लेखाजोखा गर्नै नसकिने
यो संसाररुपी सिन्धुमा
कति प्राणधारीहरु जन्मदाहुन् र कति मर्दाहुन् ?
ती मध्ये विवेकशील कहलिएको
एउटा फुच्चे जीवात्मा
वैदिक कथन अनुसार
ब्रह्माजीका पुत्र, मनुको वंश हो रे मानव ।
यही मनुष्य आज
कहिले सगर छुन पुग्छ
कहिले सागरमा पौडन्छ
कहिले चन्द्र यात्रा गरेँ भन्छ
मङ्गलमा बसाई सर्ने सपना देख्छ
र संसार जित्ने हुङ्कार गर्छ ।
तर
यो गरेँ, यो गर्नुछ भन्दाभन्दै
बगिरहन्छ फुटेको घडाझैँ उसको आयु
पानीको फोकाझैँ छ उसको देह
बिजुली वेगझैँ सक्किरहन्छ उसको जीवन
सारा ब्रह्माण्डै जितेपनि
शत्रुलाईझैँ पलपल मारिरहने रोग
र मृत्युदेखि हार्न विवश छ मान्छे ।
कहिल्यै नमरुलाझैँ गरि
धन सम्पत्तिको अतृप्तिले
निजी स्वार्थ सिद्धि र वर्चस्वका लागि
अभिमान, डाह, व्यभिचार, कुकर्म
र सांसारिक मोहमा आसक्त आजको मान्छे
तनतनी पिइरहेछ निरीह र निहत्थाहरुको रगत ।
कोही सुख प्राप्तिका लागि
उपवासका नामले
स्वर्गादिको इच्छा गर्दै
सजाय दिइरहेछन् आफ्नै देहलाई
कोही मृगचर्म र जटाका भारीले
देवरुपी भेषधारण गर्दै
आफ्नै शरीरमा खरानी घसेर
जीवन मुक्ति र पाप मोचनको बहानामा
सारा लज्जा त्यागेर दिगम्बर भई
योगी बनेर रञ्जन गरिरहेछन् यो जगतलाई ।
एकातिर मनुष्य कर्म छाडेर
सांसारिक सुखले युक्त
आफूलाई भगवानको अवतार हुँ भनी
दुनियाँ भ्रमित गर्नेहरु
अर्कोतिर अकुत धन सम्पत्ति
चरम सत्ता लिप्सा
दुष्कर्म र मोहरुपी जालले जेलिएका
हे! पापकर्ममा लिप्त पातकीहरु हो ,
यो ज्ञान किन छैन तिमीहरूलाई?
सृष्टिका हरेक जीवधारीहरु
एकदिन अवस्य नासिन र भत्किनलाई छ।
जीवनका गोरेटाहरुमा
कति हिँड्छ होला मान्छे?
कहिले जङ्गलैजङ्गल
कहिले मैदानैमैदान
हिमाच्छादित पर्वतैपर्वत
गहिरा गहिरा समुद्रैसमुद्र
अनवरत हिँडिरहन्छ हिँडिरहन्छ
तर फेरि त्यही बाटो
सक्दैन फर्कन कहिल्यै पनि ।
जिन्दगीको दौडमा
धेरै धेरैलाई जित्दाजित्दै
धेरै धेरैसँग हार्दाहार्दै
अन्तिम दौड सकिएको थाहै पाउँदैन मान्छे
जीवनले जति जति कुरा दिँदै दिँदै जान्छ
त्यति नै खोस्दै खोस्दै जाँदोरहेछ
जब जीवनका मोडहरु सकिन्छन्
बच्ने कुनै शेष ठाउँ नै हुँदोरहेनछ।
त्यसैले
दुष्कर्मको अग्निकुण्डमा
विश्व जगतलाई हवन गर्न खोज्नेहरु हो,
छलकपटले होइन, पौरखले धन कमाऊ
धनले होइन श्रद्धाले धर्म गर
र बन्द गर तिम्रा अहङ्कारका उपदेशहरु
एकदिन तिम्रो अन्त्य पनि त्यसरी नै हुनेछ
एकदिन तिम्रो अन्त्य पनि त्यसरी नै हुनेछ ।