मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी सम्मानित हुनुभएको छ । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भर्ना भएका कोरोना संक्रमित बिरामी र कुरुवाहरुको लागि निशुल्क खाना तथा खाजा खुवाइरहेको नेकपा विप्लव समुहले अभियान समापनको क्रममा आज उहाँलाई सम्मान गरेको हो ।
२०७८ जेठ ७ गतेदेखि असार २५ गते सम्म जिल्ला अस्पतालमा सल्लेमा कोभिड १९ संक्रमित बिरामी र कुरुवाको लागि निशुल्क खाना तथा खाजा खुवाउने अभियानमा महत्वपूर्ण सहयोग गरेको भन्दै केसीलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको हो । उजेली न्युज डटकमका प्रकाशक तथा सम्पादक समेत रहनुभएका केसी सहित अन्य व्यत्तित्वहरु समेत सम्मानित हुनुभएको छ ।
अभियानमा महत्वपूर्ण सहयोग गर्नुहुने सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बुसिं थापा, मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरवल केसी, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यबस्थापक बिष्णु बुढाथोकि पनि सम्मानित हुनुभएको छ । त्यसैगरी सोहि कार्यक्रममा विमानस्थल सुरक्षा गार्ड सल्लेका प्रहरी नायब निरिक्षक शेरबहादुर चन्द, साझा मुराल अस्पतालका डा. दिपक पुन र स्थानीय समाजसेवी नन्दकली दमाई सम्मानित हुनुभएको छ ।
जिल्ला अस्पताल सल्लेमा नेकपा बिप्लव समुहद्धारा बनाईएको एक स्वयम्सेवक समुहले गत जेठ ७ गते देखि चलाएको निशुल्क खाना तथा खाजा खुवाउने अभियान चलाएको थियो । उक्त अभियान आज ५१ दिनपछि समापन गरेको हो ।
निषेधाज्ञा केहि खुकुलो भई होटेल तथा रेष्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यबस्थापन केन्द्रको निर्णय भएकोले हाललाई उक्त अभियान समापनको चरणमा लिएको बताउनुहुदै अभियानका संयोजक नरेन्द्र बि.क.ले निशुल्क खाना तथा खाजा खुवाउने क्रममा टिमलाई हरतवरले सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई समापनको अवसरमा सम्मान गरिएको जनाउँनुभयो ।




