काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाप्रति ६ युवा संगठनले आपत्ति जनाएका छन् । शनिवार विभिन्न ६ राजनीतिक दल निकट नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायतले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै राष्ट्रपति भण्डारीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ को उपधारा ५ को प्रकृया आरम्भ गर्न राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवि भण्डारीले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैंमा असंवैधानिक कदम भएको उनीहरुको ठहर छ ।
राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गर्दा पनि प्रधानमन्त्री ओलीलाई संसद विगठन गर्न भण्डारीले बाटो खोलेको उनीहरुको भनाई छ ।
यस्तै प्रधानमन्त्री ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाती कदमको डटेर सामना गर्न आम नेपाली युवाहरुलाई आव्हान समेत गरेका छन् । संयुक्त विज्ञप्तिमा नेपाल तरुण दल अध्यक्ष जितजंग बस्नेत, योङ कम्युनिष्ट नेपाल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, युवा संघ नेपाल अध्यक्ष, नरेश कुमार शाही, समाजवादी युवा संघ–नेपाल अध्यक्ष, योगेन्द्रराय यादव, अखिल नेपाल युवक संघ अध्यक्ष, अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठन अध्यक्ष अब्दुस मियाको हस्ताक्षर रहेको छ ।
