कोरोनाको पहिलो लहरमा हामी नेपालीलाई खुब डर लाग्यो । तर बिस्तारै कोरोना केही पनि होइन, सामान्य रुघाखोकी हो भनेर सरकारबाट नै भ्रम फैलायो, कसैले हाउगुजीको रुपमा लिए । हामी नेपाली छिटै भबिस्यबाणी र अनुमान लगाउन खुब क्षमता राख्छौं । त्यसैले देश, समय, परिस्थिति, कालखण्ड, एकातिर हुन्छ भने हाम्रो काम, कुरो, गन्तब्य, यात्रा अर्कै तिर हुन्छ । सोही कारण पूर्वतयारी गर्ने कुरै भएन ।
दोश्रो भेरियन्ट नेपालमा प्रवेश गरिसकेपछि पनि सुरुमा त कहाँ डर लाग्यो र । पहिलो लहरको हाउगुजी हाम्रो मानसपटलमा त छदैछ । महामारी हो हाउगुजीले कहाँ सक्छ रोक्न । अन्ततः दोश्रो भेरियन्टले नेपालीलाई आधात पार्यो, थला पार्यो । यो कोरोनाबाट दैनिक रूपमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या सुन्दा सबै नेपालीको मनमा डरको पोको थुप्रिएको छ । देशमा आपत बिपत जस्ता सङ्कट आईपर्दा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने हो । तर काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भने झैं राज्यमा नागरिक रोग र भोकसँग संघर्ष गरिरहेका छन्, सरकार चाहिँ पद र कुर्सिको लडाइँमा ब्यस्त रहेको छ । जनतालाई सेवा गर्छु भनि प्रतिबद्धता जनाएका जनताका प्रतिनिधि खै कहाँ कुन अँध्यारो कुनामा छन् खोज्नुपर्छ ।
देशमा रेमिट्यान्स भित्र्याई सरहोय गर्ने गरी आफ्नो श्रम बेच्न बिदेशीएका युवाहरूले विभिन्न देशमा नेपालीलाई बचाउन आर्थिक सङ्कलन गरेर नेपालमा पठाउने गरेका छन् । थाहा छैन हाम्रो निरीह सरकार कता हरायो । भन्दैथ्यो सम्पुर्ण नेपालिलाई कोरोना विरुद्धको खोप अनिवार्य उपलब्ध गराउछु, तर अभागी नेपालिको बिडम्बना खोप अनिवार्य हुनुपर्नेमा चुनाव अनिवार्य देख्यो सरकारले । हे, सरकार यो चुनाव संविधान बमोजिम एक वर्ष पछि बनाउदा हुँदैन ? आशा छ, अदालतले पनि संसद्को पुनःस्थापना गर्नेछ र देशलाई निकास पनि दिनेछ । त्यो चुननावमा हुने खर्चले कोरोना विरुद्ध भ्याक्सिन खरिद गरि सम्पुर्ण नेपालि को ज्यान बचाए के हुन्छ सरकार ? रकम तिर्न नसक्नेलाई मात्र सरकार ले निशुल्क खोप उपलब्ध गराए पुग्छ । खोप उपलब्ध गराइदेउ सरकार बाँकी नेपालि आफ्नै खर्चमा पनि खोप लगाउन तयार छन ।
दोस्रो चरणको कोरोना नियन्त्रण हुन नपाउँदै हावाबाट सर्ने अर्को यो भन्दा झन कडा प्रकृतिको तेस्रो भेरियन्टको कोरोना देखिएको चर्चा छ । सरकारले उचित समयमा उचित कामको निर्णय गर्नुपर्छ । यतिबेला सत्ताको दाउपेचमा होइन कोरोना सङ्क्रमित बिरामिलाई अस्पतालबाट निको बनाई सकुशल घर फिर्ता गर्ने, सङ्क्रमन नभएको नगारिकलाई सुरक्षित राखी सङ्क्रमन हुनबाट जोगाउनु पर्छ । यतिखेर कोरोना सङ्क्रमन नभएको कुनै गाउँ नै बाकी छैन । कोरोना सङ्क्रमित बिरामिलाई न त औषधि उपचार छ न त सरकारले केही गरिदेला भनेर आशा नै । जानेको छ त सरकारले निषेधाज्ञा मात्रै । मर्ने मरिसके बाँच्ने सबै भगवान भरोसामा बाँचेका छन् । त्यसो त सरकार यो निषेधाज्ञा को केही छ त अर्थ ?
(लेखक खत्री, पेशाले शिक्षक हुनुहुन्छ )