पाण्डव शर्मा
मनभित्रकाे सपना थुनेर
तिम्रा यादहरु बाेकेर
शहरको गल्लीमा
एक्लै भाैतारिरहेकाे छु ।
म आफु भित्र
आफै खाेज्दैछु
तर, तिम्राे सम्झनाका पाेकाे पारेर
म बुझ्छु तिम्रा बाध्यताहरु
तिम्रा सिमाहरु
अनि परिस्थितिका बन्धन
कैयाै जुनेली रात
तारा र चन्द्रहरुकाे साथ
घाेत्लिदै टाेलाउँछु
बुनिएका सपनाहरु
एकै पटक
सिसाका महल सरह
गर्ल्याम्म ढल्दा
फेरि झसङ्ग बिउझन्छु ।
मदनकाे बिछाेडमा
मुना छटपटाए झैं
खाेलाबाट बगरमा
फ्याकिएकाे माछा जस्तै
सिकारीले ढुकुर मार्दा
वियाेगमा चिर्विराएकाे
अभागी ढुकुर जस्तै
म छटपटाइरहेकाे हुन्छु ।
कैयन पटक म
आफुले आफैलाई
सम्हाल्ने प्रयास गरिरहेकाे हुन्छु
तर, प्रेमकाे सागरमा डुबेको
एउटा पागल प्रेमी
आकाशबाट तीब्र गतिमा
खस्दै गरेकाे ढुङ्गा
वर्षे झरीकाे भल
यी कसैले थाम्न सक्दाे रहेन छ
त्यसैले फेरि पनि
मनभित्रकाे सपना थुनेर
तिम्रा यादहरु बाेकेर
शहरको गल्लीमा
एक्लै भाैतारिरहेकाे छु ।
२०७६ चैत २९, घाेराही