मुसिकोट । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा अधिवक्ता रमा गौतम निर्वाचित हुनु भएको छ । १६औं जिल्ला अधिवेशनबाट गौतम दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनु भएको हो ।
सभापति, मन्त्री र कोषाध्यक्ष पदको लागि मतदान भएको र अन्य पदहरुमा सहमति मार्फत नेतृत्व चयन भएको निर्वाचन अधिकारी तथा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका महासचिव कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।
सभापति पदमा ३४ मत ल्याएर गौतम विजयी हुनुभएको हो । सभापति पदका अर्का उमेद्वार टेकबहादुर खड्काले १४ मत प्राप्त गर्नुभएको थियो । ६३ जना मतदाता रहेकोमा ४९ मात्रै मत खसेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी २७ मत प्राप्त गरेर बलबिर पुन मन्त्री पदमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सुरेश खत्रीले २१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदमा यज्ञबहादुर केसीले ३३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । कोषाध्यक्षका अर्का उमेदवार तेजबहादुर बटालाले १४ मत प्राप्त गर्नुभएको छ ।
अन्य पदहरुमा सहमति भएको निर्वाचन समितिले जनाएको छ । जसअनुसार उपसभापतिमा गणेशमान डाँगी र दिपा डाँगी खड्का र उपमन्त्री गोपाल लामिछाने र उपकोषाध्यक्षमा मेवालाल ओली चयन हुनुभएको छ ।
जिल्ला कार्यसमितिको सदस्यहरुमा सदस्यहरुमा शिवराम खत्री, बसन्त नेपाली, प्रेमबहादुर ओली, हरिहर केसी, लिला गौतम, सुनिता बिष्ट गौतम, तिलसरा ओली डाँगी, रामबहादुर खड्का, खड्कबहादुर केसी, धनबिर केसी चयन हुनुभएको छ ।
नवनिर्वाचित सभापति गौतम ७७ जिल्लामा एक मात्र महिला सभापति हुनुहुन्छ ।