कोभिडको अर्को लहर आएसँगै राजधानी लगायत आजसम्म देशका करीब ६१ जिल्लामा फेरि निषेधाज्ञा जारी छ । यसको कारण अन्य क्षेत्र जस्तै विद्यालय पनि स्वाभाविक रूपमा बन्द भएका छन् । जसले गर्दा करीब ८१ लाख बालबालिकाको सिकाइ प्रभावित भएको छ ।
अधिकांश निजी विद्यालयमा यस्तो बेला सम्भवतः विद्युतीय सिकाइ भइरहेको छ । किनकि यहाँ सिकाइसँगै अर्थोपार्जनको पनि सम्बन्ध जोडिएको छ । तर करीब ६९ प्रतिशत बालबालिकाको सिकाइ भने लगभग अवरुद्ध भएको छ । तत्कालीन रूपमा सिकाइ रोकिए के भयो त ज्यान बचे फेरि शुरु होला भन्ने तर्क पनि आउँछ।
याद गरौं आजको सिकाइले नै हामीलाई आजसँग लड्न र भविष्यसम्म बाँच्न सघाउँछ । तसर्थ महामारीको बेला हुने शिक्षक र बालबालिका बीचको दूरी कम गर्न आवश्यक छ । शिक्षकहरू जो कोरोना तथा अन्य विपत्ति, संकट र कठिन घडीमा आफ्ना बालबालिकासँग हुनहुन्छ उहाँहरूप्रति मेरो असीम सम्मान छ ।
तर घटनाक्रमले शिक्षकहरू विपत्को समयमा समाजमा गएनन्, बालबालिकासँग भएनन्, जीवनका सानातिना समस्या तर जुन नानीहरूको लागि भने अति नै महत्व राख्ने क्षणहरूमा उपाय दिन सकेनन्, सबैभन्दा उतारचढाव हुने समयमा उनीहरूको साथी बन्न सकेनन् भन्ने आरोपमा मात्र सीमित देखिंदैन । यसमा शान्त भएर हेर्ने र सोच्ने हो भने धेरै शिक्षक यो दमदार भूमिका निभाउनबाट आफैं वञ्चित भएका छन् ।
तर यो अवस्थाको सबै दोष शिक्षकलाई दिएर अरू उम्किने ठाउँ भने छैन । समस्या सरकारका छन्, समस्या नेतृत्व र राजनीतिक दलहरूका छन् । समस्या नीतिनिर्माताका छन्, कर्मचारीका छन् र समस्या सामुदायिक विद्यालयका अभिभावकका पनि छन् ।
सार्वजनिक शिक्षाको कुरा गर्दा धेरै समस्या नै समस्या छन् । आजको यो लेख यस्तो विपत्तिको बेला सार्वजनिक विद्यालयका शिक्षकको भूमिका के हुन सक्छ भन्ने वरपर नै छ। सामुदायिक विद्यालय तथा यहाँ हुने सिकाइलाई हेयको दृष्टिकोणबाट हेरिन्छ । सामुदायिक विद्यालयमा जाने किसान, मजदूर, सुकुम्बासी, सीमान्तकृत, गरीबका नानीहरू नै हुन् । जोसँग सत्ताको नारा र भोट भन्दाबाहेक अरू सम्बन्ध हुँदैन ।
मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, उपल्ला मन्त्रालयदेखि स्थानीय सरकारका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, व्यापारी, व्यवसायी र अधिकांश शिक्षककै बालबालिकाको सम्बन्ध सामुदायिक विद्यालयसँग नहुँदा उनीहरूको भावनात्मक सम्बन्ध पनि सामुदायिक विद्यालयसँग हुँदैन ।
यसरी सम्पूर्णको रुचाइमा नपर्दा सामुदायिक विद्यालय हेलाका विद्यालय भएका छन् ।
जेन्युइन फोर्ट अफ कम्युनिटी स्कूलका केदारनाथ श्रेष्ठ भन्छन्, ‘सामुदायिक विद्यालय कमजोर र गरीबको विद्यालयको रूपमा चित्रित छन् ।’ यसको अर्थ सामुदायिक विद्यालयका शिक्षकको भूमिका अझ जटिल छ । कमजोर र दयनीय अवस्थामा रहेको शिक्षण पेशा छनोट गर्नु भनेको आवाज नहुनेहरूको आवाज हुनु हो । अझ समाजमा जब संकट आउँछ यो भूमिका उति नै मुखर हुन आवश्यक हुन्छ ।
तर लेखकहरूले भेटेका अधिकांश शिक्षकले यसको मर्मलाई बेवास्ता गरी पुरानै ढर्राबाट तथा पुरानै विधिको सहायताबाट पठनपाठनलाई संचालन गरेको भेटिएको थियो । यसले गर्दा महामारी दोहोरिंदा हाम्रो शिक्षा फेरि अघिल्लो वर्षको ठाउँमा नै अड्किने निश्चित छ ।सरकारले कोरोनाले प्रभाव पारेको विद्यार्थीको सिकाइमा न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ लागू गरेको थियो । जसको आधारमा विषयवस्तुलाई एकीकृत गरिएको छ, समूहीकरण र प्राथमिकीकरण गरिएको छ ।
बन्दाबन्दी बीचमै एसईई लगायत केही परीक्षा साविकभन्दा फरक विधिबाट लिएर केही शैक्षिक गाँठाहरू फुकाइएको थियो । लामो समयको बन्दाबन्दीपछि भर्खरै विद्यालय खुल्दै थिए । सरकारले शैक्षिक सत्रलाई चैतबाट लम्ब्याएर जेठसम्म लगेको थियो । फेरि कोरोनाको आगमनपछि यो सबै अन्योलतातिर जाँदैछ । यतिबेला प्रश्न गरौं अघिल्लो वर्ष धेरै चर्चा भएको वैकल्पिक सिकाइ फेरि यो वर्ष कोरोना दोहोरिंदा कहाँ छ ? शिक्षक, विद्यालय फेरि सिकाइ निरन्तरता दिने सवालमा कहाँ छन् ?
केही विद्यालयले हिम्मत गरेर सिकाइ निरन्तर राखे । उसो त केही विद्यालयका शिक्षकले सुरक्षा सावधानी सहित सिकाइ निरन्तर राख्नुले समग्र शिक्षामा धेरै अन्तर नपारे पनि सबै अन्योलबीच अझ भनौं सरकारी अलमलका बीच विद्यार्थीसम्म जाने कामलाई कम मान्न सकिंदैन ।
यस्तै विद्यालयमा पर्छ कर्मारोङ गाउँपालिकाको एक विद्यालय, जसले स्थानीय निकायको धम्कीका बाबजूद सिकाइ निरन्तर राख्न सक्यो । अन्य केही स्थानीय तह, विद्यालय तथा शिक्षकहरूले सिकाइलाई जोड्न प्रयत्न पनि गरे केही सफल भए केही सफल हुन सकेनन् ।
अहिले सबै विद्यालयमा सिकाइ बन्द भइसकेको छ । अब अधिकांश शिक्षक अघिल्लो वर्ष जस्तै आफ्नो घरमै हुनेछन् । विद्यार्थी पनि आफ्नो घरमा हुनेछन् । विद्यालयमा नै सम्पूर्ण सिकाइ छुट्नेछ । मानिस समुदायमा रहने छन् ।
समुदाय विद्यालयसम्म जान सक्दैन, किनकि सामुदायिक विद्यालय कमजोरहरूको विद्यालय हो । विद्यालय समुदायसम्म जान सक्ने छैन त्यसो गर्न न जाँगर छ न प्रोत्साहन ? जाँगर किन छैन भने जानीजानी महामारीमा हामफाल्ने कुरा भएन । सबैले जोखिम भनिरहँदा शिक्षक मात्रैले त्यहाँ जाने आँट पनि हँुदैन ।
प्रोत्साहन किन छैन भने तिमी गाउँसम्म जाऊ, तिम्रो जिम्मा म लिन्छु भन्ने कोही भएन । जिम्मेवार निकायले शिक्षकलाई प्रयोग गर्नुपर्छ यसको अर्थ जोखिम मोलेर जानुस् भन्ने होइन । शिक्षकले जोखिम कम गर्दै, उत्प्रेरणा दिंदै, जोखिमबाट कसरी बस्न सकिन्छ सिकाउँदै र महामारीबाट कसरी जोगिनुपर्छ बताउँदै जाने हो ।
भौतिक दूरी कसरी कायम गर्नुपर्छ देखाउँदै जाने हो, साबुनपानीले हात कसरी धुनुपर्छ, धोएरै भन्ने हो । किनकि ती शिक्षककै नानीहरू हुन् जसले दुनियाँमा सबैभन्दा धेरै शिक्षककै विश्वास गर्दछन् । मेरो चिनजान भएका केही शिक्षकसँग कुरा गर्दा उहाँहरू समुदाय जान पनि तयार हुनुहुन्छ तर जोखिमको जिम्मेवारी कसले लिने ?
सामान्य अवस्थामा केन्द्रदेखि तलसम्म तानातान हुने शिक्षाको राजनीति विषम अवस्थामा किन जिम्मेवारीविहीन छ ? अहिले सत्तामा तिनै नेता छन् जो समुदायिक विद्यालयकै शिक्षकको बलमा त्यहाँ पुगेका हुन् । के यो जोखिममा शिक्षकलाई समाजसम्म पुग्नको लागि नेतृत्वको कुनै भूमिका रहँदैन ?
सरकारले अब बुझ्न जरूरी छ, महामारी आइरहन्छ । यो पनि थाहा छ कि जस्तोसुकै अवस्थामा पनि शिक्षाको अनिवार्यता रहन्छ नै तर यस्ता अनिवार्य कुराहरूलाई छायाँमा पारेर एक डल्लो साबुन र एउटा मास्क बाँडेर आनन्दले निदाउने नेतृत्वको बानी नै छ । हैन भने यो डेढ वर्षमा कम्तीमा फेरि महामारी आउँदा शिक्षा जस्तो चिज अघिल्लो वर्षकै हालतमा नभएर बालबालिका र सिकाइ जोड्ने धेरै सम्भावना रहन्थे ।
यस्तो बेला विद्यालयको पनि आफ्नै महत्वपूर्ण भूमिका हुन सक्छ । कम्तीमा विद्यालयको तहबाट शिक्षकहरूलाई स्यानिटाइजर र मास्क किनेर दिन सकिन्छ । आवश्यक तालिका बनाएर शिक्षकलाई परिचालन गर्न सकिन्छ ।
शिक्षकहरू बीचको सुरक्षित छलफल तथा सहयोग जुटाउन सकिन्छ । आफ्ना नानीहरूको पहुँचको आधारमा तथा शिक्षकको क्षमताको आधारमा कार्य वर्गीकरण गर्न सकिन्छ । जस्तो अनलाइन सिकाइमा अभ्यस्त भएका शिक्षकलाई त्यसैमा लगाउने तथा नभएकालाई यस्तो सिकाइमा पहुँच नभएका विद्यार्थीलाई भौतिक तर सुरक्षित रूपमा उपस्थित भई सिकाइमा सहयोग गर्न लगाउन सकिन्छ । शिक्षकहरूबीच निरन्तर छलफल तथा अन्तरक्रिया गरी शिक्षकको मनोबल बलियो पार्न सकिन्छ ।
शिक्षकको जोखिम तथा मर्मलाई ध्यान दिएर माथिल्ला निकायसमक्ष समन्वय गरेर सिकाइ निरन्तर गर्न सकिन्छ । पाठ्यक्रम ढाँचा, २०७७ ले अघिल्लो वर्ष खुम्चिएको सिकाइ पूर्ण गराउन दुई महत्वपूर्ण उपायहरू व्यवस्था गरी त्यसैको आधारमा विषयवस्तु विभाजन गरेको छ । एउटा शिक्षकले प्रत्यक्ष सहजीकरण गरेर पढाउनुपर्ने विषयवस्तु, अर्को शिक्षकको निर्देशनमा अरूले सहजीकरण गरेर पढाउन सकिने विषयवस्तु ।
यसको आधारमा हेर्दा अहिलेको अवस्थामा पनि हाम्रो सिकाइ सहज हुनसक्छ । ठूला कक्षामा पढ्ने अधिकांश बालबालिका सामाजिक संजालमा छन् । सामाजिक संजालमा पहुँच भएका बालबालिकाको समूह बनाएर सामाजिक संजालमा सिकाइ निरन्तर राख्न सकिन्छ । सामाजिक संजालमा पहुँच नभएका विद्यार्थीको पहिचान गरी तिनीहरूलाई आफ्ना साथीहरूसँग छलफल तथा अभ्यास गर्न लगाउन सकिन्छ । त्यो पनि सम्भव नहुनेहरूको सवालमा सुरक्षा सहित शिक्षक समुदायमा गएर सिकाइ निरन्तर राख्न सकिन्छ ।
उपल्ला कक्षाका विद्यार्थीको सहयोगले साना नानीबाबुको सिकाइलाई शिक्षकको निर्देशनमा सहजीकरण गर्न सकिन्छ । अघिल्लो महामारीताका केही विद्यालयले यस्तो सिकाइको अभ्यास गरेका थिए जुन प्रभावकारी भएको थियो । आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय सरकारको क्षेत्राधिकार भित्र परेको र विद्यालयको ढोकै छेउका सरकारहरू भएको हुँदा शिक्षकको नजिकैको भरोसा पनि स्थानीय सरकार नै हुन्छ ।
शिक्षकको अहिलेको मुद्दा भनेको कोभिड लागेमा यसको जिम्मेवारी कसले लिन्छ भन्ने हो ? आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त कसले गर्छ ? अझै विपत्को समयमा हुने जोखिमको बीमा कसरी गर्न सकिन्छ ! यी र यस्ता यावत् प्रश्नको जवाफ स्थानीय सरकारहरूसँग हुनुपर्दछ ।
सबै मुद्दाहरू स्थानीय सरकारको हैसियत तथा क्षमतामा नहुन सक्छ यस्तो बेला प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी व्यवस्थान गर्न सक्नुपर्दछ । स्थानीय तहले तीनै तहको सहकार्यमा शिक्षकको बीमा गराएर शिक्षकलाई समुदायमा जान उत्प्रेरणा दिन सक्छ । यसरी जोखिम मोलेर समुदायसम्म जाने शिक्षक तलमाथि भएको खण्डमा उसँग आश्रित परिवारबारे पनि जिम्मेवार निकायले सोच्नुपर्दछ । अर्को महत्वपूर्ण कुरा स्थानीय तहमा भएको स्रोतलाई प्रयोग गरी समुदायस्तरमा उपलब्ध स्वयंसेवकहरूलाई पनि प्रयोग गर्न सक्छ ।
विपत्को बेला जुनै तहका सरकारहरूको भूमिका अझ महत्वपूर्ण हुन आउँछ । कोभिडले पनि सरकारप्रति नागरिकको यस्तै अपेक्षा वृद्धि गरेको छ । महामारीको बेलामा कसरी बालबालिकाको सिकाइ निरन्तर राख्ने, कसरी आफू जोगिएर सिकाइ गराउने, यस्तो अवस्थामा कसरी सुरक्षित सिकाइ गराउन सकिन्छ भन्ने सवालहरू छन्, जसलाई सम्बोधन गर्न संघ तथा प्रदेश सरकारहरू तयार हुनुपर्दछ ।
जोखिममा भैपरी आउने सम्भाव्य भवितव्यलाई कसरी समाधान गर्ने भन्नेमा जिम्मेवार निकायले प्रष्ट हुनुपर्दछ । सबै शिक्षक प्रविधिमैत्री नभएको हुँदा तालिम दिएर प्रभावकारी सूचना तथा प्रविधिको ज्ञान दिन आवश्यक छ । सस्तो र प्रभावकारी इन्टरनेटको व्यवस्था पनि अहिलेको पेचिलो विषय हो । साथै शिक्षक तथा सिकाइ प्रोत्साहनको लागि पुरस्कार तथा सम्मान पनि उत्तिकै आवश्यक छ ।
हाम्रो समग्र भविष्य बनाउने जिम्मेवारी शिक्षकको काँधमा छ । यसको अर्थ जसले आज सामान्य बालबालिकाको रूपमा शिक्षा प्राप्त गर्दैछ ऊ नै भोलिको हाम्रो समय हो । यसैले जीवन रहेसम्म दोहोरिने महामारीको त्रासलाई बहाना बनाउन बन्द गरौं ।
एकैछिन सोचौं यदि कोरोनाको त्रासमा किसानले खेतमा जान इन्कार गरे, प्रहरी तथा सुरक्षा निकाय घरमै बसे, कर्मचारीले कार्यालय जान इन्कार गरे, अझ डाक्टर तथा स्वास्थ्यकर्मीले अस्पताल जान छाडे भने हाम्रो दैनिकीमा अन्य कति महामारी आउला ?
यसरी हेर्दा शिक्षा त्यति नै आवश्यक हो जति खाना । शिक्षक त्यति नै जिम्मेवार मानिस हो, जति किसान, कर्मचारी, सुरक्षाकर्मी वा स्वास्थ्यकर्मी हो । आपत्मा अरू सबै आ–आफ्नो क्षेत्रमा अहोरात्र खटिंदा शिक्षक पनि आफ्नो बुताले भ्याएसम्म सिकाइमा जोडिन अबेर नगरौं । राज्यको तहबाट गर्ने सबै काम शिक्षकको पहुँचमा हुँदैनन् ।
सबै समस्याको जड न त शिक्षक हुन न यसको समाधान शिक्षकमा नै छ । तर सामान्य रूपमा जे शिक्षकले गर्न सकिन्छ, जे हाम्रो कर्तव्य हो त्योबाट नभागौं र भाग्न नदिऊँ । जिम्मेवार निकायहरूले आ–आफ्नो जिम्मा लिऊँ ।
नेतृत्व, कर्मचारी, अभिभावक सबैले शिक्षकलाई सम्मान र सहयोग गरौं । शिक्षकहरू आँट गर्नुस् अन्यथा एउटा पुस्ता नै बेकम्मा उत्पादन हुनेछ र हाम्रो भविष्य हाम्रै हातले बिगारेकोमा पछुताउनु भन्दा अरू उपाय रहने छैन । अनलाइन खबरबाट