मुसिकोट । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिमका चार जना महिलाको क्षेत्रमा काम गरिरहेका तथा बिपन्न महिलालाई सहयोग गरेको छ । ओरेक नेपालले ग्रामीण क्षेत्रमा रहेर महिलाका क्षेत्रमा योगदान दिएका तथा विपन्न परिवारका सदस्यलाई सहयोग गरेको जनाएको छ ।
तरङ्गीनी फाउन्डेसनको आर्थिक सहयोग र जिल्लाका स्थानीय तह, पत्रकार महासंघ रुकुम र महिला मानब अधिकार रक्षक संजालको समन्वयमा ओरेकले चार जना महिलालाई जनहि १० हजार बराबरको सहयोग गरेको हो ।
ओरेक नेपाल रुकुमका जिल्ला संयोजक दिपा धितालका अनुसार सहयोग प्राप्त गर्नेहरुमा महिला अधिकारका क्षेत्रमा सक्रिय तथा जिल्ला समन्वय समितिका सदस्य बिष्णु सुनार, महिला मानव अधिकार रक्षक सन्जालका पूर्व सचिव तथा चौरजहारी नगरपालिकाका कार्यपालिका सदस्य डिला महतारा, आठबिसकोट नगरपालिका वडा नम्बर १२ की पुर्ण कुमारी पुन र मुसिकोट नगरपालिका वडा नम्बर ७ की चेतना खत्री रहेका छन् ।
सहयोग प्राप्त गर्नेहरुमा बिष्णु र डिला महिला अधिकारका क्षेत्रमा रहेर योगदान दिने अधिकारकर्मी हुनुहुन्छ भने पूर्ण कुमारी कमजोर घरासरी आर्थिक अवस्थाका परिवारका सदस्य हुनुहुन्छ । त्यसैगरी चेतना कोरोना प्रभाबित परिवारको सदस्य हुनुहुन्छ ।
तरङ्गीनी फाउन्डेसनको यो सहयोगले महिला र उहाँका परिवारलाई थोरै भएपनि सहयोग पुग्ने विश्वास लिएको संयोजक धितालले बताउनुभयो । उहाँले कोरोना महामारीको यो समयमा सामाजिक क्षेत्रमा काम गरिरहेका तथा समस्यामा परेकाहरुलाई सहयोग गर्नु मानवीय धर्म हुने उल्लेख गर्नुभयो ।
यसैगरी ओरेक नेपाल रुकुमले केहि दिनमा तीन सय ५० जना बिपन्न महिलाहरुलाई खाद्यन्न सहयोग गर्ने समेत जनाएको छ । बन्दाबन्दीमा परेर आय आर्जन गर्न नसक्दा समस्यामा परेका महिलालाई राहत स्वरुप खाद्यन्न सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक धितालले बताउनुभयो ।
ओरेक नेपालले जिल्लामा महिला अधिकार, लैङ्गिक हिंसा बिरुद्ध र महिलाको आयआर्जनको क्षेत्रमा कार्य गर्दै आएको छ ।
