स्वास्थ्य चौकीमा औषधि खान घरबाट पानी ल्याउनुपर्छ

स्वास्थ्य चौकीमा औषधि खान घरबाट पानी ल्याउनुपर्छ

स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए ।

‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।

धारा जडानका लागि पटक-पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए ।

उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीका भनाइ थियो ।

‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’ उनले भने, ‘अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार