आज २२ औँ यदु स्मृति दिवस । कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेतालाई अर्का कम्युनिष्टहरुले लखेटी लखेटी घाँटि रेटेर हत्या गरेको दिन । तत्कालीन रुकुम एमालेका नेता कार्यकर्ताहरुलाई हरेक पटक चुनाव आउँदा मारिने चिन्ता रहिरहन्छ । किनकी, चुनावकै मुखमा जनताबिच लोकप्रिय बन्दै गएका यदु गौतमलाई तत्कालीन माओबादीले हत्या गरेका थियो ।
निडर, प्रभावशाली तथा जनप्रिय नेता यदुको हत्याको लागि आफ्नै पार्टीका केही नेता कार्यकर्ताको गलत संगत र सूचना चुहाउने खेलबाट भएको खुल्न आएको छ । तत्कालीन एमाले रुकुमका जिल्ला सचिव रहेका यदु गौतमको हत्या आफ्नै भनिएकाहरुले घात गरेका कारण पनि भएको बताइन्छ । जिल्लाका प्रभावशाली तथा जनप्रिय नेता यदुको हत्या २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाविस वडा नं. ७ मा भएको थियो । यदु २०५६ सालको आम निर्वाचनको लागि रुकुम क्षेत्र न.ं २ बाट उमेद्वार रहेका थिए ।
केही कार्यकर्ताको साथमा हिँडेका यदुलाई रिम्ना नजिकको एक खोलामा खुकुरी प्रहार गरियो । त्यतिबेला यदुको साथमा रहेका तीन जना एमाले कार्यकर्ता थिए, जसले आन्तरिक रुपमा माओवादीको लागि सहयोगी भूमिका बोकेका रहेछन् ।
जानकारी अनुसार हस्तबहादुर के.सी. नेकपा एमालेको सचिव थिए भने यदु उप–सचिव । यदुको कार्यशैली, जनताप्रतिको इमानदारिता, विचारले गर्दा जनताका विश्वासपात्र थिए । एमाले सरकारमा हुँदा पोलिटब्युरो सदस्य प्रेमसिंह धामीको नेतृत्वमा एक आयोग बनाइएको थियो । जसले देशभर काँग्रेस, एमाले र त्यतिखेरको संयुक्त जनमोर्चाको शक्तिसन्तुलनका लागि एक फाराम भर्ने काम सञ्चालन गरेको थियो । सोही धामी आयोगको फाराम बोकी यदु जनतामाझ हिँडेका थिए । जिल्ला कमिटिलाई नै फाराम भर्ने माथीको आदेशपछि काँगे्रस, एमाले र जनमोर्चा प्रति जनताको धारणा संकलनमा सक्रिय यदुले जनतामा आफ्नो पार्टीको प्रभाव बसाउँदै हिँडेका थिए । एमाले फुटेर माले बनेपछि हस्तबहादुर के.सी. त्यता तिर लागे भने यदुले जिल्ला सचिवको जिम्मेवारी सम्हाले ।
श्रोतका अनुसार, यदुको लोकप्रियता उच्च भएपछि मालेले यदु बिरुद्ध माओबादीलाई सुराकी लगायो । शक्ति सन्तुलनको फाराम यदुकै सक्रियतामा रहेको र यदु जनमोर्चा बिरुद्ध गाँउ पसेको गलत सुचना माओवादीलाई पुग्यो । जनमतको निश्कर्ष निकालिएको उक्त फारमको एक प्रति फोटोकपी माले मार्फत माओवादी कहाँ पुगेपछि यदुलाई सुराकीको आरोप लगाइयो । त्यति खेर साबिक रुकुमको छिवाङ्ग गाविसको टोड्केमा बसेको माओबादीको जिल्ला स्तरीय बैठकले यदुलाई सफाया दिने निर्णय गरेको थियो । माओबादीका जिल्ला ईन्चार्ज सरुण बाँठा मगर त्यतिखेरका जनसत्ता प्रमुख थिए भने बिशाल त्यतिखेर जिल्ला प्रमुख थिए । माओबादीको यस्तो निर्णपछि यदुलाई पछ्याउन सुरु भएको थियो । यस भन्दा अघि यदु दुई पटक गिरफ्तारीमा परेर यातना समेत पाइसकेका थिए । स्थानीय निर्वाचनको बखत चौरजहारीबाट सदरमुकाम जाने क्रममा खोलागाँउमा पहिलो पटक र २०५५ साल माघमा साबिक हुकाम गाबिसमा उनलाई गिरफ्तारी गरिएको थियो । निडर यदु गिरफ्तारीबाट मुक्ति पाएपछि पनि गाँउ स्तरमै सक्रिय रहे । उहाँको बारेमा एक तत्कालिन एमालेका नेता भन्छन् ‘उहाँलाई कि त चुनावमा नउठाएको भए हुन्थ्यो, कि त हामीले सेफ गर्न सक्नुपर्थ्यो। तर त्यति सचेत हुन सकेनौँ । ’
छिवाङ्गबाट चुनावको माहौलको लागी भेटघाट गर्दै घेत्मा पुग्ने योजना बनाएका यदुलाई बाटो छेकेर हत्या गरियो । फागुन २० गते छिवाङ्गबाट सिम्ली हुदै गरायला आएका उनलाई सानीभेरीको सिम्लीमै सफाया दिने माओवादीको योजना सफल हुन सकेन । २० गते गरायलामा पार्टी कार्यकताको घरमा बास बसेर बिहानै जाजरकोटको रिम्ना खाना खाने योजनामा केही कार्यकर्ताको साथमा हिँडेका यदुलाई रिम्ना नजिकको एक खोलामा खुकुरी प्रहार गरियो । त्यतिबेला यदुको साथमा रहेका तीन जना एमाले कार्यकर्ता थिए, जसले आन्तरिक रुपमा माओवादीको लागि सहयोगी भूमिका बोकेका रहेछन् । घटना घट्नु पहिले के.सी.थरका एक जना बिरामीको निँहुमा केही कार्यकर्तालाई आफूलाई बोक्न लगाएर अगाडि हिँडे, डाङ्गी थरका एक कार्यकर्ता र ओली थरका अर्का कार्यकर्ता घटना स्थलबाट टाप कसेछन् । उनीहरु त्यति खेरैदेखि एमालेको सम्पर्कमा नआएर माओवादी बने श्रोत भन्छ, ‘उतैबाट परिचालित रहेछन् भन्ने स्पष्ट भयो ।’ बाटोमा सरासर हिँड्दै गरेका यदुलाई सुरुमा खुकुरी हानियो । उनी त्यहाँबाट हाम्फालेर नदि किनारमा पुगे । अन्य दुई जनाले घाइते यदुलाई भेरीको तिरमा भेटाए, र घाँटी रेटेर पानीमा फालेका थिए । घटनालगत्तै नारा लगाउँदै माओवादी भागे, एमालेका केही समान्य कार्यकर्ता तितरवितर भएका थिए । घटनाको एक घन्टापछि जाजरकोटको रिम्नाबाट प्रहरी घटनास्थल आइपुगेको थियो ।