अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव सोमबार नेपाल आइपुगेको छ।
अमेरिकाको सपना पछ्याउँदै रूपक गैरकानुनी रूपमा हिँडेका थिए। त्यसैबीच उनी बिरामी परेपछि स्थानीय एजेन्टले घानाको एयरपोर्टमा छोडेका थिए। त्यहाँ रहेका नेपालीले उद्धार गरी अस्पताल पुर्याए, तर उपचारको क्रममा उनले ज्यान गुमाए।
शव नेपाल आइपुगेपछि काठमाडौंबाट रूकुमस्थित घर ल्याउन थालिएको छ। रूकुमका युवा तारक केसीले शव लिएर आफू रूकुम आइरहेको बताए।
झन्डै डेढ महिना लामो प्रयासपछि शव नेपाल ल्याउन सम्भव भएको आफन्तले जानकारी दिएका छन्।
घानामा नेपाल सरकारको कुनै निकाय र नियोग नरहेको हुँदा शव घरसम्म ल्याउनका लागि निकै कठिनाइ भोग्नुपरेको उनीहरूले बताए।
‘हामी मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगिसकेका छौं,’ एक आफन्तले भने, ‘छोरा पनि गयो सबै सम्पत्ति पनि रित्तियो।’
तारक केसीका अनुसार घानाबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म शव ल्याउन साढे १३ लाख रुपैयाँ बढी खर्च भएको छ।
शव ल्याउन लागेको खर्च रूपकलाई अमेरिका पठाउने रूकुमकै स्थानीय एजेन्टहरूले नै बेहोरेका थिए।
त्योबाहेक रूपक अमेरिका जानका लागि लागेको ४० लाख भएको खर्च पनि एजेन्टले दिने सहमति कायम भइसकेको स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
‘मरेर जाने त गए अब घर परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने हेतुका साथ सहमति गर्नु परेको हो,’ स्रोतले भन्यो, ‘हामी जुन पीडामा परेका छौं। त्यसको क्षतिपूर्ति अपुरणीय छ। तै पनि हामी बालबच्चाको भविष्यको लागि सम्झौता गर्न बाध्य भयौं।’
दाङका युवाको शव ल्याउन नसकेर पेरूमै अन्त्येष्टि
अमेरिका जानेक्रममा पेरूमा मृत्यु भएका दाङ तुलसीपुर उपमहानगरपालिका-३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको अन्त्येष्टि भने त्यहीँ नै गरिएको छ।
गैरकानुनी रूपमा अमेरिका जाँदै गरेका बोहराको साथीहरूसँगै पैदल हिँडिरहेको समयमा हृदयघातका कारण मंसिर २० गते मृत्यु भएको घर परिवारलाई सँगै रहेका अन्य नेपालीले खबर गरेका थिए।
मामा सुमन घलेले मृत्युपछि भान्जा साहिलको शव घर ल्याउन निकै प्रयास गर्दापनि कुनै उपाए नदेखिएपछि त्यहाँ रहेका नेपालीको सल्लाहमा पेरूमै अन्त्येष्टि गरिएको बताए।
‘पेरूमा नेपाली दूतावास पनि नहुनु तथा भान्जा गैरकानुनी रूपमा अमेरिका जान खोजेको हुँदा कागजात बनाउन समेत अप्ठेरो हुने देखेर त्यहाँका नेपालीको सहयोगमा मृत्युको पाँच दिनपछि हामीले अन्त्येष्टि गर्न लगाएका थियौ,’ घलेले भने, ‘नेपाली दाजुभाइले अन्तेष्टि गर्दाको क्षण सामाजिक सञ्जालमा हामीलाई लाइभ देखाइदिनु भएको थियो।’
विद्युतिय शव दाहगृहमा भान्जा साहिलको अन्तिम संस्कार गरेपछि घर परिवारले हिन्दु धर्म परम्परा अनुसार गर्नुपर्ने १३ दिनको काजक्रियाको कार्य गरेको घलेले जानकारी दिए।
आफूहरूले नेपालबाट आवश्यक पर्ने जति सबै कागजातहरू पठाएपनि नेपाली दूतावास त्यहाँ नरहेको हुँदा शव ल्याउन सम्भव नभएको घलेले बताए।
‘भान्जाको मृत्यु भएको ठाउँ दाङदेखि काठमाडौं जत्तिकै टाढा रहेछ,’ मामा सुमन घलेले भने, ‘न प्लेनले त्यो शव बोक्न माने र गाडीले नै। त्यसैले हामीले त्यहाँ रेरष्टुरा सञ्चालन गरिरहेका दुई नेपालीलाई प्लेनको आउने जाने भाडा खर्च बेहोरेनै भएपनि भान्जाको अन्तेष्टि गर्न लगाएका हौं।’
भान्जाको अन्तेष्टिका लागि मात्रै डेढलाख जति नेपाली रूपैयाँ खर्च भएको मामा सुमनले जानकारी दिए।
मामा घलेले त्यसरी लाखौं खर्च गरेर, ज्यान जोखिममा पारेर अवैध तरिकाले कोहीपनि युवा-युवती अमेरिका नजान आग्रह गरे।
‘आफूलाई परेपछि बल्ल पीडा के हो थाहा हुँदो रहेछ,’ घलेले भने, ‘त्यसरी अवैध बाटोबाट अमेरिका जान मुर्खता शिवाय अरू हैन रहेछ भन्ने मेरो बुझाई छ।’
शव ल्याउन नपाएपनि कुरिअर मार्फत् अस्तु भने घरसम्म ल्याउनका लागि आँफुले त्यहाँका नेपाली दाजु भाइहरूलाई रकम पठाइसकेको घलेले बताए।
‘सायद अब अस्तु केही दिनभित्रै आइपुग्छ होला,’ घलेले भने, ‘भान्जाको अस्तु आएपछि हामी त्यसलाई हिन्दु परम्परा अनुसार नदीमा लगेर सेलाउने छौं।’