मुसिकोट । रुकुम पूर्वमा कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो डोज लगाउन सुरु भएको छ । यस अघि ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएकाहरुका लागि आजबाट दोस्रो डोज लगाउन सुरु भएको हो । जिल्लाका तीन वटै स्थानीय तहहरुमा खोप लगाउने कार्यतालिका भएपनि आज सिस्ने गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयबाट खोप लगाउन सुरु गरिएको छ ।
भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा भने भोली लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार दुई वटा गाउँपालिकाको लागि आज खोप पठाईने छ ।
रुकुम पूर्वमा दोस्रो मात्राको लागि ८ सय डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । पहिलो मात्राको ‘कोभिशिल्ड’ खोप लगाएका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारलाई लगाइने र बाँकी जेष्ठ नागरिकलाई लगाइने भएको छ । खोप लगाउन आउँदा पहिलो मात्राको ‘कोभिशिल्ड’ खोप लगाइएको कार्ड अनिवार्य साथमा लिएर आउनुपर्ने छ ।