चुस्स दाह्री
जिङ्ग्रिङ्ग कपाल
मैलो जाकेट
फाटेको टोपी
हिलाम्मे कट्टु
चिथ्राचिथ्रा परेको कमिज
बरियोले डामेको थाप्लो
थोता दाँतहरु
बैँसको सुन्दरता पखालिएर
मह निचोरेर रित्तिएको
मौरीको चाकाझैँ अनुहार
गाउँघर, सहरबजार जताततै
सबैको जिब्रोजिब्रोमा झुन्डिएको
सर्वत्र चितपरिचित पहिचान
एक निष्कलङ्क सदावहार भरिया हो, जोखे।
थाहा छैन होला धेरै धेरैलाई
घर कहाँ हो उसको?
थर के हो उसको?
वास्तविक नाम के हो?
वर्षौंदेखि लट्ठीको सहाराले
सबैको, सबै किसिमको भारी बोकिदिन्छ
यो जात वा त्यो जात भनेर छुट्याउँदैन
यो गाउँ वा त्यो गाउँ पनि भन्दैन
जसले जहाँ भन्यो त्यहीँ पुर्याइदिन्छ भारी
जसले जति दियो त्यति नै लिन्छ ज्याला
जसले जे खान दिन्छ त्यही नै हुन्छ उसको भोजन
ऊ जहाँजहाँ सुत्छ, त्यही नै हुन्छ उसको सयन
तरपनि जोखेले कहिल्यै कपट गर्न जानेन।
न उसको ओत लाग्ने आफ्नै घर
न एकछाक खाने मामको निश्चितता
भारीसँगै लत्रिएको उसको जीवन
पसिनै पसिनामा पौडिएको उसको शरीर
बिहान बेलुकीको छाकसँग लड्दालड्दै
कति छिचोलिए होलान् हिउँद बर्षाहरु
उसका फाटेका पैतलाहरुले
कति नापे होलान् माइलौँ माइलको दुरी
उसको शरीरको पसिनाले
कति भिज्योहोला उसले टेकेको धरती
कहिले भारी नगदसित साट्यो त कहिले फगत
भारीसँगै जीवनको अविरल यात्रा
जोखेले कहिल्यै कपट गरेर खान जानेन।
उसलाई के थाहा, देश के हो?
जसले उसलाई कहिल्यै हसाउँदैन
सरकार कसको हो?
जसले उसलाई कहिल्यै चिन्दैन
कोही नेता बनुनकि उद्योगी
शिक्षक बनुनकि कर्मचारी
किसान होउनकि व्यापारी
कोही सत्तासीन होउनकि सत्ताच्युत
कुनै वाद आओस् या तन्त्र
सरोकार छैन उसलाई कसैसँग
स्वार्थ रोपेर सम्पन्नताका धाक लगाउनेहरु
आडम्बर रोपेर सभ्य कहलाउनेहरु
मध्यरातमा पनि धनकै सपना देख्दै
छलकपट गरेर वैभवको रसातलमा रम्नेहरु
एकमुठी सासमा अड्केको जिन्दगीको त्यान्द्रो
स्वार्थ, अहङ्कार, लालचको पगरी गुथेर
हजारौं वर्ष बाचौँलाझै गरि
सपनाका महलरु ठड्याउन जान्दैन जोखे
कम्मरमा लोभको पटुकी कसेर
आकासमा खेती गर्ने सपना देख्दैन ऊ
र मनभरि कल्पनाका बिस्कुन पनि सुकाउन जान्दैन
मृत्युु पश्चात् खरानी भएर जाने
पद, प्रतिष्ठा, धन, दौलत, तडकभडक
या भोगविलास र वैभवको
अभिलाषा पनि छैन उसँग
ऊ त यो जगतको कर्मयोगी
एक विशुद्ध भरिया
निष्पाप र इमानको प्रतिमूर्ति
जोखेले कहिल्यै छल गरेर खाएन
र जोखेले कहिल्यै कपट गर्न जान्दैन।
नोट- धेरै पाठकजनलाई थाहा नहुन सक्छ, जोखे कुनै काल्पनिक पात्र होइन। जोखे एक विशुद्ध र यथार्थ भरिया नै हो। यस कविताले अरुलाई के काम दिन्छ, म भन्न सक्दिनँ तर मलाई लाग्छ भारी बोकेर छाक टार्ने कुल्लीहरुको प्रतिनिधित्व गर्छ जोखेले।