भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ । हिमनदी फुटेर आएको बाढीमा परि ज्यान गुमाएका कम्तीमा सातजनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन्। अझै पनि पनि झण्डै १२५ जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गरि समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको इन्डियन एक्सप्रेसले जनाएको छ।
तपोवनको ९०० मिटर लामो सुरुङ्गमा उद्धारकार्य आइतबार रातभर पनि जारी रहेको उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बताएका छन् । राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् । उद्धारमा भारतीय सेना पनि सामेल छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            