बाटोमा हिंडेका वेला होस् या बस्तुभाउको गोठालो लागेको, बैठकमा भेला भएका वेला होस् या दिनभर काम गरेर थकाइ मार्न बस्दा, रुकुम पूर्वको झुम्लावाङका महिलाहरूका हात कहिल्यै खाली हुँदैनन्।
आफूले बोकेको झेला, डोको या ओढेको गादो (घलेक)मा पोका पारेर राखेको भाङ्गोेको एक मुठा धर्सा निकालिहाल्छन्। त्यो मुठालाई काखीमा च्याप्छन् र एक हातले धर्सा तान्दै, फुरफुर धूलो उडाउँदै नमिलेको धर्सा दाँतले एकैनासे बनाउँदै अर्को हातले टाकु फनफन फिर्काउँदै धागा कात्न शुरू गरिहाल्छन्।
बिहान भाले बास्नु अगावैदेखि यहाँका महिलालाई घुरेन बडारबुडुुर, बालबालिकाको हेरविचार, वनजङ्गलबाट घाँस–दाउरा–सोत्तर, बालीनाली र बस्तुभाउको स्याहार-सुसार, अनि परिवारका लागि खानपिन बनाउँदा बनाउँदै बित्ने दैनिकीले गर्दा आफ्नो कपाल कोर्न पनि महीना दिन कुर्नुपर्छ। यति व्यस्तता बावजूद जति थाकेका भए पनि धागा कात्न चलिरहने ती हातहरू र फिर्किराख्ने ती टाकु उनीहरूकै शब्दमा ‘बसिबियाँलो’ मात्रै हो।
झुम्लावाङ गाउँ।
धागा-टाकुसँगको यही बसिबियाँलो नै झुम्लावाङका महिलाहरूका लागि एक मात्र नगद भित्र्याउने उपाय हो। कृषि प्रमुख पेशा रहेको यो गाउँमा महिलाका लागि सोत्तर सोर्ने र मकै गोडमेल गर्ने बाहेक अरू काम पाइँदैनन्। झाराका कार्यहरूमा बढी सहभागिता देखिने महिलालाई समाजले धेरीका लागि पत्याउँदैन। “यहाँ त स्वान्छरीले लोगन्छोरा सरह काम गर्न सक्दैन भन्ने सोच्छन् र धेरीमा काम दिन्नन्,” स्थानीय नरकुमारी श्रेष्ठ भन्छिन्, “दिए पनि ज्याला कम दिन्छन्।”
धागा बाहेक केही महिलाले जाँड-रक्सी बनाएर पनि थोरै रकम हात नपार्ने त होइनन्, तर केही वर्ष यता जलवायु परिवर्तनका कारण खाद्य उत्पादनमा आएको ह्रासले तीन महीना पनि खान नपुगेको अवस्थामा रक्सी बनाएर बेच्ने कुरै भएन। पाँच बालबच्चाकी एकल आमा तिलकुमारी विक (३३) स्थानीय लवजमा भन्छिन्, “एकै मात्र टाकु कात्न सके पनि त्यसलाई बेचेर बालबच्चालाई कापी-कलम किन्दिने होला भन्ने सोच्छु, के दिदी।” अलि बढी धर्सा उत्पादन भयो भने त नुन, तेल, साबुन किन्ने पैसा नै धागाबाट जोड्न सकिने उनी सुनाउँछिन्।
महिलाको श्रम र समयको कदर नहुने समाजमा भाङ्गोेको धागाको मूल्य पनि वर्षौंदेखि जहाँको त्यहीं छ। उनीहरूको हातमा एक किलोको २०० रुपैयाँ मात्र पर्छ। एक किलो पुर्याउन ठूलठूला दुई डल्ला धागा चाहिन्छ। एक डल्ला बनाउन झण्डै १२ वटा टाकु धागा कात्नुपर्छ। छिटो धागा कात्नेले आधा घण्टामा एक टाकु कात्ने अनुमान छ। आफूले गरेको दुःखको सही मूल्य पाइँदैन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरूका हात कहिल्यै खाली हुँदैनन्। किनभने, गाउँमा उनीहरूसँग नगद कमाउने अरू उपाय छैन।
यस पालि कात्तिक, मंसीरसम्म प्रहरीको ‘अनाप-सनाप’ भएन भने आउँदो वर्षका लागि बच्चाहरूलाई कापी–कलम, जुत्ताचप्पल र घरका लागि नुन, तेल, साबुन किन्ने रकम जोहो हुन्थ्यो भन्ने उनीहरूको आशा छ। तर, हरेक दिनजसो छिमेकी गाउँमा प्रहरीहरूले भाङ्गोेका बोट फाँड्दै गरेको समाचार सुनेर उनीहरूलाई चिन्ता लागेको छ। ‘चुन्वाङ, गावाङ, कोल, हुलुङनेटातिर त पुलिसले सबै फँडानी गर्यो रे !’ धागा कात्दै उनीहरू गुनासो गर्छन्, ‘अब हाम्रोमा पनि मर्ने त होलाई!’
रुकुम-रोल्पातिर मकैबारीमा काँक्रा, फर्सी, भटमास, सिमी, मुला, चाङ्ङे, करेलाका साथै भाङ्गोे पनि रोपिन्छ। धेरैजसो मकैबारीका ढिकमा एकसरो धर्का तानेसरि वैशाख-जेठमा रोपिने भाङ्गोे कात्तिक-मंसीरमा मकैसँगै सेमलिन्छन्। यहाँका आदिवासी जनजातिको परम्परा र संस्कृतिमा बहुउपयोगी बुटीका रूपमा प्रयोग हुने भाङ्गोे धागाका साथै फललाई तेल र अचारका रूपमा खाने चलन छ। यसको डन्ठा आगो सल्काउन उपयोग हुन्छ भने यसबाट बनाइएका गाँजा र चरेस औषधिका रूपमा प्रयोग हुन्छन्। “बुकी लगिएका गाईबस्तुलाई पखाला लागेका वेला अलिकति चरेस या गाँजा खुवाइदियो भने चट् निको भैहाल्छन्,” झुम्लावाङका किसान लोकबहादुर बुढा सुनाउँछन्।
लेकको ठन्डीले हुने रुघाखोकी, पाचन गडबडी या जिब्रोको स्वाद बिग्रिएका वेला गोठालाहरूले तरकारीमा भाङको प्रयोग गर्छन्। हाडजोर्नी दुख्दा यसको तेलले मालिश गर्ने चलन पनि छ। खाद्य सङ्कटका वेला केही वर्ष यता एक माना भाङ्गोको फल तीन माना चामलसँग साट्ने गरिएको छ।
भाङ्गोको बीउ।
“हाम्रो भेगमा आर्थिक जीविकोपार्जनका लागि भाङ्गोे त एकदमै महत्त्वपूर्ण बाली हो,” भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर भन्छन्, “यसको रेशाबाट कपडाका साथै नाम्लो-दाम्लो, जाबो (एक प्रकारको झोला) समेत बनाइन्छ।” खाद्यान्नका साथै कागजको दप्टी र घर बनाउन समेत प्रयोग हुने भाङ्गोेको बोट फँडानीमा आफू सहमत नभएको अध्यक्ष बुढा बताउँछन्। भन्छन्, “कानूनले रसलाई प्रतिबन्ध लगाएको छ, तर लागूऔषध निस्कन्छ भन्दैमा बोट मास्न मिल्दैन।”
अमेरिकासँग सन् १९७६ मा राप्ती विकास आयोजना सम्झौता गरे लगत्तै नेपाल सरकार यता उम्रने भाङ्गोको बोट मास्ने अभियानमा लागेको हो। त्यही सम्झौता अनुरूप हरेक वर्ष दशैं अघि सिंहदरबारबाट यहाँका प्रहरी इकाइलाई ‘गाँजा फँडानी’ गर्ने आदेश आउँछ। प्रहरीहरू त्यही आदेश तामेल गर्न यतातिरको गाउँ-गोठतिर उकालो लाग्छन्।
त्यही बोट नमासिदिऊन् भनेर केही वर्ष अघिसम्म खावाङ बगरको पुलिसथानालाई गुपचुप रूपमा हरेक दशैं-तिहारमा झुम्लावाङ तथा वरपरका गाउँहरूले खसी-बोका उपलब्ध गराउँथे। खावाङ बगरमा स्थानीय सरकार बसेपछि भने त्यो प्रथा छुटेको छ।
अन्तर्राष्ट्रिय दबाबमा बनाइएको ‘लागूऔषध (नियन्त्रण) ऐन २०३३’ ले भाङ्गोलाई अपराधीकरण गरिदिएपछि तेल खान या धर्सा निकाल्न पनि यो भेगका गरीब जनता लुकिछिपी खेती गर्नुपर्ने बाध्यतामा छन्। सरकारको ‘गाँजा फँडानी’ अभियानले उनीहरूलाई नुनतेल खाने रकम जुटाउन हम्मे हम्मे बनाएको त छ नै, भाङ्गोसँग उनीहरूको नातालाई पनि असजिलो, असहज र आपराधिक कार्यसँग जोडिदिएको छ।
“हाम्रो जमीनमा धान फल्दैन,” अध्यक्ष बुढा भाङ्गोको स्थानीयहरूको जीविकोपार्जनमा रहेको महत्त्वबारे थप्छन्, “जहाँ चामल हुँदैन, त्यहाँको धान खेत भनेको यही हो।” तैपनि यो अभियान बर्सेनि थप कडाइ गर्दै लग्दा प्रष्ट हुन्छ, सरकारले यहाँका स्थानीय र बुटीबीच रहेको गहिरो सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बुझ्न सकेको छैन।
बलिउड फिल्महरूबाट शिवरात्रिमा धुवाँका रूपमा उडाउने अनि होलीमा भाङ मिसिएको झोलीय पदार्थ पिएर या मिठाई खाएर लठ्ठिने नशालु पदार्थका रूपमा भाङ्गोलाई चिनेकाहरूबाट यताका आदिवासी जनजातिका लागि यो बहुउपयोगिता भएको बुटी हो भनेर बुझ्लान् भनेर आशा गर्ने पनि कसरी? जब कि यो बुटीको नाममा समेत स्पष्टता छैन। स्थानीयको ‘भाङ्गो’ अरूको जिब्रोमा पुग्दा ‘भाङ’, ‘गाँजा’ या ‘चरेस’ मात्र बन्छ।
मगरहरूको बस्ती बाक्लो भएको रुकुम-रोल्पामा शिवरात्रि र होली मनाइँदैन जहाँ ‘भाङ’ को महत्त्व बढी हुन्छ। सरकारले भाङ्गोलाई नशालु पदार्थ दिने बुटीका रूपमा मात्र चिनेर मास्ने गरे पनि स्थानीयका लागि यो यस्तो बुटी हो जसको केही चिज पनि खेर जाँदैन।
यहाँको संस्कृति र परम्परामा भाङ्गो त घरमा दुधालु गाई-भैंसी नहुँदा खाने तेल दिने स्रोत हो। रुघाखोकी जस्ता साना रोगदेखि क्यान्सर जस्ता ठूला रोगहरूको पीडा सहन गर्ने औषधिका रूपमा प्रयोग हुने बुटी हो। कपडाका लागि रेशा दिने बिरुवा हो।
यहाँ केही दशक अघि मात्र यसकै धर्साको धागाबाट तान बुनेर बनाएको बोर्लोका कपडा लगाइन्थ्यो। अहिले भने गाउँमा बोर्लो बुन्ने चलन न्यून भइसकेको छ। धागाको माग नै धेरै छ जुन दाङ र काठमाडौंका उद्योगमा पुगिरहेका छन्। जहाँ अर्गानिक हेम्पबाट बनेका भन्दै ज्याकेट, टोपी, जुत्ता, झोला आदि सरसामान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका छन्।
यसरी शहरका उद्योगबाट भाङ्गोको धागा व्यवसायीकरण बढिरहेको समयमै केही वर्ष यता संसद्मा भाङ्गोलाई वैधानिकता दिनेबारे आवाज उठिरहेको यहाँका जनताले पनि सुनेका छन्। यतैका केही राजनीतिक नेताहरूले यहाँका गाउँठाउँलाई ‘भाङ्गोे कर्नर’ बनाउने विचार समेत राखेकाले पनि उनीहरूमा अबदेखि बोट नमासिने आशा जाग्न लागेको छ।
केही महीना अघि अमेरिकाको वासिङ्टन डीसीमा कोभिड भ्याक्सिन लगाए बापत केही मात्रा गाँजा उपहार दिने घोषणा गरेको रेडियोमा सुनेर पङ्क्तिकारका बुबा रामबहादुर बुढाले हाँस्दै सोधेका थिए, “कानून बनाउन लगाउनेहरूले आफ्नै देशमा त्यस्तो गर्ने भएपछि अब त यता पनि केही खुकुलो बनाउन देलान् नि है?”
अमेरिका लगायत विभिन्न देशमा बिस्तारै गाँजा, भाङ र चरेस औषधि र मनोरञ्जनका लागि वैधानिकताका साथ उत्पादन र व्यवसाय गर्न खुला भइरहेकाले नेपालमा पनि खुल्ने आशा जनमानसमा रहनु सामान्य हो। तर, नेपालको सदन र सडकबाट चलिरहेका ‘गाँजा फुकाउ अभियान’ विशेषतः वैधानिकतासँगै व्यवसायीकरण गर्नमा जोड दिएको देखिन्छ।
गाँजाको उत्पादन र व्यवसायलाई प्रमुख व्यापारका रूपमा स्थापना गरेर ‘घर घरमा रोजगार’ उपलब्ध गराई नेपाललाई आर्थिक रूपले समृद्ध राष्ट्र बनाउने नारामा लागेका छन्। तर, त्यसलाई सामुदायिक विकास अभियन्ता सम्राट् कटुवाल ‘मिथ्या’ मात्र मान्छन्। झुम्लावाङमा पोषणका लागि करेसाबारी कार्यक्रममा संलग्न अभियन्ता कटुवाल भन्छन्, “एउटा बीउ या बोटले हाम्रो राज्यको आर्थिक स्थितिमा उथलपुथल नै ल्याउनेछ भनेर प्रचारबाजी गर्नु भ्रम फैलाउनु मात्र हो।”
मकवानपुरमा भइरहेको गाँजा खेती र व्यवसायीकरणको उदाहरण दिँदै यी अभियन्ता थप्छन्, “दिगो विकासको हिसाबले हेर्दा एकल खेती संस्कृति (मोनोकल्चर)लाई प्रोत्साहन गर्ने र बीउ, मल अनि मिस्त्री समेत सीमा पारिबाट ल्याउनुपर्ने अवस्थामा टिकेर गरेको यो व्यवसायले देशको समृद्धि होइन, बरु परम्परागत रूपमा भइराखेको कृषिका साथै वातावरणमा पनि नकारात्मक असर गर्छ।” त्यसैले, रैथाने गाँजा बालीलाई कानूनी रूपमा वैध गर्नु अति जरुरी भए पनि त्यसको व्यवसायीकरण भने हानिकारक रहेको उनको ठहर छ।
अवश्य पनि व्यवसायीकरण हुनासाथ खाद्य उब्जनी हुने बारीमा मुद्रा मिल्ने बाली रोपिन्छ। हाम्रो जस्तो ६ महीना खान नपुग्ने ठाउँमा मकै, गहुँ बालीलाई विस्थापित गर्दै गाँजा खेती गरेर कृषिमा देखिएको समस्या र खाद्य सङ्कटको समाधानमा टेवा पुर्याउला भनेर विश्वास गर्ने ठाउँ कमै छ। व्यवसायीकरण गर्ने भनेर यहाँको रैथाने बीउलाई विस्थापित गर्दै बाह्य बीउ, मलजल अनि मिस्त्री चाहिने बाली लगाउँदा स्थानीयलाई कुन हिसाबले रोजगार मिल्ला र कस्तो खालको समृद्धि देला भनेर पनि सजिलै अनुमान लगाउन सकिन्छ।
यसैकारण, भाङ्गो कानूनी रूपमा वैध हुनुपर्छ भन्ने स्थानीयको आवाजमा यहाँ तेल, अचार, रेशा र औषधिका रूपमा परम्पराकालदेखि उपभोग गर्ने रैथाने बीउको फँडानी हुनु भएन भन्ने हो। पारिवारिक रूपमा उपभोगका लागि खेती गर्नेलाई जेल हाल्नु भएन भन्ने हो। “हामीले पुलिससँग भनेका छौं, व्यक्तिलाई रससँग भेट्दो कानून लाग्ने नै भयो,” गाउँपालिका अध्यक्ष बुढा भन्छन्, “तर बोटसँगै यहाँको संस्कृति र परम्परा मार्न पाइँदैन।”
एकल महिलाहरूको बैठकमा फिर्किराखेको टाकु टक्क रोक्दै आशा गुरुङ (५१) गुहार्छिन्, “सरकारलाई हाम्रा तर्फबाट भन्देऊ बुहारी, हाम्रो भाङ्गो फाँड्न पाइँदैन। हाम्रो बीउ मास्न पाइँदैन। हामीलाई गेरा र धर्सा बनाउन दिनुपर्यो !”
यसैकारण, व्यवसायीकरण गर्ने भनेर ‘लबी’ गर्दा अनि कानून बनाउँदा भाङ्गोे र स्थानीयबीच रहेको गहिरो सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई चटक्क बिर्संदै आफ्नो फाइदा-बेफाइदाबारे मात्र लेखाजोखा नगरियोस्। ‘ट्रिकल डाउन इकोनोमी’ को सिद्धान्त पच्छ्याएर ग्रामीण जीवनलाई सम्पन्न बनाउने खोक्रो सपना त झन् देखाउँदै नदेखाइयोस्।
व्यवसायीकरणका नाममा रैथाने बीउलाई विस्थापित गर्दा या ठूला कम्पनीले कब्जा गर्दा स्थानीय बासिन्दा र यो बुटीबीचको सम्बन्ध छुट्ला–टुट्ला, त्यसबारे विशेष सजगता अपनाइयोस्। ग्रामीण समाजमा परम्परागत रूपमा भइरहेको खेती र एक किलो धागाको दुई सय रुपैयाँ समातिरहेका महिलालाई केन्द्रबिन्दुमा राखेर बहस गरियोस्।
(मगरले बेलायतको डर्ह्याम विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन्। हिमालको कात्तिक अङ्कबाट।)