दैलेख । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।
विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले जानकारी दिए ।
यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।
सयौं विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताए । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए ।