मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा घटेको घटनाको निष्पक्ष छानबिनको माग गदै महिलाहरुले त्रिवेणी गाउँपालिकामा बिरोध प्रर्दशन गरेका छन् । २६ वर्षिया मनकला खत्री खड्काको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार महिलाहरु गाउँपालिका कार्यालयमा पुगेर बिरोध प्रर्दन गरेका छन् ।
त्यस क्षेत्रका करिब डेढ सय बढी महिलाहरु हत्यारालाई कारबाहीको माग गर्दै नाराबाजी सहित दिउँसो त्रिवेणी गाउँपालिकाको कार्यालयमा पुगेका थिए । प्रदर्शनकारीले हत्यारालाई कारबाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्न पाइदैन, पीडितलाई न्याय नदिने सरकार हामीलाई चाहिँदैन लगायतका नारा लगाउँदै विरोध गरेका हुन् ।
जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा निषेधाज्ञा प्रवाह नगरी महिलाहरु न्यायका लागि प्रर्दशनमा उत्रिएको स्थानीय कुमारी ओलीले बताउनु भयो । राजनीतिक पहुँचका आधारमा घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै बिरोध प्रदर्शन गरिएको उहाँले बताउनु भएको छ । घटनालाई तोडमोड हुन नदिन बारम्बारको खबरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने माग गर्नुभएको छ ।
यहि साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्या भयो । गोठमा रहेका भैंसीलाई घाँस हाल्ने गएकी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव भेटियो ।
मृतक खड्काकै सहोदर भतिजा जेठाजुका दुई छोराले उनको हत्या भएको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । हत्या आरोपमा पक्राउ परेका २ नाबालकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ । बिहिबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मृतकले घाँटी, नाक, कानमा लगाएको गरगहना समेत ति दाजुभाइले राखेको भेटिएको डिएसपी श्रेष्ठले बताउनुभयो । मृतकको शरीरबाट हराएका सबै गरहना, एउटा खुर्पा, उनिहरुले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ ।


