काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तीपथस्थित आयोगको कार्यालय जाने नेता सुवास नेम्वाङले जानकारी दिए।
निर्वाचनको तयारीबारे आवश्यक कुराहरु बुझ्न प्रधानमन्त्री आयोग जान लागेको उनले बताए। तर प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ।
प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगमा नेकपाको आधिकारिकता दाबी गरेमा नेकपा विभाजनले ‘औपचारिकता’ प्राप्त गर्ने छ। नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेको छ। तर ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव रहेको पक्ष नै आधिकारिक हुने दाबी गरिरहको छ।
प्रधानमन्त्री ओलीले आफ्नो घरलाई मेरो हो भनेर कतै निवेदन दिन नपर्ने बताउँदै आएका छन्। विवाद समाधानका लागि आयोगले अध्ययन गरिरहेका बेला प्रधानमन्त्री आफै निर्वाचन आयोग जान लागेका हुन्।


 
					
							 
			 
                             
                             
                             
                             
                            