा घटेको पहिलो राजनीतिक घटना । तर खासै चासो भएन ।
बराहटाकुरामा पन्च र्याली
पन्चायतको अन्ततिर । देशैभर भए होलान । समाचार सुन्ने रेडियो टिभी पत्रपत्रिका थिएनन । हेलीकप्टर आएपनि दैडिदै बराहटाकुरा पुग्न बानी परेका । नारावाजी । जयजयकार । वजारभरी मान्छे नै मान्छे । १।२ पिरियड पढाइ हाल जिप्रकाको नयाँ भवन रहेको स्थानमा रहेका पुराना भवनमा पनि हुन्थ्यो । हुर्रिदै उतै । वराहटाकुरा भरिभराउ । अरु केही बुझिएन । हाल नागरिक समाजमा आवद्ध एकजना जिल्लाका आदरणीय व्यक्तित्वको उद्घोषण थियो शायद् । पटकपटक उहाँबाट परररर ताली ! यत्ति सुनियो । अरु सबै बिर्सियो ।
बहुदल आगमन र पहिलो प्रभाव
केही दिनपछि नै बहुदल आयो भनियो । सोलाबाङ्गकै एकजनाले हाम्रा बालाई अब त बहुदल आयो । कता लाग्ने हो ? घरमा कानेखुसी गर्दै थे । दिउंसो नै सल्ले¸ सेरीगाउं¸ पिपलनेटा लगायत विभिन्न नाकाबाट ठूलठूला जुलुश खलंगा बजार तिर आए । राताराता झन्डाहरु । सेरीगाउंको जुलुशमा अग्र भागमा थिए जनार्दन शर्मा । उनी नाच्दै¸ उफ्रिदै भाउन्नेचार गरिरहेका थिए । हाम्रो ध्यान उनैतिर गयो । उनी बराहाटाकुरामा सबैभन्दा धेरै र खतरनाक भाषण गर्नेमा दरिए । अरु पनि थिए । विभिन्न समयमा हुने कार्यक्रममा हुन्थे जीतबहादुर शाह¸ पहल पुन¸ गंगालाल ओली । यी सबै आदरणीय गुरुहरु । तर राजनीतिक प्रभाव उनै जनार्दनले पारे । लगातारजसो भइरहने यस्ता कार्यक्रममा जनार्दन पछि प्रभाव पार्ने व्यक्तित्व रुकुममा आए डा.बाबुराम भट्टराइ । उनलाई एशिया टप¸ बोर्ड टप के के न के के विभुषण दिइन्थ्यो । उनलाई हेर्न हामी उनका पछिपछि कुद्यौँ । साथमा थिए मणि थापा । मणिथापा सिर्जित फोक्ल्यान्डको टापुबाट गीत प्रख्यात । बाबुरामले भाषणमा केके भने केही बुझिएन तर उनको पढाइ लेखाइको अथाह प्रगतिको कथा सुनेको कारण तत्कालिन संयुक्त जनमोर्चाको राजनीति तिरै आकर्षित भइयो । यस्तै कार्यक्रम उतिखेर काँग्रेस वा मालेले गर्थ्यो भने त्यतैबाट प्रभावित होइन्थ्यो होला । उतिखेरै काँग्रेस भएको भए राम्रै हुनेथ्यो । अहिले पछुताएर के गर्नु ! अब जिन्दगीको उत्तरार्धमा जता गए पनि नगए पनि कुनै अर्थ छैन !
संगठनमा आवद्धता
अलग अलग डिकोमा लेख्ने अ.ने.रा.स्व.वि.यू. थियो शायद् त्यतिखेरको नाम । जिल्ला समिति र एरिया समिति मातहत टोल इकाइ समिति सोलाबाङ्गको अध्यक्ष । सांगठनिक आवद्धता संगठनको सबैभन्दा तल्लो इकाइबाट । इकाइ अध्यक्ष भएपछि क्रमश संगठनका गतिविधिमा संलग्न । टोल इकाइको कार्यालय थियो सोलाबाङ्ग जगत खडकाको घरमा । साथीहरु टोल भरिका सबै । कार्यालय झकिझकाउ ! भित्ताभरी गोरखापत्र टांसिएको । कार्यालय सचिव दोर्ण खड्का । मेरो सबैभन्दा नजिकका मिल्ने साथी । पछि उनको गाडी दुर्घटनामा निधन भयो । संगै ग्वाल जाने । संगै संगठनमा ।
महत भेला र गलत रिपोर्टिङ्ग
संगठनमा जोडिए पछि बढुवा भइयो । खलंगा¸ स्यालापाखा¸ भलाक्चा र साँख थियो शायद । पछि कता छिबाङ्ग पनि जोडियो कि ! यि ४।५ वटा गाविसबाट बनेको खलंगा एरियाको अध्यक्ष । क्याम्पसमा पनि भर्ना भएकोले मुसिकोट खलंगा क्याम्पस इकाइ अध्यक्ष । अब त बाटोमा पनि अध्यक्षज्यु भन्दै बोलाइने । लगभग दुइ कार्यकाल यी कमिटिमा । यी कमिटिको प्रतिनिधित्व गर्दै जनजागृति मावि महतमा आयोजित विद्यार्थी भेलामा सहभागी । खलंगा एरिया र क्याम्पसमा हाम्रो संगठनमा आवद्ध साथीहरुको यथार्थ अवस्था सुनाउंदा साथीहरुको टेडो आँखा । मैले त जे छ त्यही भनेको अहिले हामी संख्यात्मक रुपले अल्पमतमा छौँ भनेको । तर राजनीतिमा त्यस्तो रिपोर्टिङ्गलाई गलत बुझिदो रैछ । कमजोर भए पनि हामी नै शक्तिशाली छौँ भन्नुपर्दो रहेछ । नभए मात्रात्मक रुपमा नभए पनि गुणात्मक रुपमा हामी अगाडी छौँ भनेर भाषा मिलाउनु रहेछ । थाहा भएन । जस्तो छ त्यस्तै गरिएको रिपोर्टिङ्ग गलत मानियो । अचम्म लाग्यो ।
रुकुमकोट भेला र नाम फिर्ता
विद्यार्थीको जिल्ला भेला वा सम्मेलन पर्व जस्तै लाग्ने । उतै हिडियो । प्रमुख अतिथि तत्कालीन महासचिव शायद गंगा श्रेष्ठ हाल जसपा नेपालतिर । के.स.स. महेश्वर गहतराज । उतिखेर सबैभन्दा तिखो भाषण गर्ने गहतराज हाल बाँकेबाट प्रतिनिधि सभा सदस्य । अरु अन्य । उनैबाट प्यानल प्रस्ताव । भावी जिल्ला सम्मेलन आयोजक कमिटि । त्यो हलमा सहभागीमध्ये लगभग ४ औँ ५ औँ नम्वरमा सक्रिय र सदरमुकाम एरिया तथा क्याम्पस इकाइ अध्यक्ष क्रान्तिकारी केटो म । मेरै नाम आएन । किनकी राजनीतिमा त लाइन हुँदो रहेछ । के के रसायन गुट उपगुट मिल्नुपर्दो रहेछ । मेरो त न लाइन न रेखा । न धर्को न प्यानल । हलमा सहभागी धेरै साथीहरुले स्वतस्फुर्त रुपमा मेरो नाम थप्नुपर्ने प्रस्ताव गर्नुभयो । हलमा गडगड ताली सहित मेरो नाम अनुमोदन भयो । महेश्वर गहतराज र गंगा श्रेष्ठले मन्चको अलि पल्लो कुनातिर लिएर कानेखुशी गरे । तपाइलाई पछि विशेष जिम्मेवारी दिन्छौ अहिले नाम फिर्ता लिएँ भन्नोस । मलाई त के थाहा राजनीति ? मन्चमा आएँ । ल सबै साथीहरु मैले मेरो नाम फिर्ता लिएँ । साथीहरुले के सुने । मैले के भने । हल्लाखल्ला यस्तैमा । मेरो नाम फिर्ता । म पनि घरतिर फिर्ता ।
चौरजहारी भेला तथा सम्मेलन र फुसुफुसु निन्द्रामा
हेमन्त प्रकाश ओलीको भाषण । बाहिरबाट धुलो धुइरो र काठका टुक्रा फ्याँक्ने । हो हल्लालाई शान्त पार्न प्रमुख अतिथिको कासन । गर्मी थ्यो कि के थ्यो म त मेसमा आएर घुप्लुक्कै निदाएछु । राती झडप भो बाहिर भन्थे । भान्साबाट दाउरा कटाङ्गकुटुङ्ग पार्दै तानेको सुनियो । म त बर्को ओडेर भित्रै खुशुखुशु निन्द्रामा मस्त ।
खलंगा रुकुमको पहिलो वाइसिएल कमिटी
“सबै वाइसिएल पार्टी सदस्य नहुन सक्छन तर सबै पार्टी सदस्य वाइसिएल हुनैपर्छ” जगप्रसाद शर्मा हाल राष्ट्रिय सभा सदस्य । खलंगा एरियामा उनकै सहभागितामा पहिलो वाइसिएल कमिटी बन्यो तीन जनाको । वसन्त शर्मा¸ टोपजंग गहतराज र म । टोपजंग गहतराज पछि रोल्पा भिडन्तमा शहादत् । मुख्य मान्छे उनै वसन्त शर्मा । हामी सहयोगी । सदस्यता विस्तार गर्नको लागि पुग्यौँ भर्खर पि एन क्याम्पस पोखराबाट भिडन्तमा सामेल भएर चर्चित गोविन्द रोका । अर्थात हालका वरिष्ठ सन्चारकर्मी सचिन रोका । उहाँको घरसम्मै पुगियो । उहाँका आमावुवा र सानी बहिनीहरु हुनुहुन्थ्यो । कुराकानी र भलाकुसारी भयो । उहाँ पहिल्यै राजनीतिमा होलटाइमर रुपमा आवद्ध हुने सोँचमा । उहाँका बुवा पनि पार्टी सदस्य । त्यसपछि गोविन्द रोका विज्ञान नामले परिचित हुनु भो । र उहाँसंग धेरै सहकार्य भो । उहाँ धेरैपटक हाम्रो घरमा आउनु भएको छ । कागमारे भन्ने घाँस काट्ने पाखामा पुगेर ठूलाठूला घाँसका भारी पनि हामीले संगसंगै ओसारेका छौँ ।
दौलत घर्तीको प्रशिक्षण
वाइसिएलमा आवद्ध भएपछि अलि आन्तरिक कार्यक्रममा जान थालियो । जनयुद्धको पुर्व सन्ध्यामा भुरुङ्गा स्यालापाखामा प्रशिक्षण थियो । रातको निष्पट्ट अन्धकार । टर्च र सलाई समेत प्रयोग गर्न नपाइने । आफ्नै आँखाको उज्यालो जता खुट्टा उतै बाटो । अघिल्लोलाई पछ्याउंदै घिर्सिदै । हिड्दा त महिला पुरुषको कुनै विभेद थिएन । रातमा सुत्ने गोठमा एकापट्टी महिला र अर्कोपट्टी पुरुष अनि वीचमा उनै दौलत घर्ती साँधीको रुपमा सुतेको याद छ । अब छिट्टै युद्ध शुरु हुदैछ । हाम्रो आक्रमण सामन्तवाद र दलाल पुजीवादका एजेन्टमाथि एकैपटक हुदैछ । त्यसमा तपाइ हाम्रो भूमिका यस्तो यस्तो हुनेछ । उहाँको रातभरको प्रशिक्षणको सार सुनियो । छनौट भएका साथीहरु घँघारुको लठ्ठी¸ भएसम्म खुकुरी¸ केही मिटर डोरी लिएर निर्धारित स्थानमा आउने ।
जिपु पिपलतिरको भेला
के कार्यक्रम हो । के हो । खासै जानकारी नहुने । राति हिड्यो एकठाउं । सम्पर्क अर्कै ठाउं । कार्यक्रम अर्कै ठाउं । शायद जिपु पिपल यस्तै नाम सुनेको । ठूलो लावालश्कर हिड्यो अघि । जंगलको वीचमा ठूलो गोठ । माक्सदेखि माओसम्मका फोटा । पेट्रोल म्याक्स र लालटीनको उज्यालो । भरिभराउ हल । केही क्षणपछि भित्रिनु भो । उनै हेमन्तप्रकाश ओली¸ दौलत घर्ती¸ श्याम बोहरा आदिआदि । अरु नचिनेका धेरै । भित्र पस्दा नपस्दै लालसलामका दरिला मुठ्ठी र करापकुरुप हात । उहिलेका कम्निष्ट जसले जति धेरै हात कस्काउन सक्यो उति धेरै क्रान्तिकारी जस्तो ! कोहीले वीचबाट करायो “लाइट¸ लाइट¸ लाइट ।” झपाझप हात कस्न कस्सिएकाहरु कहाँ सुन्थे र ! निरालमा झुन्डिएको पेट्रोलम्याक्समा कसैको टाउको ठ्याक्क ठोक्कियो । धरररर रगत ! केही अशुभ भएजस्तो लाग्यो । तर भौतिकवादीलाई त्यसले छुएन । कार्यक्रम दुइ दिन चल्यो । प्रशिक्षण धुवाँदार भयो । हेमन्त प्रकाशको दार्शनिक कुरा केही जिज्ञासा पनि राखियो । अलिअलि पढ्ने भइसकेको थिएँ । पेरु र उत्तरकोरियाको बारेमा नेताज्यूको प्रशिक्षण सही भएन सम्म भनियो । तर लटरपटर जवाफ । वीचवीचमा कथा¸ कविताको लागि साथीहरुले धेरैपटक उठाउनु भो । हेमन्तप्रकाश ओली मेरा उतिखेरका कविता चुड्किलाले पेट मिचीमिची उफ्री उफ्री हाँसेको अहिले पनि झल्को आउंछ मेमोरीमा । कार्यक्रमभरी सेक्युरिटी पनि आलोपालो हुन्थ्यो । उनै दौलतले खटन पटन गर्थे । हामीलाई झपकझपक निन्द्रा लाग्ने । उनी सदावहार खटनपटनमा अचम्म लाग्थ्यो उनको ज्यान र व्यस्तता देखेर ।
समापन अत्यन्तै भावुक । कसैले मन्चमै दौलत घर्तीलाई बन्दुक उपहार दिँदै । दौलत घर्ती बन्दुक समाएर बोल्न खोजे । गला अवरुद्ध । फेरि बोल्न खोजे । सकेनन । आँखाबाट बलिन्द्रधारा आँशुको भेल छुट्यो । “यो बन्दुक यो बन्दुक” भन्दै फेरि छातीमा मुठ्ठी लिएर कम्पायमान हुन थाले । सिङ्गो हलमा अचम्म खालको सन्नाटा छायो । सबै सुक्कसुक्क गर्न थाले । हामी त भर्खर भर्खरका सबै कुरा बुझिरहेका थिएनौ । अन्तमा दौलतकै मुख खुल्यो । “यो बन्दुक सत्रुको लागि प्रहार र मित्रको लागि उपहार । अव यो बन्दुकले साम्यवाद र कम्युनिष्ट सत्ता नआउन्जेल विश्राम लिने छैन ।” तर अहिले अपवाद समाजवाद साम्यवादले बाटो बिराउंदै व्यक्तिवादमा रुपान्तरण । शुरुवाती बन्दुक समाउने दौलतहरुको शहादत् । हेमन्तप्रकाशहरु जेलमा । श्यामबहादुर बोहराहरु फेसबुक स्टाटसमा । रुपैया पैंसा देखेर कहिल्यै नअघाउने । धनपैसा भन्दा ७ दिन अघि जन्मिएका नवधनाढ्य कमरेटहरुको हातमा पार्टी । पैसा र अवसरको लागि जे पनि गर्न तम्तयार अवसरवादी बज्रस्वाँठहरुको बोलवाला ।
सामग्री बोकेर पिपल रुकुमकोट
पार्टी कार्यालयबाट केही सामान र चिठ्ठी पत्र लिएर जानु पर्ने । तत्कालिन जिल्ला पार्टीको आदेश । साथमा खगेन्द्र केसी । दुइजना गाराघाट हुदै जिपु पिपल कताहो कलबहादुर नाथको घरसम्म पुग्नुपर्ने । लुरुलुरु जाँदै थियौँ । वीचबाटोमा कतै हालका राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले आफै कुनै कार्यक्रमको माइकिङ्ग गर्दै । हामी उनै कलबहादुरको घरमा पुग्यौँ । मेरो त खासै चिनजान थिएन । उनै खगेन्द्रले कुराकानी गरे । बुझाउने चिज बुझाए । तावाभरीका ठूलाठूला रोटी हसुरेर रुकुमकोट तिर उक्लियौँ । रुकुमकोट एउटा ठूलो पसल । दिनमा लाखौँको व्यापार हुने । उनकै पसलमा पुग्यौँ । के हो त्यो बुझाउने बुझाएर हामी फर्कियौँ खलंगातिर ।
भोकले लखतरान र चुथ्राका पात
विहान खलंगाबाट हिडी । जिपु पिपल हुदै रुकुमकोट पुगी सांझ खलंगा पुग्ने लक्ष्य । न गोजीमा दाम । न बाटोमा केही खाने माम । भोकले भकुर्नुसम्म भकुर्यो । चुथेर्नुसम्म चुथेर्यो । पाइला अघि बढ्नै सकेनन । कलबहादुरका तावाभरीका रोटा उतै रुकुमकोट उकालोमा हजम । चुथ्राका हरिया पात र कसैले बाटोमा खसाएका काचो मेवाका टुक्रा समेत खाइयो । साँझ खलंगा पुग्दा लखतरान ।
टाइफाइड ज्वरो र छुटेको यात्रा
भुरुङ्गाको प्रशिक्षणमा तय भए अनुसार रुकुमकोटबाट फर्केको केही दिनमै कतै पुग्नुथियो सम्पर्कमा । जनयुद्ध शुरुवातको प्रारम्भिक चरण । अहिलेजस्तो सुझबुझ थिएन । हामीलाई त रमाइलो नै रमाइलो । जता बोलायो उतै कुद्ने । झोला¸ लत्ताकपडा सबै ठाकठुक पारीयो । तर ज्वरोले लखतरान । जन्मघरमा ओटापट्टी थियो सानो खाट । त्यसमै पल्टिएको । ठूलठूला लठ्ठी र झोला बोकेर आउनुभो उनै विज्ञानहरु । मलाई बोलाउनु भो । “होहो जाने हो ।” म जराक जुरुक उठ्न खोजेँ । तर भुइमै गर्ल्याम्मै । “अहो यिनी त विरामी भएर यस्तो भएछन । यी जान सक्दैनन ।” उहाँहरु अगाडी बढ्नु भो । म खाटमै लखतरान ।
होलटाइमर झोला र सानीभेरी ठुलीभेरीको एक फन्को
राजनीतिको रस त चढिसकेको थियो । खोज्दै हिड्नुपर्ने । जताजता कार्यक्रम उतै कुद्ने । तर कुनै खास योजना थिएन । पार्टीको सबैभन्दा सशक्त र चलायमान संगठन विद्यार्थी नै थियो । वाइसिएल पनि खासै थिएन त्यतिखेर । बरु शिक्षक संगठन थियो शक्तिशाली । संगठनको काम पनि गर्ने तर आलोचना र आफुलाई लागेको कुरा पनि जोडदार रुपमा राख्ने । केही समय यस्तैमा वित्यो । जनसेवा¸ श्रमसिविरको नाममा घेत्मा¸ आठविसकोट¸ आठविसडांडागाउं¸ झुला¸ मग्मा जस्ता विभिन्न स्थानका विभिन्न कार्यक्रममा हिडियो । कतै भाषण ठोकियो । कतै गैँती र कोदालो बोकियो । गाउंगाउंमा हुने प्रशिक्षणमा सबैभन्दा फटाहा छ भने त्यो घरमा मलाई नै पठाइन्थ्यो । कतैका फटाहा लापत्ता हुन्थे भने कतैकाले मिठो मसिनो ख्वाएर मख्ख पनि पार्थे ।
चिठ्ठी कान्ड र मस्यौदाकार
खलंगा एरियामा प्रख्यात चिठ्ठी कान्ड । धेरैजसो चिठ्ठीको मस्यौदाकार । भाषा शैली मिलाउने । तर्साउने खालको व्यहोरा बनाउनु थियो उतिखेर । २।३ दिनमा सम्बन्धितको हातमा पुग्थ्यो कुनै माध्यमबाट । अनि तरङ्ग प्रवाह । विरोधी राजनीतिक लाइनलाई तर्साउने माध्यम । एकदिन अचम्म भो । जुन चिठ्ठीको मस्यौदाकार थिएँ म । त्यही चिठ्ठी बोकेर एकजना आएर मलाई नै भन्नुभो । “ल हजुर तपाइको सम्पर्क छ कि कतै जसरी हुन्छ कुरा मिलाइदिनु पर्यो । भेट गराइदिनु पर्यो ।” अब भो फसाद । मलाई भो हाँस्नु र रुनु । अहिले सम्झँदा झ्याउ लाग्छ उतिखेरका कुरा ।
लुकिछिपी भुमिगत गतिविधि
खलंगा एरिया । श्वेत इलाका । प्रहरीमा टार्जेटेड गुप्त लिष्टमा माथिल्लै लहरमा नाम । अन्य साथीहरु पनि थिए । रातीराती हिड्ने दिउंसो सुत्ने । टर्च नबाल्ने । खोके पनि आवाज दवाएरै खोक्ने । कता कसको बुइगलमा बसियो । आफैलाई थाहापत्तो नहुने । घुम्दै फिर्दै कताबाट कता कताबाट कता । बुइगलमा बोतल जर्किनमा पिसाव फेर्नुपर्ने वाध्यता । अचम्मको जिन्दगी । यता घरमा “उ त मर्यो” भन्दा रैछन मैलाई । खोज्न पनि गएछन सानीभेरी किनारतिर । कोही मरेको रैछ । सानीभेरी नदीमा डुबेर । रातो कट्टु लाएको । किनारामा पल्टिएको । उही बैरागी पो हो कि भनेर सोधखोज । तर म कहाँ त्यसरी मर्नु ?! करीब दुई महिनाको भुमिगत जीवन ! घुम्दै फिर्दै भलाक्चासम्म आइयो ।
अरु संगैका साथी कता लागे कता । कोही शहादत् । कोही वेपत्ता । कोही उहिले मन्त्रीसम्म हुनुहुन्छ । ठुल्ठूला जिम्मेवारीमा हुनुहुन्छ । व्यवस्थित संगठन थिएन । केही महिने अभियान सक्यो । घरमा आयो । फेरि गयो । यस्तैमा चुनबाङ्ग चौखाबाङ्ग लाखरखोला कहाँकहाँ नचिनेका ठाउँ¸ मष्ट बिष्टको घर¸ पुर्ण घर्तीको प्रक्षिक्षण कताकता घुम्दै फिर्दै मर्यो भनेको मान्छे झुलुक्क ! ९० बर्ष माथिकी बज्यै हुनुहुन्थ्यो घरमा । बरु उहाँ बित्तुभएको रहेछ घरमा आउंदा ।
इन्डिया भारत सुँइकुच्चा टाप
पुलीसको लिष्ट । सदरमुकाम मुनी । पार्टी कता संगठन कता । उनै नेतावालाले भन्थे युद्धको नियम अस्तव्यस्त हुन्छ । सम्पर्क विहीन हुन्छ । फेरि जोडिन्छ । फेरि उठ्छ । तर के गर्नु । अन्तजस्तो सुविस्ता खलंगा आसपास थिएन । ठूला नेता अन्तै कता । नाम चलेका दारी बाहरुका आफ्नै सुरक्षा कवज । तनावमा किन बस्ने । २।४ हजार गाडी भाडा जुटाइयो । बोर्डर क्रस । २ महिना समुन्द्री किनाराका होटलमा भाँडा खुल्किने । कुल्लीको रुपमा खङ्ग्रिने पेशामा व्यस्त । कहाँ मन मान्नु । संगै लिएका केही थान किताब । २।४ पाना पढ्नेवित्तिकै लोन्डा निजामुद्धिम दिल्लीहुँदै नेपाल फिर्ता ।
काठमान्डौ प्रस्थान
मन त वरालिएकै थियो । घरमा आइयो । पार्टी कार्यालय संगठन सबैतिर सम्पर्क पनि भयो । तर नियमित काम त के थियो र ? भागाभाग त हो ! के हुन्छ भन्ने के थाहा रुकुमतिर । हेमन्तप्रकाशहरुसंग पनि कार्यकर्ता परिचालनमा कुनै ठोस योजना नभएको । केन्द्रिय कार्यक्रम के हो बुझ्नुपर्छ भन्ने अवस्था । घरतिर पनि त्यस्तै । “तँ यहाँ बसिस भने हाम्लाई पनि समस्या तँलाई पनि समस्या बरु जा काठमान्डौ ।” आमाले ऋण काडेर १० हजार रुपियाको जोहो गरी काठमान्डौ पठाउनु भो ।
आइएको ब्याग पेपरको जाँच दिएको । शितलपाटीसम्म पैदल यात्रा । शितलपाटीबाट नाइट बसमा सवार । बसमा ३।४ जना ट्यापे केटाहरुले रक्सी खाएर बहुत् हल्ला गरे । बोल्नु नबोल्नु बोल्न थाले । मेरो पालो उतिखेरकै क्रान्तिकारी । “ए फटाहाहरु किन हल्ला गरेको छिनालिदिउँ खुकुरीले कि चुप लाग्छौ” मुखबाट यो शब्द निस्किएको पत्तै भएन । दादा हुँ भन्ने केटाहरु रातभरी चुपचाप !
भोलिपल्ट बिहान काठमान्डौ । काठमान्डौँ आएपछि नै आइएको रिजल्ट प्रकाशन । रिजल्ट प्रकाशन भयो साँझीपल्ट । हेर्नुथियो बिहानै । मनको खुल्दुली । उतिखेर अहिलेको जस्तो अनलाइनमा हुदैनथ्यो । बल्खुमा त्रिवि पनिका बनेको थिएन । रिजल्ट दुईठाउँ टाँसिन्थ्यो । एक त्रिवि जमलको पुरानो हलको सुचना पाटी । अर्को सिंहदरवार नजिकैको राष्ट्रिय समाचार समितिको सुचना पाटीमा । रातभरी हिडेर जमल पुगियो । टर्च लाइट पनि थिएन । सलाईको काँटी झ्वारर पार्दै हेर्दै गरीयो । आइएमा लागेको एउटा ब्याग पेपर पास । खुशी लाग्यो । बिहानको उंज्यालो पनि भो ।
राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा डिप्लोमा भर्ना । सबै स्कोलरसिपमा पढ्न आएका कर्मचारी । रुकुमबाट एउटा लवस्तरो म । “किन पढ्ने कम्प्युटर ? के तपाइ जागिरीमा हो र ? नत्र कम्प्युटर सिकेर के काम !?” साथीहरुको प्रश्न यस्तो हुन्थ्यो । हुन पनि हो । कम्प्युटर तालिमको के काम ? जव कि कहिँ कतै कम्प्युटर छैनन । मुश्किलले मन्त्रालयका सचिवसम्मको कोठामा आक्कलझुक्कल एक वटा डेस्कटप । टाइपराइटरको जमाना । बरु त्यो सिक्नोस । सुझाव यस्तो हुन्थ्यो साथीहरुको । तर मेरो वाध्यता त अर्कै थियो । ज्यान जोगाउन यतै भुल्नुपर्ने ।
विधुत प्राधिकरणको जागिरी
माइलादाइले पनि विएड पढ्ने सानोठिमी क्याम्पसमा । उहाँको एकजना दङ्गाली साथी सालिकराम आचार्य । साथीका पनि साथी दाङ्गकै बुद्ध रेग्मी । विधुत प्राधिकरणमा कार्यरत । कुरैकुरामा भनेछन् “अफिसमा कम्प्युटर ल्याए तर विमला प्रधान टाइपराइटरले चलाउन जानिनन ।” हाम्रा माइला दाइको फ्याट्टै बोल्ने बानी । “ए त्यो कम्प्युटर त हाम्रा कान्छाले चलाउँछ ।” कान्छाको खोजी भो । कान्छोले कि वोर्डमा भर्खर हात राखेको । सिकाउने dbase, c++¸ oracle language काम गर्ने नेपाली र अंग्रेजी चिठ्ठीपत्र टाइप । भोलि बोलावट भो । रातभरी उफ्रि उफ्रि किबोर्डमा नेपाली अक्षर स्थान कन्ठस्थ । भोलिपल्ट प्राक्टिकल । नेपाली अक्षर जतिपटक हान्नु “बि बि बि बि ।” अरु मरी गए आउदैन । मुश्किलले “बिनाराम” शब्द टाइप । ६ महिने परिक्षणकाल । रातदिन नभनी काम गरियो । गाउंको सोझो खुप्पै मन पराएछन । खुरुखुरु काम गर्ने । म्याद थपेका थप्यै । हुँदा हुँदै उतै स्थायी भइएछ । काठमान्डौंको जागिरीमा ५ बर्ष वितेको पत्तै नई ।
कम्प्युटर सहायकको कार्ड र प्रयोग विहीन टाइम बम
जागिरी एकातिर पढाइ अर्कोतिर । राजनीतिक चासो झन अन्तै कतै । माओवादी सम्बद्ध सबै पत्रपत्रिकाको गहन अध्यनन । विस्फोट हुने विचारहरु र कम्प्युटर अपरेटरको जागिरी । ठाउं ठाउं चेकिङ घाँटीमा कर्मचारीको कार्ड । भक्तपुरमै विद्यार्थी संगठन¸ बुद्धिजिवी संगठन¸ पत्रिकाको सम्वाददाता हुदै विभिन्न नाममा लेख रचनाहरु । जनादेश¸ प्रकाश¸ जनआस्था¸ महिमा¸ मूल्याङ्कन लगायतका पत्रपत्रिकामा विभिन्न नामबाट लेख रचनाहरु प्रकाशन । विशेषगरी राजनीतिक लेख प्रभाकरण¸ महिला हक हितसम्बन्धी लेख अस्मिता विद्रोही र अन्य लेखहरु बि.आर.बिद्रोही¸ बि.आर.खड्का¸ रामदीप खड्का लगायतका नामबाट । एउटा पत्रिकामा एउटा नाम अर्को पत्रिकामा अर्कै नाम । रातभरी लेख्ने । बिहान सुन्धारा पोष्ट बक्समा खुत्रुक्कै खसाउने । दिनहरु बर्षहरु त्यस्तैमा विते । उतिखेर उपत्यकाको सबैभन्दा भताभुङ्ग भक्तपुर जिल्ला कमिटिले विभिन्न जिम्मेवारी तोक्ने । त्यत्तिकै हराउने । कोही साथीहरु यतै जिल्लातिर आएर जोडिनु भो भने कोही उतैतिर । अर्वान गुरील्लाको लागि प्राविधिक तालिममा पनि सामेल भइयो । पेट्रोल बम¸ टाइम बम बनाउन पनि सिकियो । तर प्रयोगविहीन ।
निजामती सेवामा प्रवेश र दलीय राजनीतिबाट टाढा
दशैको समयमा घर जानुपर्ने । पत्रपत्रिकाको अध्ययन दरै थियो । लोकसेवा लोकसेवा भन्ने सुनेको । खासै चासो थिएन । उहिले त जोगी वैरागी सोँच भएको मान्छ । के काम जागिरीको भन्ने लाग्थ्यो । विवाहवन्धनमा बाँधिएपछि घरपायक जागिरी खानुपर्ने रैछ भन्ने सल्लाह भो बुढाबुढीको । आवश्यकता पनि खट्क्यो । चेतना विस्तार पनि भो । भिनाज्युले लोकसेवा पढ्ने हो भने यो पढ्नु पर्छ भनेर दुइहातले धौधौ उचाल्ने खालको ज्ञानेश्वर भट्टराइको “सामान्य ज्ञान” को बडेमानको किताब किन्नु भो । म त्यो देखेर तर्सिए । उपाय केही थिएन । विएड पढेको शिक्षाका कुरा अलिअलि थाहा भैहाल्छ । सामान्य ज्ञान हुदैन । विनि पढौँ । कसैले उल्का लायो । हेरौँ न त भनेर हल्का शुरु गरेको । शिक्षा सेवाको प्रास खुल्यो । उतैबाट घर जाने भरौँ फारम भनेर हुलाकबाट सर्टिफिकेट पठाइयो सुर्खेत । बलभद्र भारती पुराना साथी । उहाँको म्याडमले भर्दिनु भएछ । घर बाटोमा परेकोले लिखित दिइयो । झुलुक्क नाम । अन्तर्वार्ता दिनै पर्यो । फ्याट्टै नियुक्तिको लागि सिफारिस । अब भो फसाद । संस्थानको जागिरीको भर हुन्न । घाटामा गयो भने विघटन हुनसक्छ । नेपाल सरकार निजामती सेवाकै नाम्रो । पाँच बर्ष काम गरेको विद्युत प्राधिकरबाट राजीनामा । जिशिका हुम्ला पोष्टीङ्ग । राजनीतिबाट केही समय पुर्ण रुपमा मुक्त । चिसो मौसम । फोन नहुने जमाना । आवा र पत्रबाटै खबर आदानप्रदान । घर आउन र जानकै टेन्सन ।
रुकुम सरुवा र कर्मचारी संगठन
एक बर्ष उता बसेपछि जिशिका रुकुम सरुवा । जनआन्दोलन । लोकतन्त्र । २०६२।०६३ । धेरै भन्नै परेन । पेसागत संगसंगठनहरुको उमराहट । जिल्ला भेलाबाट संस्थापक उपाध्यक्ष । यता कर्मचारी संगठनको माध्यमबाट पुन पार्टीमा आवद्ध । पार्टीमा जोडिए पनि आफ्ना कुरा राख्न छोडिएन । आलोचनात्मक चेतलाई दब्न दिइएन । त्यसैले कतिले मन पराए कतिले पराएनन । केही सन्तुष्टी केही असन्तुष्टी । हुदाहुदै कर्मचारी संगठनकै जिल्ला अध्यक्ष¸ मगरात राज्य कमिटी सदस्य¸ संयोजक हुदै राष्ट्रिय¸ केन्द्रिय समिति र केन्द्रिय सचिवालयसम्मै पुगिएछ । झल्याँस्स भएँ । अब धेरै माथि पुग्न थालेपछि फेरि याद आयो । पुराना राजनीतिक संस्मरणहरुका । कतै यो राजनीतिमा मजस्तो लाटो मान्छ पुरै पैतलादेखि टुप्पीसम्मै समर्पित हुनु ठीक होला त !? मनले भित्रभित्रै मानिरहेको थिएन । अब फुत्किनुपर्छ । म राजनीति गर्ने स्वभाव र चरित्रको मान्ठ होइन । मेरो पेशा राजनीति पनि होइन । समाजसेवामा फिट हुने कार्यशैली पनि छैन ।
असन्तुष्टिहरुको विजारोपन र संगठनबाट उन्मुक्ति
जिल्लामा पनि अध्यक्ष अनि केन्द्रमा पनि प्रतिनिधित्व । के भन्लान साथीहरुले ? यस्तै यस्तै मनमा तरङ्गहरु उठिरहेका थिए । नेपाली कांग्रेसको सरकार शिक्षा मन्त्री चित्रलेखा यादव । माओवादी सरकारमा नभए पनि शिक्षामा सरुवा आदि इत्यादिमा माओवादी कर्मचारी संगठनको सल्लाह परामर्श बिग्थ्यो । संगठनमा आवद्ध साथीहरुको हक हितको लागि लड्ने नेतृत्व भनेको मेरो आफ्नै सरुवा सल्यान¸ दाङ्ग¸ प्युठान तीन जिल्लामा रिक्त हुँदाहुँदै फनक्क घुमाएर रोल्पा । त्यो त सरासर राजनीतिक पक्षपात र पुर्वाग्रह नै थियो । नत्र रुकुममा खाली राखेर¸ सल्यानमा ३ पद रिक्त हुँदाहुँदै सुइइइया रोल्पा किन हुत्याइन्थ्यो र !
जति सामुहिक स्वार्थ र हकहित भनेपनि आफ्नो व्यक्तिगत कारण र भावानुभुती पनि कहीँ न कहीँ त जोडिने नै भयो । हल्का असन्तुष्टीको शुरुवात र फुत्किने उपायको विजारोपन । यसले संगठन सिद्ध्यायो भन्ने आरोपबाट बच्ने उपयुक्त उपायको खोजीमै जिल्ला सम्मेलन सम्पन्न गरियो । भव्य रुपमा सम्पन्न उक्त सम्मेलनबाट जिल्लाको नेतृत्व तेजबहादुर खत्रीहरुको नेतृत्वमा हस्तान्तरण । अनि बल्ल बाटो खुल्यो । किनकी केन्द्रीय कमिटीबाट त जतिखेर फुत्के पनि भो । ति संग न भेट हुन्छ । न कुनै सम्पर्क नै ।
अनि आधिकारीक ट्रेड यूनियनको चुनाव हुदै थियो । दुइटा अत्तो थापियो । “जिल्लामा हामी यसरी ने.रा.क.स.मा खट्ने तर पार्टीकै सरकार हुँदा समेत हाम्रै साथीहरु पेलानमा पर्ने !? यसको जिम्मा प्रभाकरले लिनुपर्छ ! नत्र संगठन चुनावमा सरिक हुँदैन !” अगाडिको मुख्य हट सिटबाट यति कुरा राखेपछि साथीहरु सबै तरङ्गित । किनकी मर्का परेको त सबैलाई थियो । पछि केही हेरफेर भयो होला । म निस्किसकेपछि कैयन साथीहरुलाई पार्टी संगठनले सहयोग पनि गर्यो । तर त्यतिन्जेल त यता संगठनमा काम गर्ने एउटा उता काम अर्कै हुन्थ्यो । त्यतिन्जेल त जिल्लामा क्रियाशिल कोही कसैले पनि न्याय र निष्पक्षताको अनुभुती गरेको अवस्था थिएन । अनि तत्कालिन पार्टी सेक्रेटरी रामसुर विरताले “कमान्डरले ने यसो भनेपछि त खतम हुने भो” भन्दै उठ्नु भो । सन्देश कताकता पुग्यो । भोलिपल्टै गोपाल शर्मा अनल आएर कर्मचारी संगठनको लगाम कन्ट्रोल गरिसकेपछि राजीखुशीले कर्मचारी संगठनबाट विदावारी ।
वीचमा जोडिएका केही प्रसंगहरु
एकोहोरो स्वभावको मानिसले राजनीति गर्न सकिदैन । राजनीति गर्ने कुनै चाहना र ईच्छा पनि छैन । गर्ने भए उहिल्यै किन छोडिंदो हो र ! म क्याम्पस इकाइको अध्यक्ष हुँदाताक क्याम्पस इकाइको कोषाध्यक्ष विमला केसी अहिले कर्णाली प्रदेश सरकारको चल्तापुर्जा मन्त्रीजी हुनुहुन्छ । मसंगैका कैयन साथीहरु अहिले पनि राष्ट्रिय सभा¸ विघटित प्रतिनिधि सभा¸ प्रदेश लगायतका विभिन्न क्षेत्रमा क्रियाशील हुनुहुन्छ । खलंगातिर संगै खाटमा पल्टेका दलजीत शिर्पालीले संघिय सरकारकै मन्त्री पनि पड्काइसक्नु भाछ ! संगै पढ्नु भएका तेजबहादुर ओली¸ महेश्वर गहतराजहरु प्रदेश¸ संघमा हुनुहुन्छ । म यत्रो बर्ष जागिरीमा झुलेर फेरि राजनीतिमा जोडिएर के गर्ने !? गर्नु पनि के छ नेपालको राजनीतिमा ? उहाँहरुले नगरेको¸ गर्न नसकेको म गएर छुट्टै के गर्नु छ र !? उहाँहरु लगायत र अन्य दल र पार्टीमा क्रियाशिल राजनीतिकर्मीहरुलाई नै गर्न दिउँ राजनीति !
तर सचेत नागरिक र स्वतन्त्र पेशाकर्मीको रुपमा नजिकबाट राजनीतिप्रति चासो त हुने नै भयो ! कहिलेकाहीँ क्रिया बराबर प्रतिक्रियाको लागि कतै आवद्ध हुनुपर्ने वाध्यता पनि आउंछ ! मान्छलाई पेलेको पेलेइ ! हेपेको हेपेइ ! विभेद र अन्याय गरेको गरेर गरेपछि त ज्युँदो मान्छको रुपमा प्रतिक्रिया व्यक्त गर्नुपर्ने हुन्छ ! ‘राजनीति गर्दैन गर्दैन गर्दैन’ भन्दाभन्दै राजनीतिमा आवद्ध हुनुपर्ने विवशता पनि आइपर्छ कहिलेकाहीँ !
परिस्थितिले माग गरे अनुसार राजनीति गरे पनि । माग नगरे अनुसार राजनीति नगरेपनि । चिन्तन मनन र अध्ययन अनुसन्धानका विषयको छलफलबाट भने कहिल्यै विमुख हुन सकिदैन । वर्तमान राजनीतिक प्रणालीमा केही न केही खराबी र संसोधनीय पक्ष भएकै कारण यसले असफलता बेहोरीरहेको छ । वस्तु¸ चेतना र समाजको विकास¸ राजनैतिक¸ दार्शनिक¸ सैद्धान्तिक तथा व्यावहारिक व्याख्याकै सेरोफेरोमा अध्ययनका श्रृङ्खला केन्द्रित छन् । यिनै श्रृङ्खलाहरुले कहिले टुटेका सम्बन्ध जोड्छन् । कहिले जोडिएका सम्बन्ध टुटाउंछन् । अध्ययनको विधा आफ्नो ठाउंमा हुदाहुदै भावनात्मक र मनोगत कारणले पनि सम्बन्धहरु तलमाथि हुने गर्छन । कहिलेकाहीँ “हुन्न हुन्न हुन्न” भन्दाभन्दै पनि “हुन्छ त” भन्नुपर्ने स्थिति पनि आउने गर्छ । ….? क्रमश:….