नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु भएको छ।
शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।
ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जंगलमा मृत रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।
उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए। हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो। एक वर्षको मृत मृग खाडलमा पुरिएको छ।
अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ। शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ । यातायात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ।