राप्तीसोनारी गाउँपालिकाको बजेट ८२ करोड ३८ लाख

राप्तीसोनारी गाउँपालिकाको बजेट ८२ करोड ३८ लाख

बाँके । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । राप्ती सोनारी गाउँपालिकाको सभाकक्षमा आज (बिहीबार) आयोजित नवौं गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले बजेट प्रस्तुत गर्नु भएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी उक्त बजेट प्रस्तुत गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटा वडामा बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नम्बर १ र २ मा २÷२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको वजेट बक्तव्यमा उल्लेख छ ।

गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष थारुले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध राप्ती सोनारी नारालाई ब्यवहारमा उतार्न विकासका प्राथमिकता र बजेट तर्जुमाको आधारलाई प्रस्तुत गरेको बताउनु भयो । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती सोनारीको विकासमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम बिहीबार नै सर्बसम्मत रुपले पारित भइसकेको छ । गाउँ सभामा राप्तीसोनारी ७ का वडाअध्यक्ष एवम् सभाका सदस्य रामलखन थारुले भौगोलिक क्षेत्रफलका हिसाबले धेरै ठुलो भएकाले जनताको काम काजलाई सहज बनाउन राप्तीसोनारी गाउँपालिकालाई अलग गरेर दुई वटा गाउँपालिका बनाउनुपर्ने भन्दै नीति तथा कार्यक्रममा यसलाई समावेश गरियोस् भन्ने प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्तावमा वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत र वडा नम्बर ९ का वडाअध्यक्ष महाबिर ओलीले समर्थन गर्नु भएको थियो ।

यस्तै गाउँ सभामा प्रस्तुत भएको बजेटका विषयमा ब्यापक छलफल र परिमार्जन गर्नका लागि सभाका सदस्यलाई एक हप्ताको समय दिइएको छ । गाउँ सभा यही असार १७ गते दिउँसो १२ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।असार १७ गते पुनः बस्ने गाउँसभाले प्रस्तुत बजेट पारित गर्ने उहाँले बताउनु भयो ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार