काठमाडौं । किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात भएको छ । शनिबार काठमाडौंमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए ।
यस प्रणालीमार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यावसायिक सीप विकासका लागि प्रत्येक जिल्लामा तालिम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने दाबी गरिन् । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उनको भनाइ छ ।
किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्न युरोपियन युनियनले सहयोग गरेको छ । यस प्रणालीमार्फत किसानका सूचना तथा विवरण एकीकृत गरी विद्युतीय प्रविधिमा आधारित तथ्यांक भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सबै स्थानीय तहमार्फत सञ्चालन हुनेछ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            