स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा क्याटलान प्रहरीले छापा मारेर चारजनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धानलाई लिएर प्रहरीले सोमबार बार्सिलोनाको कार्यालयमा छापा मारेको हो ।
पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन । सन् २०२० मा भएको ‘बार्सागेट’ स्क्याण्डलसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
बार्सिलोनामाथि आफै खेलाडीलाई सामाजिक सञ्जालमा निशाना बनाउन फर्मलाई जिम्मा दिएको आरोप थियो । सो आरोप बार्सिलोनाले अस्वीकार गरेको थियो । बार्सिलोनाको अध्यक्षका लागि आइतबार चुनाव भएको थियो ।
गएको अक्टोबरमा जोसेप मारिया बार्तोमेउले राजीनामाको घोषणा गरेपछि चुनाव भएको हो । पक्राउ पर्नेमा बार्तोमेउ समेत रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । तर प्रहरीले त्यसको पुष्टि गरेको छैन ।