मुसिकोट । चोरी, दुर्घटना, अपराध नियन्त्रण लगायतका गतिविधि घटाउन रुकुम पश्चिमको मुसिकोट खलंगा बजार क्षेत्रमा सिसी क्यामेरा जडान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार खलंगा बजारका ६ स्थानमा १२ वटा सिसी क्यामेरा जडान एक साता देखि सुरु गरिएको छ ।
बागबजार चोक, एभरेष्ट बैक चोक, पातुखोला चोक, पुष्पलाल चोक, कुमारी बैक चोक र बालमन्दिर चोक क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त बनाउन सिसी क्यामेरा जडानको कार्य अघि बढाईएको छ ।
बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा रहने छ । दैनिक चोरी, झैझगडा जस्ता गतिबिधी बढे पछि त्यसको निगरानी गर्न सिसी क्यामरा जाडन गरिएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको समन्वय र मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा सिसी क्यामेरा जडान कार्य सुरु गरिएको छ । मानिसहरुको धेरै चहलपहल हुने खलंगा बजारमा सिसी क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुको भनाइ छ ।