काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान सुरू हुने भएको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ ।
एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । ।
आज हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।
ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।