सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने भएको छ। नेपालगन्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसकिने अस्पतालले जनाएको हो। प्रदेश अस्पतालमा हाल ९२ जना संक्रमित छन्।
‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड-१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ,’ अस्पताल निर्देशक डाक्टर डम्बर खड्काले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ।
अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन। अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ। तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्दछ।
