बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आएका हुन् ।
भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा. सुवास जिसीले जानकारी दिए । ‘सानो बच्चा र आमा होसमा हुनुहुन्छ । बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ । होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको छ,’ उनले भने ।
राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी पर्ने ४० वर्षीया नन्दकली भट्टराईको बिहीबार बिहान मृत्यु भएको थियो । उनीहरू एकै घरपरिवारका हुन् ।