अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव ६ दिन बितिसक्दा पनि त्यहीँकै अस्पतालमा अलपत्र छ।
गैरकानुनी रूपमा अमेरिका हिँडेका बाफीकोट गाउँपालिका ३ का बोहोरा मलेरियाबाट ग्रसित भएपछि उनलाई ऐजेन्टले एयरपोर्टमै अलपत्र छोडेका थिए। त्यहाँका नेपालीले उद्धार गरि अस्पताल पुर्याएको करिब एक सातामा रूपकको निधन भयो।
उनको मृत्युको ६ दिन बितिसक्दा पनि शव कहिले नेपाल आइपुग्छ, त्यसबारे कुनै टुंगो नहुँदा परिवारमा तनाव छन्।
रूपककी २२ वर्षीया श्रीमती गीता पुरी बोहोराले अन्तिम पटक भए पनि श्रीमानको अनुहार हेर्ने चाहना ब्यक्त गरिन्। ‘म अन्तिम पटक उहाँको मुहार हेर्न चाहन्छु र हाम्रै खुसीका लागि उहाँले दुःख कष्ट गर्दै हिँडेका खुट्टा ढोग्न चाहन्छु,’ गीताले सेतोपाटीसँग भनिन्, ‘एउटी नारीको बेदना सम्झेर मेरो श्रीमानको शव ल्याइदिन सहयोगको याचना गर्दछु।’
अमेरिका सपनाले सम्पत्ति सबै सकिएको भन्दै उनले उनले अब श्रीमानको शव ल्याउनसक्ने आर्थिक सामर्थ्य आफूसँग नरहेको बताइन्। सरकारले शव ल्याउन सहयोग गरिदिए विक्षिप्त परिवारलाई ठूलो गुण हुने उनले बताइन्।
‘आमा र म सँधै रोएरै बस्छौं र हामी रोएको देखेपछि साना छोरा छोरी पनि रोइरहन्छन्,’ गीताले भनिन्, ‘पैंसाकै लागि भनेर जोखिम मोलेर यसरी कोही पनि अमेरिका नजाउन्।’
नौ महिनाकी छोरी गरिमा र २ वर्षका छोरा अभाससँगै आफूहरूको बिचल्ली भएको उनले बताइन्। ‘अब यी साना बालबालिकालाई मैले एक्लै कसरी पाल्नू,’ गीताले रूँदै भनिन्, ‘भएभरको सम्पत्ति सबै सकियो। बाँकी केही छैन।’
गीतासँग रूपकको मृत्यु हुनुभन्दा १८-१९ दिन पहिले कुरा भएको थियो। सामाजिक सञ्जालमा उनीहरूबीच भएको कुरामा आफू ठिक रहेको र अमेरिका जाने बाटोमै रहेकाले नआत्तिएर बस्न श्रीमतीलाई आग्रह गरेका थिए।
‘म बाटोमा छु र सबै ठिक छु। म अवश्य पनि यो पटक अमेरिका पुग्नेछु। अमेरिका पुगेपछि सबै खर्च म पुर्याउँछु। बा आमा र तिमीले दुःख गर्नु पर्दैन भनेर भन्नुभाथ्यो,’ गीताले श्रीमान रूपकसँगको संवाद सम्झँदै भनिन्।
बुवा देवबहादुर बोहोराले छोराको शब आउने/नआउने कुनै टुंगो नभएको बताए। शव आएपछि मात्रै काज किरिया सुरू गर्ने भनेर केही नगरी शोकमै बसिरहँदा थप पीडा भइरहेको उनले बताए। ‘घानाबाट सहयोगी नेपाली दाजुभाइले फोनमा आफूहरूले डकुमेन्ट तयार पारिरहेको कुरा गर्नु हुन्छ, तर शव नेपाल पठाउने वा त्यहीँ अन्तिम संस्कार गर्ने भन्ने अझैं यकिन नभएको उहाँहरू भन्नुहुन्छ,’ उनले भने।
अस्पतालबाट शब निकाल्न शुक्रबार बेलुकासम्म आवश्यक कागज पत्र तयार पारिसक्ने र त्यसपछि खबर गर्ने त्यहाँका नेपालीले देवबहादुरलाई आफूलाई जानकारी दिएको बोहोराले भने।
घानामा नेपाली दूतावास नभएकाले कागजपत्र तयार पार्न थप मुस्किल भइरहेको त्यहाँका नेपालीले देबबहादुरलाई भन्ने गरेको उनले स्मरण गरे।
छोराको अमेरिका सपनाले जताततै ऋण मात्रै लागेको र छोराको शव खर्च गरेर नेपाल ल्याउनसक्ने आफूहरूको आर्थिक हैसियत नभएको देवबहादुरले सुनाए।
गैरकानुनी रूपमै गए पनि आफ्ना नागरिकको शव बुझेर ल्याउन राज्यले केही सहयोग गर्ला कि भन्ने उनको अपेक्षा छ।
रुकुम पश्चिमबाटै प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाई पनि आग्रह गरिएको र उनले सकभर शव घरसम्म ल्याउन प्रयास गर्ने आश्वासन दिएको देवबहादुरले सुनाए।
त्यस्तै रूपकलाई अमेरिका सपना देखाएर अवैध मार्ग भएर अमेरिका पठाउने स्थानीय एजेन्टमध्येका एक निराजन बस्नेतले बुधबार बेलुका आफूलाई सामाजिक सञ्जालमा सम्पर्क गरेको देवबहादुरले जानकारी दिए।
‘रूपकलाई अमेरिका पठाउँदा लागेको खर्च कति हो? त्यो टिपोट गरेर दिनुहोला भन्ने छोटो कुरा गरेर फोन काट्नु भयो,’ उनले भने।
पठाउने ब्यक्तिलेनै बिचमा दुर्घटना हुँदा शव ल्याउन भूमिका खेल्नुपर्ने बुवा देवबहादुरले बताए। छोराको मृत्युपछि स–साना नाति नतिनाको भविश्य के हुने भनेर चिन्ता गरे। सेतोपाटी