मनोज लामिछाने
कोरोना भाइरस (कोभिड(१९) को कहर अहिले विश्वमा चुनौतीको रुपमा देखिएको छ। यो भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
कोरोना भाइरसको निराकरणका लागि विश्वका वैज्ञानिकहरु दिनरात लागिपरेका छन्। तर निराकरणको कुनै संकेत देखिएको छैन। यो विश्वका लागि ठूलो चुनौती हो। संक्रमित र मृत्यु हुनेहरुको आँकडा हेर्दा संक्रमित मुलुकका लागि यो भाइरस ठूलो चुनौतीको रुपमा रहेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनको भनाइमा नेपालले कोरोना भाइरसका लागि गरेका पहलहरु सन्तोषजनक छ। तर विश्वका अति सम्पन्न मुलुकहरुमा दिन दुगुना रात चौगुनाको रुपमा फैलिरहेको यो रोग नेपालमा त्यसैगरी फैलियो भने के हालत होला? यसको कल्पना पनि गर्न सकिँदैन।
डिसेम्बर २०१९ मा चीनको वुहान सहरबाट सुरु भएको यो रोगले अहिलेसम्म विश्वका २०५ वटा भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइसकेको छ। चीनको कुरा गर्ने हो भने, विशाल जनसंख्या भएको यो मुलुक अन्य मुलुकको तुलनामा कोरोनाबाट मानिसको ज्यान बचाउन केही हदसम्म सफल भएको देखिएको छ। तर चीन पनि अहिलेसम्म यो रोगबाट मुक्त हुन भने सकेको छैन। चीनमा अहिले पनि फाट्टफुट्ट रुपमा यो रोगको उपस्थिति देखिइरहेको छ।
विश्वका अति सम्पन्न मुलुकहरुले त्यहाँका जनताहरुलाई दिने स्वास्थ्य सम्बन्धी सेवासुविधाहरु अत्यन्त उच्च छ। त्यहाँका स्वास्थ्य सम्बन्धीका उपकरणहरु, नर्स, डाक्टरको संख्या, साधन र स्रोतहरुको तुलनामा नेपालको अवस्था अत्यन्त कमजोर छ भन्दा अतियुक्ति नहोला।
विश्वमा जनसंख्याको दृष्टिकोणले दोश्रो मुलुक भारतमा पनि यो रोगको उपस्थिति दिनप्रति दिन बढिरहेको छ। खुला सिमाना र भारतमा मजदूरी गर्ने नेपालीको ठूलो जमातका कारण पनि नेपालको लागि भारतमा फैलिरहेको कोरोना भाइरस ठूलो चुनौतीको रुपमा देखिएको छ। अहिले नेपालमा संक्रमित देखिएका ९ जनामध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला संक्रमण भएका व्यक्तिका आफन्त हुन्।
कैलालीमा संक्रमण पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोना भाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा संक्रमण सरेको पुष्टि भएको छ। यसबाट के देखिन्छ भने नेपालमा कुनै पनि बेला कोरोनाले उग्र रूप लिनसक्छ।
सरकारले कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउनका लागि देशमा लकडाउनदेखि सञ्चार माध्यमबाट बच्ने उपायबारे जनतालाई सचेत गराइरहेको छ। यो सराहनीय पक्ष हो। तर यतिले मात्र नेपाल कोरोना भाइरससँग लड्न सक्ने अवस्थामा छैन। अहिलेको अवस्थामा सरकारले देशमा भएका नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीको ज्यानको सुरक्षा र स्वास्थ्य सम्बन्धी गुणस्तरीय उपकरणको व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ।
कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि राजधानी बाहिरका अस्पतालका आइसोलेसन अथवा एकान्त कक्षमा खटिने नर्सहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई अझै प्राथमिकतामा नराखिएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। उनीहरूले स्वास्थ्यकर्मीमा भाइरस संक्रमण हुन नदिनका लागि शिरदेखि पाउसम्मै छोप्ने पिपिई अर्थात् व्यक्तिगत सुरक्षा कवच र सामग्रीमा आफूहरूको पहुँच नभएको बताइरहेका छन।्
कतिपय स्थानीय तहहरूले तयार गरेका क्वारेन्टिनमा काम गरिरहेका नर्सहरूले आफूहरूसँग हातमा लाउने पञ्जासम्म पनि नभएको जानकारी दिइरहेका छन्। सरकारले उनीहरुका लागि अन्य भत्ता लगायत सुविधा दिने बताइरहेको छ तर उनीहरूले सबभन्दा पहिला सरकारले उनीहरुको ज्यानको सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको भनाइमा पनि नर्सहरूका लागि भनेर छुट्टै सुरक्षा सामग्री सरकारले उपलब्ध गराउन सकेको छैन। यसको लागि सरकारले तुरुन्त कदम चालिहाल्नु पर्ने देखिन्छ। कथंकदाचित नेपालमा यो रोगले महामारीको रुप लियो भने न त हामीसँग पर्याप्त स्वास्थ्यकर्मी छन्, न त स्वास्थ्य सम्बन्धी सुविधासम्पन्न साधन र स्रोतहरु नै छ।
इटाली, चीन, भारत जस्ता देशका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने कति चिकित्सकको ज्यान गइसकेको अवस्था छ। भारतीय सञ्चार माध्यमका अनुसार एक अस्पतालमा एकै पटक १३८ जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसैले अन्य देशमा देखिएको चिकित्सकहरुको अवस्थाबाट पाठ सिकेर हाम्रो देशका चिकित्सकको सुरक्षा कवचदेखि उनीहरुलाई चाहिने उच्चस्तरका उपकरणहरुको व्यवस्थापन गर्नु जरुरी छ।
एकातिर सरकारले दिनरात खटिइरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने खालको वातावरण तयार गरी उनीहरुले गरेका सेवाको उच्च मूल्यांकन गर्दै जानु पर्नेछ भने अर्कोतिर अहिलेको अवस्थामा विभिन्न बहानामा आफ्नो कर्तव्यबाट विमुख भई बसेका चिकित्सकहरु छन् भने यसको पनि अनुगमन गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले आफ्ना संयन्त्रहरुलाई चुस्त र दुरुस्त रुपमा परिचालन गर्नु पर्नेछ।
कोरोना भाइरसको कहरबाट देशलाई मुक्त गर्नका लागि सरकारले चालेका सकारात्मक पहलहरुको सराहना गर्दै सबैको एक्यबद्धता, सहयोग र सहकार्य नै अहिलेको आवश्यकता हो।सा. स्वास्थ्यखबर बाट