महाराजगन्ज
शिक्षण अस्पतालको
मुर्दा घरमा
चितामा जलेर
खरानी बन्नु अघि
न्यायको प्रतिक्षामा
एउटा मान्छे अझै
चीर निन्द्रामा सुतेको छ
किन सुतेको छ
त्यसको सोधि खोजीमा
एउटा दमदार कविता
लेखौं मेरो कविवर ।।
पेटको चिसो मेटाउन
होटलमा गएर
एक गिलास
गरम चाया पिउन
घरबाट निक्लिएका
सेते दमाई
घरमा फर्केर
आफ्नो घरको
चुलोमा पाकेको
तातो रोटीको
एक गाँस खान पाएनन
चुलो छोएको नाममा
उनी होटलमा मारिए
ज्यानमारा उच्चजातीय
अहंकारको बिरूद्धमा
एउटा दमदार कविता
लेखौं मेरो कविवर ।।
सदीयौंदेखि
मान्छे भएर नि
समाजको आसुरी बदनियतले
उसलाई हीन तुल्यायो
बेमाख र निष्प्राण बनायो
भर्खर न हो
उनीहरू मान्छे हौं भनेर
बानेश्वरमा जुलुस लगाएको
माइतीघर मण्डलामा
धर्ना गरेको
कति अतिसय भयो
कति उभद्र भयो
उनीहरूको मानवतामाथि
मान्छेको सोझोपनामा
साँढेनाच गर्नेहरूका बिरूद्ध
एउटा दमदार कविता
लेखौं मेरो कविवर ।।
सिडियो , डियसपि र न्यायाधीश
अझै कोही भएका छैनन्
बल्लतल्ल
खरदार र सुब्बा
त्यो पनि
कसैको कृपाबाट नभई
रम्तेल भाइ र सेतु बहिनीहरूको
प्रवीर दाइ र हुरी भाइहरूको
कर्ण दाइ र दुजी भाउजुहरूको
रगतसंग साटेर
निकै ठुलो मूल्य चुकाएर
प्राप्त आंशिक रखवारी
आरक्षण
सर्वोच्चबाट स्वाहा चट
यस्तो बदनियति निर्णयका बिरूद्ध
एउटा दमदार कविता
लेखौं मेरो कविवर ।।
२०७८ श्रावण २६ , रूकुम पश्चिम ।।