नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताउनु भएको छ । बुधबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता थापाले भन्नुभयो, “कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको चरित्र नै होइन।”
विगतका निर्वाचनहरूमा पनि कांग्रेस एक्लै चुनावमा लड्दै आएको थापाले स्मरण गर्नुभयो। “२०४८, २०५६, २०७० मा पनि कांग्रेस एक्लै चुनाव लडेको हो,” थापाले भन्नुभयो।
कांग्रेस ‘मासबेस्ड’ पार्टी भएको हुनाले नेताले तालमेल गरे पनि समर्थकले अर्को पार्टीलाई भोट नदिने थापाको भनाइ छ। उहाँले भन्नुभयो, “हामीले मिल्छौं भने पनि हाम्रा समर्थकले अर्को पार्टीलाई भोट दिंदैनन्।”
सत्ता गठबन्धनमा स्थानीय निर्वाचन भन्दा पहिला प्रतिनिधि सभाको चुनाव हुनुपर्ने आवाज उठिरहेका वेला थापाले भने त्यसको खण्डन गर्नु भएको छ। आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने र त्यसपछि मात्रै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने उहाँको भनाइ छ।


 
					
							
 
                             
                             
                             
                             
                            